close

देशैभरका निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन ६० दिने म्याद

देशैभरका निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन ६० दिने म्याद

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले देशभरका निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन ६० दिने म्याद दिएको छ । २२ असारमा सार्वजनिक सूचना जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताब खाना (निजामती) ले यो अवधि दिएको हो । सूचनाअनुसार देशभरका निजामती कर्मचारीले अब ६० दिनभित्र आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति विवरण बुझाइसक्नुपर्नेछ । 


कर्मचारीले तोकिएको ढाँचाबमोजिमको सम्पत्ति विवरण फाराम भरी खामबाहिर कर्मचारीको संकेत (सिटरोल) नम्बर, नाम, थर, पद र दर्जा, कार्यरत कार्यालय र ठेगाना, कर्मचारीको तह, श्रेणी, मोबाइल नम्बर, सेवा/समूह र ठेगानासमेत स्पष्ट रूपमा लेखी पठाउनुपर्ने परिपत्रमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ भित्र (अर्थात् १ साउन २०७७ देखि २०७८ असार मसान्तसम्म) सेवानिवृत्त भएका कर्मचारीले समेत उपयुक्तअनुसारको सम्पत्ति विवरण बुझाउनुपर्नेछ । 

 

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहमा समायोजन भएका अन्य सेवाका कर्मचारी, कर्मचारी संकेत नम्बर प्राप्त नगरेका र लोकसेवा आयोगबाट आर्थिक वर्ष २०७५/७६ मा भएको विज्ञापन वा सोभन्दा पछि भएको विज्ञापनअनुसार सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारी (कर्मचारी संकेत नम्बर प्राप्त गरेको भए पनि) ले नेपाल राजपत्र खण्ड ६८, २० असार २०७५ (अतिरिक्तांक ११) भाग ५, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचनामा तोकेबमोजिम जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिका, प्रदेश सरकारका मन्त्रालयमा पेस भएको अभिलेख तत् निकायले राखी सम्पत्ति विवरण बन्दीखाम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरी सक्नुपर्नेछ ।


यस्तो सम्पत्ति विवरण प्रदेश सरकारले संरक्षण एवं व्यवस्थापन गर्नुपर्नेछ भन्ने व्यवस्था भएबमोजिम सम्पत्ति विवरण संकलन र दर्ता गरिसक्नुपर्नेछ । तर, निजामती सेवामा कार्यरत रही संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामती कर्मचारीले साविकबमोजिम नै राष्ट्रिय किताब खाना (निजामती) मा प्राप्त हुने गरी छिटो माध्यमबाट पठाउन मन्त्रालयले भनेको छ ।


कोभिड-१९ महामारीका कारण सरकारले जारी गरेका विभिन्न मितिका निर्देशन र कार्यविधिबमोजिमको मापदण्डअनुसार आउजाउमा कठिनाइ र भीडभाडको कुनै पनि कार्यले संक्रमणको जोखिम बढ्ने भएकाले निजामती सेवा नियमावली, २०५० को नियम ११८(१) बमोजिम सम्पत्ति विवरण सम्बन्धित कार्यालयमार्फत निजामती किताब खानामा पेस गर्नुपर्ने व्यवस्था भएकाले आर्थिक वर्ष २०७७।०७८ को सम्पत्ति बिबरण दर्ता गर्न व्यक्ति स्वयम्(व्यक्तिगत रुपमा)राष्ट्रिय किताव खाना(निजामति)जानु नपर्ने गरी आफु कार्यरत कार्यालयमा यथाशीघ्र बुझाउनुपर्ने व्यवस्था गरी आफु कार्यरत कार्यालयमा बुझ्ने बुझाउने व्यवस्था सम्वन्धित कार्यालयबाट एकमुष्ट रुपमा १ साउन २०७८ देखि २८ भदौ २०७८ भित्र नै अनिवार्य राष्ट्रिय किताब खाना(निजामति)मा प्राप्त हुने गरी पठाउनुपर्ने व्यवस्था गरेको छ । 


हुलाकमार्फत तोकिएको अवधिभित्र राष्ट्रिय किताब खाना (निजामती) मा प्राप्त भएकामा पिआईएसमा प्रविष्ट गरी अभिलेख राखिने तर तोकिएको ६० दिनपछि प्राप्त सम्पत्ति विवरणलाई प्राप्त नभएसरह मानिने मन्त्रालयले बताएको छ ।