close

स्थानीय तहका आधा बजेट तलब भत्तामै स्वाहा 

स्थानीय तहका आधा बजेट तलब भत्तामै स्वाहा 

Trulli
ADVERTISEMENT

रूपन्देही- संविधानतः व्यवस्था गरिएअनुसार देशभरका स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय तहरूले १० असारभित्र बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । लुम्बिनी प्रदेशमा २ वटा स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेका छैनन् । 


लुम्बिनी प्रदेशका ४ उपमहानगरले ९ अर्ब ६८ करोड ४ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन् । बुटवल, तुलसीपुर, घोराही र नेपालगन्ज उपमहानगरले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याएका हुन् । 


तर, सार्वजिनक बजेटमा अधिकांश स्थानीय तहको बजेट चालू खर्च र पुँजीगत खर्च बराबरजस्तै रहेको छ । चालू खर्च भनेको कर्मचारीको तलबभत्ता, व्यवस्थापन तथा अन्य प्रशासनिक खर्च हो भने पुँजीगत खर्च शीर्षकका बजेट मात्रै विकास निर्माण, पूर्वाधारमामा खर्चिन्छ ।


लुम्बिनी प्रदेशका ४ वटा उपमहानगरमा तुलसीपुर उपमहानगरले ३ अर्ब ३९ करोड ९६ लाख, बुटवलले २ अर्ब ५३ करोड २ लाख, घोराहीले २ अर्ब २० करोड २८ लाख, नेपालगन्जले १ अर्ब ५४ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएका छन् । प्रदेशका अन्य पालिकाको तुलनामा सबैभन्दा बढी तुलसीपुर उपमहानगराले बजेट ल्याएको छ । तुलसीपुर उपमहानगरले चालू खर्च अर्थात् कर्मचारीको तलब भत्ता, कार्यालय व्यवस्थापन, कार्य सम्पादनका लागि १ अर्ब २५ करोड रुपैयाँ बढीको बजेट विनियोजन गरेको छ ।


उक्त उपमहानगरमा पुँजीगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त तथा विकास कार्यक्रमका लागि १ अर्ब ६२ करोड १६ लाख १६ हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको ४७.७० प्रतिशत हुन आउँछ । यसैगरी सामाजिक सुरक्षातर्फ ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, जुन कुल विनियोजित बजेटको ११.८० प्रतिशत हुन आउँछ ।

 

त्यसैगरी चालूतर्फ प्रशासनिक खर्च र अन्य सञ्चालन खर्चलगायत कार्यक्रमतर्फ १ अर्ब ३५ करोड ६९ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ३९.८८ प्रतिशत हुन आउँछ । दाङको घोराही उपमहानगरले १ अर्ब ७ करोड २५ लाख ९५ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरेको छ, जुन पुँजीगत खर्चको आधाभन्दा पनि बढी हो ।


घोराहीको नवौँ नगरसभामा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक वर्षका लागि विकासतर्फ १ अर्ब ७ करोड २५ लाख ९५ हजार र चालूतर्फ १ अर्ब १३ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । 


बुटवल उपमहानगरले कुल बजेटको चालूतर्फ ३९.७७ प्रतिशत बजेट विनियोजन गरेको छ । चालू खर्चतर्फ ५१ करोड ४८ लाख ५५ हजार रुपैयाँ विनियोजन भएको छ भने पुँजीगततर्फ ७० करोड ७१ लख २८ हजार ३४१ रुपैयाँ विनियोजन गरिएको छ ।

 

रूपन्देहीका १६ वटा स्थानीय तहमा ४ उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका रहेकामा ओमसतियाबाहेकका सबै पालिकाले बजेट सार्वजनिक गरेका हुन् । ओमसतियाका अधिकांश गाउँसभा सदस्यले गाउँसभा वहिष्कार गरेपछि बजेट पेस हुन सकेन ।


सैनामैना नगरपालिकाको चालू खर्चतर्फ ५१ करोड ४८ लाख ५५ हजार रुपैयाँ र पुँजीगततर्फ ७० करोड ७१ लाख २८ हजार ३४१ गरी कुल १ अर्ब २२ करोड १९ लाख ४२ हजार ३४१ रुपैयाँको बजेट ल्याएको छ । तिलोत्तामा नगरपालिकाले चालूतर्फ जम्मा ९० करोड २० लाख ४३ हजार (५१.१० प्रतिशत ) र पुँजीगततर्फ ८६ करोड ५५ लाख ८५ हजार ५ सय ७४ रुपैयाँ (४८.९० प्रतिशत) खर्च बजेट पेस गरेको छ । 

 

कञ्चन गाउँपालिकाले चालूतर्फ २५ करोड २९ लाख ४० हजार, पुँजीगततर्फ २४ करोड ५८ लाख ९५ हजार र सामाजिक सुरक्षातर्फ १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

गैडहवा गाउँपालिकाले ६६ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक विकासअन्तर्गत कृषिमा ६० लाख, पशुमा ४५ लाख, पर्यटनमा ५९ लाख रुपैयाँ छुट्टयाएको छ ।


यस्तै, सामाजिक विकासतर्फ शिक्षामा १ करोड १० लाख, स्वास्थ्यमा ८० लाख, आयुर्वेदमा २० लाख, सांस्कृतिक मेलामा २७ लाख, खेलकुदमा १० लाख, खानेपानीमा २० लाख, लैंगिक समानता महिलातर्फ १५ लाख, बेटी बचाओ बेटी पढाओ कार्यक्रमका लागि २५ लाख र लक्षिततर्फ ४० लाख रुपैयाँ छुट्याएको छ । 


गुल्मीको मुसीकोटले चालू खर्चतर्फ ६ करोड १६ लाख १८ हजार ३ सय रुपैयाँ रकम विनियोजन गरेको छ । यसको कुल बजेट ८४ करोड ४ लाख रुपैयाँ रहेको छ ।