close

सिद्धिचरणमा निःशुल्क फोन सेवा

सिद्धिचरणमा निःशुल्क फोन सेवा

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आफ्नो कार्यालयबाट प्रवाह गर्ने सेवा लिनका लागि सेवाग्राहीले फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरेको छ ।


सेवाग्राहीको हितलाई ध्यानमा राखेर नगरपालिकाले पैसा नलाग्ने निःशुल्क (टोल फ्री) फोन सेवा सुरु गरेको हो । नगरपालिकाले १० अंकको छुट्टै नम्बर १६६०३७५०१० सञ्चालनमा ल्याएको छ ।


सेवाका प्रकार, प्रक्रिया, आवश्यक तथा कागजातबारे जानकारी लिन टेलिफोन गर्ने र उनीहरूलाई बताउन समय लाग्दा खर्चिलो हुने भएपछि नगरपालिकाले टोल फ्री सञ्चालनमा ल्याएको हो ।


विशेषगरी ग्रामीण क्षेत्रका नागरिकले नगरपालिकाका विभिन्न विषयगत शाखा र कृषि तथा पशु शाखाबाट पाइने सुविधा पुर्‍याउनुपर्ने प्रक्रियाबारे जानकारी लिन सहज होस् भनेर शुल्क नलाग्ने नम्बर सुरु गरिएको कार्यालयका कम्प्युटर अपरेटर पदम परियारले जानकारी दिए ।


उनका अनुसार टोल फ्री नम्बर भएपछि सेवाग्राहीले कुरा बुझेपछि मात्रै फोन राख्न सकून् र पैसा पनि खर्च नहोस् भनेर यस्तो सेवा दिइएको हो ।


टोल फ्री सुविधाले हिँडडुल गर्न असहज हुने र अशक्त तथा आधारभूत सेवाबारे सामान्य जानकारी लिन पनि कार्यालयमै धाउनुपर्ने बाध्यता हटेको छ ।


सिद्धिचरण नगरप्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘पहिले घन्टौँ हिँडेर सामान्य सेवाबारे जानकारी लिन नगरपालिका नै आउनुपर्ने बाध्यता थियो । टोल फ्री सेवाले अब हट्ने विश्वास लिएका छौँ ।’ सिद्धिचरण टोल फ्री सेवा सुरु गर्ने ओखलढुंगाको पहिलो स्थानीय तह भएको छ ।