close

स्वास्थ्यकर्मीको जोखिम भत्ता नगरपालिकाका कर्मचारीले पारे झ्वाम

स्वास्थ्यकर्मीको जोखिम भत्ता नगरपालिकाका कर्मचारीले पारे झ्वाम

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बडिमालिका नगरपालिकामा प्रशासन, लेखा तथा अन्य कर्मचारीले कोरोनाको जोखिम भत्ता खाएपछि स्वास्थ्यकर्मीले विरोध गरेका छन् । नगरपालिकाले ११ चैत २०७६ देखि ३१ असार २०७७ असारसम्म बिभिन्न क्वारेन्टाइन तथा आइसोलेसनमा खटिएको भन्दै स्वास्थ्यकर्मीसहित ५३ जनालाई भुक्तानी दिइएको छ ।

 
आर्थिक वर्ष २०७६/७७ मा जोखिम भत्ता पाउने भए पनि बजेट अभावमा २०७८ असार अन्तिममा आएर ५३ जनालाई जोखिम भत्ता दिइएको हो । ५३ स्वास्थ्यकर्मीमध्ये ८ जना भने प्रशासन, लेखा तथा अन्य कर्मचारी रहेको पाइएको छ । ८ जना अन्य कर्मचारीले जोखिम भत्ता पाए पनि आफूहरू मैदानमा खटिँदा पनि यस्तो भत्ता नपाएको एक कर्मचारीले बताए ।

 

कोरोनाबाट मृत्यु भएकाको शव बोक्न बिरामी बोक्ने सवारी चालकले पनि जोखिम भत्ता नपाएको बुझिएको छ । वडामा काम गर्ने कर्मचारी, प्राविधिक तथा अन्य शाखामा काम गर्ने कर्मचारीले त्यो बेला प्रशासन र लेखाको कर्मचारीसरह जोखिम मोलेर काम गरे पनि जोखिम भत्ता नपाएको भन्दै गुनासो गरेका छन् ।


स्वास्थ्यकर्मीबाहेक अन्य कर्मचारी जोखिम भत्ता पाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, लेखा अधिकृत विमला पाध्याय, प्रशासन अधिकृत पुष्प भट्ट, सूचना तथा प्रविधि अधिकृत हेम थापा, लेखापाल मनिराम खत्री, खरिदार वीरबहादुर विष्ट, लेखापाल रामबहादुर विक र कम्प्युटर अपरेटर वाचमल थापा छन् ।


जोखिम भत्ता पाउनेको नाम स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले सिफारिस गरेका हुन् । खड्का भन्छन्, स्वास्थ्यकर्मीको नाम हामीले तयार गरेका हौँ । तर, अन्य कर्मचारीको हकमा भने नगरपालिकाले थप्नुपर्‍यो भनेपछि थपेर पठाइएको हो । आफूले धेरै कर्मचारीको पठाए पनि नगरपालिकाले कुन र कति कर्मचारीलाई रकम दिएको छ, यसबारे जानकारी छैन ।’ तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञ अर्यालको नामसमेत पठाएको खड्काको दाबी छ ।

 

जोखिम भत्ता पाउने कर्मचारी वीरबहादुर विष्टले भत्ता चाहिँदैन भन्दा पनि बैंक खातामा पैसा आएको बताए । ‘कोरोनाका बेला मैले जोखिमै मोलेर कामचाहिँ गरेको होइन । भत्ता लिदिनँ भने पनि खातामा पैसा आएको छ । फिर्ता गर्नेबारे साचिरहेको छु । तर, कोरोनाको जोखिमका बेला अफिसमा आएर काम गरेको हुँ’, उनले भने ।

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक आफूहरूले काममा खटिएकाले नगरपालिकाको निर्णणअनुसार जोखिम भत्ता पाएको दाबी गरे । सरकारले कोरोना संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिका, २०७७ जारी गरेको छ ।  निर्देशिकामा भनिएको छ, ‘हेल्थ डेस्क, क्वारेन्टाइनमा कार्यरत जनशक्ति, उपचार तथा प्रयोगशालामा संलग्न जनशक्तिले जोखिम भत्ता पाउनेछन् ।


त्यस्तै, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रमा खटिएका जनशक्ति, कोभिड-१९ का बिरामीसँग सम्पर्कमा आएकाको खोजी कार्यमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने व्यवस्था छ । अनुुगमन, मूल्यांकन तथा व्यवस्थापनमा संलग्न जनशक्तिले पनि जोखिम भत्ता पाउने निर्देशिकामा उल्लेख छ ।


नगरपालिकाका स्वास्थ्यकर्मीबाहेक अन्य कर्मचारीले स्वास्थ्यकर्मीलगायत अन्य जनशक्ति परिचालन अनुुगमन, मूल्यांकन तथा व्यवस्थापन गरेबापत जोखिम भत्ता लिएको हुन सक्ने बुुझिएको छ । तर, भत्ता प्राप्त गर्न पुुष्ट्याइँसहितको कार्यविधिअनुसार कागजपत्र पेस गरेको हुनुपर्छ ।


 
नगरप्रमुख पदम बडुवालले कार्यपालिकाले फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, सवारी चालक, क्वारेन्टाइनमा खटिएका कर्मचारीलाई स्रोत खोजेर रकम दिने निर्णण गरिएको बताए । अन्य कर्मचारीको हकमा प्रशासनले कसरी जोखिम भत्ता दिएको छ, यसबारे कुनै जानकारी नभएको उनको भनाइ छ । बिरामी र शव बोक्ने चालकले भत्ता नपाउनु दुःखद रहेको नगरप्रमुख बडुवालले बताए ।