close

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही छुटे वडासचिव दोषी

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही छुटे वडासचिव दोषी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम प्रविष्ट गर्न र अद्यावधिक गर्न छुटेर रकम निकासा नभए त्यसको सम्पूर्ण जिम्मेवारी वडा सचिवले लिनुपर्ने नियम बनाएको छ । 


बैंक खाता खोल्न छुट भई रकम निकासा हुन नसके त्यसको जिम्मेवारी सम्बन्धित लाभग्राही आफैंले स्वीकार्नुपर्ने नियमसमेत गाउँपालिकाले बनाएको छ ।

 

वडाध्यक्षले आफ्ना लाभग्राहीको नामथर छुट भए-नभएको तथा बैंक खाता खोले-नखोलेकोबारे सम्बन्धित लाभग्राहीसँग बुझेर सम्बन्धित वडा सचिवलाई जानकारी दिनुपर्नेछ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार पालिकाबाट वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि कतिपय लाभग्राहीले बैंकमा खाता नखोलेको देखिएको भन्दै अन्तिम पटक सहजीकरणका लागि वडाका जनप्रतिनिधि र वडा सचिवहरूलाई जानकारी गराइएको हो ।

 

वडा सचिवले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम भिईआरएस एमआईएस प्रणालीमा प्रविष्ट र अद्यावधिक नगरेको अवस्थामा लाभग्राही सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भए त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने गाउँपालिकाले जनाएको छ । 


यस्तै, चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न अपुग रकम विभागसँग माग गर्नुपर्ने भएकाले लाभग्राहीको विवरण अद्यावधिक गरी २५ जेठभित्र सफ्ट कपी र हार्ड कपी दुवै प्रमाणित गरी पालिकाको सामाजिक सुरक्षा भत्ता तथा पञ्जीकरण शाखामा पठाउन पालिकाभरिका सम्पूर्ण पञ्जाधिकारीलाई परिपत्र गरेको छ ।