close

८ महिनामा यसरी तोडियो ३६ वर्षे बिचौलिया सेटिङ

८ महिनामा यसरी तोडियो ३६ वर्षे बिचौलिया सेटिङ

Trulli
ADVERTISEMENT

गोरखा- ८ महिनाअघि नापी कार्यालय गोरखाको प्रमुख (हाकिम) भएका अमृत पाण्डे आउनुअघि नापी कार्यालयलाई बिचौलिया र कर्मचारीको सेटिङमा स्वेच्छाचारी काम गर्ने, सेवाग्राहीलाई अनावश्यक दुःख दिने र रकम असुल्ने अड्डाको रूपमा चिनिन्थ्यो ।

 

यही कुरा कार्यालय पुग्ने सेवाग्राहीको मानसपटलबाट गोरखाको नापी कार्यालय पनि अछुतो रहन सकेन । 

 

उनै हाकिम पाण्डेले पदभार सम्हालेलगत्तै सेवाग्राहीलाई सूचना, कर्मचारीलाई आदेश अनि कार्यालयमा आफ्नो हैकम जमाएका लेखापढी व्यवसायी बिचौलियालाई चेतावनी दिए, ‘सेटिङ गरेर कार्यालयको सेवा प्रवाह नगर्नू । त्यसो गरेको पाइए कानुनअनुसार कारबाहीको भागीदार बनाइनेछ ।’

 

उनले गोरखा नापी कार्यालयको जिम्मेवारी सम्हालेको महिना दिन नबित्दै हुने गरेको अनैतिक सेटिङको मुहानै बन्द हुन थाल्यो । 

 

‘म कार्यालय प्रमुुख हुनुअघि यहाँ के हुन्थ्यो ? मलाई मात्रै हैन, नागरिकलाई थाहा भएकै कुरा हो’, कार्यालय प्रमुख पाण्डे भन्छन्, ‘तर, मैले जिम्मेवारी लिएपछि यो कार्यालय गेटभित्र प्रवेश गरेपछि कर्मचारीदेखि सेवाग्राही सबैले सेटिङ गरेर काम छिटो गर्छु भन्ने सोच त्यागेर आउनुपर्छ । पैसाको लोभमा छिटो हुने काममा ढिलाइ गर्ने र बिचौलिया बनेर पैसा लिन खोज्ने प्रवृत्ति स्वीकार्य हुँदैन ।’

 

२८ फागुन २०३६ मा गोरखाको फुजेलमा पिता हितबहादुर र आमा सरस्वती पाण्डेको कोखबाट जन्मिएका उनले २०५६ बाट निजामती सेवा सुरु गरे । कर्णाली प्रदेशको सुर्खेतबाट निजामती सेवा सुुरु गरेका उनी बर्दिया, कास्की, तनहुँ, बाँके, अछाम, जुम्ला हुँदै गृहजिल्ला गोरखा आइपुगे ।

 

उनीसँग निजामती सेवामा लागेदेखि हालसम्म नापी कार्यालयमा मात्रै काम गरेको अनुभव छ । पाण्डे कामको सिलसिलामा होस् या कहीँ-कतै घुम्न गएका बेला । अधिकांश ठाउँमा नागरिकले नापी कार्यालयको सेवाप्रति नकारात्मक चर्चा गरेको मात्रै सुन्थे ।


उनी सेवाग्राहीबाट हुने गरेका नकारात्मक टिप्पणी सम्झन्छन्, ‘नापी कार्यालयमा सेवाग्राही घन्टौँँसम्म लाइनमा बस्नैपर्छ । आर्थिक लेनदेन बढी हुन्छ । सेटिङबिना कामै बन्दैन ।’

 

त्यस्ता टीकाटिप्पणी सुन्दा उनी दुखी हुन्थे । सोच्थे, आम मानिसले गर्ने नापी कार्यालयप्रतिको टिप्पणी सकारात्मक बनाउन सके कत्ति राम्रो हुन्थ्यो । उनले कोसिस पनि गरे । तर, एउटा कर्मचारीले मात्रै चाहेर पनि हुने कुरा थिएन ।


अधिकांश नापी कार्यालयमा बिचौलिया र कर्मचारीबीच हुने सेटिङका कारण इमानदारहरू, जो कहिल्यै प्रलोभनमा परेर काम गरेनन्, तिनको मनोबल सधैँ गिरिरहेको हुन्थ्यो । तीमध्येका एउटा पात्र हुन्, पाण्डे ।

