close

काठमाडौँ महानगरसँग सहकार्य गर्दै छायानाथ रारा 

काठमाडौँ महानगरसँग सहकार्य गर्दै छायानाथ रारा 

Trulli
ADVERTISEMENT

मुगु- काठमाडौँ महानगरप्रमुख विद्यासुन्दर शाक्यले कर्णालीमा पर्यटक भित्र्याउन दुवै नगरपालिकाबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । साविक कर्णालीको जुम्ला हुँदै हिमाली जिल्ला मुगु आइपुगेका महानगर प्रमुख शाक्यले यहाँको छायानाथ रारा नगरपालिका पदाधिकारीसँगको छलफलमा काठमाडौँ घुम्न आउने पर्यटकलाई रारासम्म पुर्‍याउन दुई नगरबीच सहकार्य हुनुपर्ने बताएका हुन् ।

 

छिमेकी जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध गाँसेको काठमाडौँ महानगरपालिकाले मुगुको छायानाथ रारासँग पनि निकट भविष्यमा भगिनी सम्बन्ध गाँस्ने संकेत उपमहानगरप्रमुख शाक्ले गरे । उनले भने, ‘अहिले भगिनी सम्बन्ध नगाँसिए पनि समन्वय र सहकार्य गरेर दुवै नगरपालिका अगाडि बढ्न आवश्यक छ । छायानाथ राराका लागि सहयोग गर्न तयार छौँ ।’

 

नेपालको सबैभन्दा ठूलो राराताल छायानाथ रारा नगरपालिकामा पर्छ । यो देशकै प्रमुख पर्यटीक गन्तव्य पनि हो ।  रारातालबारे काठमाडाँैमा प्रचार–प्रसार गर्न सके र राजधानीका पर्यटकलाई रारासम्म पुर्‍याउन सकिए आर्थिक आम्दानीमा टेवा पुग्ने नगरप्रमुख शाक्यको भनाइ छ ।

 

उनले भने, ‘नेपालकै सबैभन्दा ठूलो रारा तालको प्रचार गरेर देशी-विदेशी पर्यटक भित्र्याउन सकिए छायानाथ राराको आम्दानीको स्रोत खोज्न कहीँ जानै पर्दैन ।’

 

नगरप्रमुख शाक्यले छायानाथ राराको विकास निर्माणलगायतमा समन्वय र सहकार्य गर्न महानगर तयार रहेको बताए । स्थानीय सरकारले जनताका गुनासा सुने मात्र विकास निर्माणमा फड्को मार्न सहज हुने उनको दाबी छ । छलफलमा नगरप्रमुख शाक्यले छायानाथ रारा नगरपालिकालाई काठमाडौँ महानगरको औपचारिक भ्रमणको निम्तो दिए ।

 

कार्यक्रममा काठमाडौँ महानगर उपप्रमुख हरिप्रभा खड्गीले यस क्षेत्रमा राज्यको नजरमा नपरेका पर्यटन, साँस्कृतिक सम्पदालगायत क्षेत्रको विकासका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् । 

 

उनले भनिन्, ‘मुगु भन्नेबित्तिकै दुर्गम जिल्ला भनेर चिनिन्छ । तर, यहाँ रहेको अथाह पर्यटन, जडीबुटीको स्रोतका कारण यो आफैँमा धनी छ । व्यवस्थापन र बजारीकरणमा ध्यान दिन सके छायानाथ राराको समृद्धि खोज्न कहीँ धाउनै पर्दैन ।’


छायानाथ रारा नगरप्रमुख हरिजंग शाहीले काठमाडौँ महानगर र छायानाथ राराबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । शाहीले भने, ‘संघीय सरकारको राजधानी रहेको काठमाडौँ महानगरले छायानाथ राराको विकासमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरेका छौँ ।’

 

भौगोलिक विकटताका कारण सडक सञ्जाल र हवाई मार्गको पनि सहज पहुँच नभएको मुगुबासी राज्यको सुविधाबाट वञ्चित रहेको उनले बताए । करिब २५ प्रतिशत मुगालीका छोराछोरी अध्ययन र रोजगारीको सिलसिलामा काठमाडौँमा रहेको जानकारी दिए । 

 

‘छायानाथको बहुमूल्य जडीबुटी यार्सा, पाँचऔले, वन लसुनसँगै, स्याउ र यहाँका रैथाने बालीको बजारीकरणमा काठमाडाैँ महानगरसँग सहयोगको अपेक्षा गरेका छौँ’, नगरप्रमुख शाहीले भने ।