close

काठमाडौँका स्थानीय तहले कहिले बनाउँछन् घर ?

काठमाडौँका स्थानीय तहले कहिले बनाउँछन् घर ?

Trulli
ADVERTISEMENT

काठमाडौैँ- देश संघीयतामा गएको चार वर्ष भयो । जनतालाई गाउँगाउँमा सिंहदरबार पुर्‍याउने सपना देखाइयो । जनप्रतिनिधि आएपछि आमूल परिर्वतन हुने अपेक्षा गरेका जनतामा निराशा छाउन थालेको छ । 


देशमा कायापलटै गर्छु भन्दै घोषणापत्र सार्वजनिक गरेका काठमाडौँका जनप्रतिनिधिहरूले चार वर्षसम्म आफ्नै कार्यालयसमेत बनाउन सकेका छैनन् । 


आफ्नै कार्यालय बनाउन नसक्ने जनप्रतिनिधिसँग विकासको के आश गर्ने ? एक सय दिनमा एक सय एक काम गर्ने घोषणा गरेका काठमाडौँ महानगरप्रमुख विद्याशुन्दर शाक्य हालसम्म पनि आफ्नो भवन बनाउने तयारीमा जुटेका छैनन् । त्यसो त, काठमाडौँका अधिकांश स्थानीय तहले आफ्नो भवन बनाउन सकेका छैनन् ।

 

एकातिर उल्टै मासिक लाखौँ घरभाडा तिरेर बसेका छन् भने अर्कातिर एकै ठाउँबाट सुविधा दिन सकेका छैनन् । कतिपय स्थानीय सरकारले आफ्नै भवन बनाएका छन् । कति तयारीमा लागेको बताउँछन् । काठमाडाैँ महनगर, कागेश्वरी मनोहरा, शंखरापुर, चन्द्रागिरि, टोखा नगरपालिका हालसम्म भाडाको घरमा रहेका छन् । 

 

कुन नगरपालिकाले कति तिर्छन् घरभाडा 

 

काठमाडौँ महानगर 

काठमाडौँ महानगरपालिकाले नगरप्रमुख विद्याशुन्दर शाक्य आएदेखि हालसम्म घर भाडामै ७ करोड ६५ लाख १ हजार ७ सय ५१ रुपैयाँ सकाएको छ । महानगरले मासिक करिब ३० लाख घरभाडामै सकाउने गरेको छ ।

एक सय दिनमा एक सय एक काम गर्ने घोषणा गरेका नगरप्रमुखले तीन वर्षे कार्यकाल बितिसक्दासमेत आफ्नै भवन बनाउन सकेका छैनन् । 

 

महानगरले २०७४/७५ मा एक करोड ७४ लाख १३ हजार तीन सय ४४ रुपैयाँ घर भाडा तिरेको थियो । २०७५/७६ मा दुई करोड १२ लाख ३६ हजार ६ सय ३० रुपैयाँ तिरेको थियो ।

 

त्यसैगरी २०७६/७७ मा दुई करोड ३९ लाख ८२ हजार चार सय २० रुपैयाँ तिरेको थियो । २०७७/७८ कात्तिकसम्म ८० लाख १९ हजार चार सय रुपैयाँ घर भाडा तिरेको महानगरले जनाएको छ ।

 

कागेश्वरी मनोहरा नगरपालिका 

कागेश्वरी मनोहराले पनि हालसम्म आफ्नै भवन बनाउन सकेको छैन । गत वर्ष नै निर्माण गर्ने भनिएको भवन विवादका कारण बनाउन नसकेको नगरपालिकाले जनाएको छ । 

 

मनोहराले वडा कार्यालयसमेतको गरी मासिक ४५ लाख रुपैयाँ घर भाडा तिर्दै आएको छ । आफ्नै भवन बनाउने तयारीमा छ । 

 

शंखरापुर नगरपालिका
शंखरापुरको आफ्नो भवन बनाउने तयारी छैन । घर भाडाबापत मात्र यो नगरपालिकाले मासिक ६० लाख रुपैयाँ खर्चेको नगरप्रमुख सुवर्ण श्रेष्ठले बताए ।

 

चन्द्रागिरि नगरपालिका 
चन्द्रागिरिले घर भाडाबापत मासिक तीन लाख रुपैयाँ तिर्दै आएको छ । 

 

टोखा नगरपालिका

टोखाले आफ्नो भवन बनाउन सकेको छैन । जग्गा भाडामा लिएर टहरा बनाएर बसेको छ । १८ करोड रुपैयाँमा आफ्नै भवन बन्दै छ । 

 

दक्षिणकाली नगरपालिका 
दक्षिणकाली हाल सामुदायिक भवनमा रहेको छ । घर भाडा तिरेको छैन । आफ्नै भवन बनाउने तयारीमा छ ।

 

बूढानीलकण्ठको आफ्नै भवनबाट सेवा
 
बूढानीलकण्ठको आफ्नै भवन छ । सोही भवनबाट सेवा दिइरहेको छ ।  १० करोड रुपैयाँको भवन गत मंसिरमै तयार पारेको थियो । हाल पाँच करोड रुपैयाँको अर्काे भवन थप्ने तयारी गरेको छ । 

 

नार्गाजुन र तारकेश्वर नगरपालिकाले आफ्नै भवन बनाउने तयारी भइरहेको बताएका छन् । 


आफ्नै भवनमा कीर्तिपुर 

केही समय अघिसम्म सामुदायिक भवनमा रहेको कीर्तिपुर नगरपालिकाले हाल २० करोड रुपैयाँमा आफ्नै भवन निर्माण गसिकेको छ ।