 

कुनै दिन कार्यान्वयन गर्ने ठाउँमा पुगेर सिस्टमसँगै सेटिङको जालो अनि नापी कार्यालयप्रति नागरिकले गर्ने नकारात्मक टिप्पणी सकारात्मक बनाउने अठोट लिए ।

 

पाण्डेले सेवा सुरु गरेदेखि सोचेको यो कुरा पूरा हुन निरन्तर साढे २२ वर्ष सेवा गर्नुपर्‍यो । अन्ततः उनले वर्षाैँदेखि मनमा गुम्साएर राखेको परिवर्तनको सोच आफ्नै गृहजिल्ला गोरखामा सफल पार्ने अवसर मिलेको छ ।

 

२०७४ मा गोरखा आएका उनले २०७७ असारदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । प्रमुखको जिम्मेवारी पाउँदा कार्यालय अस्तव्यस्तजस्तै रहेको पाण्डे सुनाउँछन् । कार्यालयमा सेवाग्राहीले घन्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता थियो । काम छिटो गर्नुपरे बिचौलियाको साथ लिएर अनावश्यक पैसा तिर्नैपथ्यो । 

 

कर्मचारी एउटा कार्यकक्षबाट अर्काे कार्यकक्षमा फाइल बोकेर आउजाउ गरिरहने पुरानो चलनचल्ती कायमै थियो । सिस्टम थिएन । कार्यालय प्रविधिमैत्री थिएन ।

 

पाण्डेसँग परिवर्तन गर्न सक्ने जति चाहना थियो, त्योभन्दा बढी चुनौती पनि । नापी कार्यालयको समस्या र चुनौतीसँग २ दशकदेखि पौठेजोरी खेलिरहेका उनले सुरुमा कार्यालयलाई प्रविधिमैत्री बनाउने निर्णय गरे ।


अहिले नापी कार्यालयमा ८ वटा सिसीक्यामेरा छन् । कार्यालय परिसरदेखि हरेक कार्यकक्षसम्म कसले के गरिरहेका छन्, सजिलै निगरानी राख्न सकिन्छ । त्यसको रेकर्ड पनि रहन्छ । 

 

पहिले सिस्टम थिएन । अहिले सिस्टमबाट मात्रै काम हुन्छ । सिस्टम लागू भएपछि अहिले कार्यालयमा ब्लुप्रिन्टदेखि ट्रेस नक्सा कम्प्युुटरबाटै निकालिन्छ । कार्यालयको ९ वटा कम्प्युटरमा सियरिङ छ । 

 

एउटा फाँटबाट अर्काे फाँटमा पुर्‍याउनुपर्ने काम सियरिङमा हालिन्छ । यसले समयको बचतका साथै काम छिटो-छरितो हुुने गर्छ । सेवाग्राहीलाई पहिलेभन्दा धेरै कम राजस्व तिर्नुपर्छ । पहिले घन्टौँसम्म लाइन बसेर गर्नुपर्ने काम आजभोलि केही मिनटेमै सकिन्छ ।

 

प्रमुख पाण्डे भन्छन्, ‘अहिले कार्यालयमा कोही, कसैले सेटिङ गर्ने आँट गर्दैनन् किनकि यहाँ जोकोही सिसीक्यामेराको निगरानीमा हुन्छन् । हामीले नापी कार्यालयमा भइरहेको पुरानो काम गर्ने प्रवृत्ति हटाएर नयाँ सिस्टम लागू गरेका छौँ । यसो भएपछि नागरिकले छिटो सेवा पाउन थालेका छन् ।’


अहिले नापी कार्यालयको प्राविधिक फाँटका कर्मचारीले कम्प्युटरमा बसेर के गरिरहेका छन्, सजिलै सेवाग्राहीले हेर्न पाउँछन् । प्राविधिक फाँटका हरेक कर्मचारीको कम्प्युटरमा २ वटा ज्वाइनिङ डेस्कटप राखिएको छ । एउटा डेस्कटपमा कर्मचारीले काम गरिरहन्छन् भने अर्काे डेस्कटपमा उनीहरूले गरेको काम सेवाग्राहीले झ्यालबाट हेरिरहन्छन् । 


