close

घरदैलोमै पुगेर नागरिकता वितरण

घरदैलोमै पुगेर नागरिकता वितरण

Trulli
ADVERTISEMENT

अछाम- अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय जिल्ला प्रवेशसँगै सक्रिय भएर जनताको सेवामा लागेका छन् । जिल्ला आएसँगै नागरिकता सचेतना अभियान, छाउगोठ भत्काउने अभियान लगायतका सामाजिक क्रियाकलापमा अग्रसर देखिएका छन् । उनले नागरिकका लागि प्रशासनबाट दिइने सेवामा गाँउ गाँउमा समेत पुगेर यसबारे सचेतना दिने गरेका छन् । 


जिल्लाका विकट बस्तीहरुमा पुगेर जनतालाई सुसूचित पार्ने काममा प्रजिअ उपाध्यया सक्रिय देखिएका हुन् । प्रजिअ उपाध्यायले जिल्लाको विकट क्षेत्र तुर्माखाँद गाउँपालिका वडा नम्बर १ र २ मा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेका छन् ।

 

उनको टोलीले जिल्ला सदरमुकामबाट टाढा रहेको र सडक सञ्जालसँग नजोडिएको तुर्माखाँद गाउँपालिकाका २ वडाका २ सय जनालाई नागरिकता प्रदान गरे । वडा नम्बर १ रहफका १ सय ३२ जना र वडा नम्बर २ भुलुका ६८ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको उपाध्यायले जानकारी दिए ।

 

विदाको दिन पारेर (३० माघ र १ फागुनमा) कार्यालयको काम प्रभावित नहुने गरी गाउँमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको उपाध्यायले बताए । नागरिकता वितरणका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा तुर्माखाँद गाउँपालिका, वडा नं. २ का सरोकारवालाहरुसँग सार्वजनिक सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया र छाउपडी प्रथाबारे सचेतना समेत गरिएको छ ।


सरकारी निकायबाट प्रदान गरिने सेवा सुविधा, नागरिकले पाउनुपर्ने सेवा, अधिकार तथा नागरिकका कर्तव्य लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । साथै छाउपडी कुप्रथाबारे सचेतना फैलाउँदै सबैलाई घरमै सुरक्षित तरिकाले बस्न आग्रह गरिएको छ ।


यदि कसैलाई बाध्य पारेर छाउगोठमा बस्न बाध्य पारेमा वा बसेमा मुलुकी अपराध संहिता अनुसार कारवाही गरिने समेत जानकारी गराइएको थियो । साथै जिल्लाव्यापी अभियानको रुपमा सुरु भएको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्यको अनुगमन गरिएको छ ।

 

जिल्लाका भुलुु र रहफका सेवाग्राही तथा जनप्रतिनिधिबाट नागरिकता लिन भौगोलिक कारणले निकै कठिनाई भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयबाट १ हप्ता कर्मचारी खटाई सम्बन्धित वडामै २ सय नागरिकता जारी गरी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

 

अछामको विकट क्षेत्र भुलुमा यसअघि पहिलो पटक तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य पुगेका थिए भने दोस्रो पटक प्रमुख जिल्ला अधिकारी उपाध्याय पुगेका छन् ।