close

प्रमुख प्रशासकीय अधिकृतको विवादमा फस्यो बडिमालिका 

प्रमुख प्रशासकीय अधिकृतको विवादमा फस्यो बडिमालिका 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बडिमालिका नगरपालिका आर्थिक वर्षको अन्त्यमा आएर आन्तरिक विवादमा फसेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरेको निर्णयमा नगरप्रमुख र उपप्रमुख असन्तुष्ट बनेपछि प्रशासनिक काम विवादित बनेको हो ।


मन्त्रालयले नामै तोकेर रंगमल विकलाई जिम्मेवारी दिए पनि नगरप्रमुख/उपप्रमुखको टिमले कामकाज सञ्चालनमा अघोषित रोक लगाएको छ । आफू अनुकूल मान्छेलाई अधिकृतको रूपमा राख्न पाउनुपर्ने अडानमा नगर प्रमुख रहेको केही वडा अध्यक्षको दाबी छ ।
 
नगरसभासमेत अधिकृतबिनै सञ्चालन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत नगरसभाको सदस्य सचिव हुने व्यवस्था भए पनि बडिमालिकाले नियमविपरीत सभा सञ्चालन गरेको हो । आर्थिक वर्षको अन्त्यमा कर्मचारीका नाममा विवाद झिक्नु राम्रो नहुने कार्यपालिका सदस्यकै सुझाव छ ।


उपसचिव प्रशासकीय अधिकृत हुने व्यवस्था भए पनि राजनीतिक आग्रहका आधारमा प्रशासकीय अधिकृत हटाएर असहयोग गर्ने खोजेको आरोप नगरप्रमुखको छ । त्रिवेणी सरुवा गरिएका ध्रुवप्रसाद कोइरालाले जान नमानेपछि विवाद सतहमा आएको हो । २८ फागुनमा सरुवा भएका कोइराला ८ चैतमा बाजुरा हाजिर भएका थिए । कोराइलालाई सोही दिन त्रिवेणी नगरपालिकामा सरुवाको पत्र आएको थियो ।


सरुवाको साता दिन नबित्दै अर्को स्थानमा सरुवा गरिएको भन्दै कोइराला असन्तुष्ट थिए । संघीय सरकारको पत्रलाई बेवास्ता गरेपछि कोइरालालाई पुनः १७ वैशाखमा ७ दिनभित्र सरुवा भएकै पालिका जान पत्र काटिएको थियो । उक्त पत्रलाई समेत बेवास्ता गरेका कोइरालालाई २ असारमा आर्थिक तथा प्रशासनिक काम नगर्ने निर्देशनसहित अर्को पत्र काटियो ।
 
प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिइएपछि आर्थिक वर्ष अन्त्यमा दैनिक भुक्तानीका काम ठप्प छन् भने प्रशासनिक काम पनि प्रभावित बनेको छ । गत वर्ष १२ असारमा रंगमल विकको नाममा अख्तियारी आएको थियो । पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत यज्ञ अर्यालको २५ जेठमा सरुवा भए पनि नगरप्रमुख÷उपप्रमुखकै जोडमा १० असारसम्म काम गर्न लगाइएको थियो । 

 

दैनिक कामकाज रोकिएपछि नगरपालिका उपसचिव स्तरको कार्यकारीको खोजीमा देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत ध्रुव कोइरालाले आफू काममा काठमाडौं गएको पत्रमा उल्लेख गरेका छन् भने सामान्य प्रशासन मन्त्रालयले रंगमल विकको नाममा पत्र पठाएको छ ।
 
रंगमल विकले यसअघि गत २ असारदेखि नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाएका थिए ।  नगरपालिकाभित्र एमालेबाट जितेका ५ जना वडाध्यक्षले र कांग्रेसका केही वडाध्यक्षले जो भए पनि नगरभित्रको काम हुनुपर्ने अडानमा छन् । तर, नगरप्रमुख/उपप्रमुख त्यसलाई नस्वीकार्ने पक्षमा देखिएका छन् ।