‘पहिले कर्मचारी भित्र कम्प्युटरमा गेम खेलिरहने, बाहिर सेवाग्राही लाइनमा बसिरहने हुन सक्थ्यो । गेम खेल्दा पनि कर्मचारीले कम्प्युटर चलाइरहेको देखिन्थ्यो तर सेवाग्राहीलाई थाहा हुँदैन थियो । त्यसैले घन्टौँसम्म लाइनमा बस्दा पनि काम सकिँदैनथ्यो । अहिले नापी कार्यालयमा त्यसो हुन छाडेको छ’, कार्यालय प्रमुख पाण्डेले भने ।


पाण्डे आफ्नो कार्यकक्षमा पुग्ने अधिकांसशाई कार्यालयमा काम मिलाइदिने भन्दै कोही, कसैले पैसा मागे नदिनू, कार्यालयमा कर्मचारीले काम ढिलासुस्ती गरे, कर्मचारीको व्यवहार स्वाभाविक नलागे मकहाँ आउनू, आफू पनि सभ्य रूपमा प्रस्तुत हुनू भन्ने सुझाव दिँदै प्रश्न गर्छन्, ‘कसैलाई अनावश्यक पैसा त दिनुभएको छैन ?’


उनले सेवाग्राहीलाई प्रश्न मात्रै सोध्दैनन् । कोही, कसैलाई अनावश्यक पैसा दिन नहुने भन्दै सम्झाउँछन् पनि । सेवाग्राहीका हरेक प्रश्नको उत्तर दिन्छन् । २०४१ मा स्थापना भएको नापी कार्यालय गोरखामा ३६ वर्षदेखि परिवर्तन नभएको सिस्टम पाण्डेले कार्यालय प्रमुख भएको वर्ष दिन पनि नपुग्दै फेरिदिए ।


कार्यालयलाई प्रविधिमैत्री बनाउन उनीसँग आवश्यक बजेट थिएन तर योजना थियो । सोही योजनालाई गोरखाका केही स्थानीय तहले सहयोग गरे । केहीले सहयोगको प्रतिबद्धता जनाए ।

 

‘कार्यालयमा सिसीक्यामेरा राख्ने, थप कम्प्युटर किन्न बजेट थिएन । मैले गोरखाका स्थानीय तहसँग सहयोग मागेँ । सोही सहयोगले अहिले प्रविधिमैत्री बनाउँदै छुु । अझै केही रकम अपुग छ । त्यसलाई पनि जुटाएर आगामी वैशाखसम्म कार्यालयलाई पूर्ण प्रविधिमैत्री बनाउने लक्ष्यका साथ काम गरिरहेको छु’, उनी भन्छन् ।

 

पाण्डेको नेतृत्वमा आएपछि नापी कार्यालयको सेवाले फड्को मारेको अनुभव सेवाग्राहीको छ । कार्यालयमा सेवा लिन पुगेका ताप्लेका सनमत मियाँ भन्छन्, ‘पहिले यही कामलाई थोरैमा ३/४ घन्टा लाइन बस्नुपर्थ्याे । पैसा पनि धेरै लाग्थ्यो । अहिले आएको १५ मिनेटमै पूरा भएको छैन । काम सकियो । सजिलो भयो ।’

 

मियाँजस्तै आरुघाटका रेशमबहादुर मगरले पनि नापी कार्यालयको सेवा पहिलेभन्दा धेरै सहज भएको अनुभव गरेका छन् । भन्छन्, ‘अहिले पैसा पनि सस्तो हुँदो रहेछ । आएको १०/१५ मिनेटमै सजिलोसँग काम सकियो ।’

 

मियाँ र मगरजस्तै यहाँ जाने अधिकांश सेवाग्राहीले अहिले नापी कार्यालयप्रति गर्ने टीकाटिप्पणी सकारात्मक छ । सेवाग्राहीको टिप्पणी सुन्दा पाण्डेलाई आफ्नो कामप्रतिको लगावले झनै ऊर्जा दिएको छ ।


उनी भन्छन्, ‘नागरिकले नापी कार्यालयबाट सहजै सेवा लिन पाउन् अनि विगतमा गर्ने टीकाटिप्पणी सच्याएर आगामी दिनमा यस्तो पो नापी कार्यालय भनून् । यसमै मलाई सन्तुष्टि मिल्नेछ ।’