close

सिदिङ्वाद्वारा मालसामान आपूर्तिका लागि सूचीकृत हुन आग्रह 

सिदिङ्वाद्वारा मालसामान आपूर्तिका लागि सूचीकृत हुन आग्रह 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चालू आर्थिक वर्षका लागि आवश्यक पर्ने मालसामान तथा सेवा खरिदका लागि सूची दर्ता तथा अद्यावधिक गर्न इजाजत प्राप्त, व्यक्ति, संस्था, फर्म, कम्पनी, आपूर्तिकर्ता तथा निर्माण व्यवसायीलाई सूचित गरेको छ ।


सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ तथा सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधनसहित) को नियम १८ बमोजिम निरन्तर सूचीकृत हुन सक्ने व्यवस्था रहेको भन्दै गाउँपालिकाले मालसामान आपूर्ति तथा मर्मत, परामर्श तथा अन्य सेवा उपलब्ध गराउन इच्छुकलाई सूचीकृत तथा अद्यावधिकका लागि आग्रह गरेको छ ।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनम लिङ्देन लिम्बूका अनुसार इच्छुक इजाजत प्राप्त व्यक्ति, संस्था, फर्म, कम्पनी, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता र गैरसरकारी संस्थाले तोकिएको ढाँचामा सार्वजनिक खरिद नियमावली, २०६४ (२)(क) अनुसार आवेदन दर्ता गर्नुपर्नेछ ।


यसअघि सूचीकृत सप्लार्यसले मौजुदा सूचीमा अद्यावधिक गर्न सक्नेसमेत गाउँपालिकाले जनाएको छ । एकभन्दा बढी शीर्षकमा सूची दर्ता गर्नुपरे छुट्टाछुट्टै र रीतपूर्वकको निवेदन पेस गर्न गाउँपालिकाले भनेको छ ।  रीत पूरा नभएको र प्रक्रिया नमिलेको निवेदन दर्ता नहुनेसमेत गाउँपालिकाले प्रस्ट्याएको छ । 


गाउँपालिकाले खरिद आपूर्ति तथा मर्मत सम्भारतर्फ स्टेसनरी, मसलन्द, पत्रपत्रिका र कार्यालयका लागि आवश्यक पर्ने अन्य सामग्री आपूर्ति, छपाइसम्बन्धी कार्य, कम्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर मोबाइलसहितका मेसिनरी औजार तथा इलेक्ट्रिक सामान आपूर्ति तथा मर्मत सम्भार, फर्निचर तथा फर्निसिङ सामान आपूर्ति तथा मर्मतसम्भारलाई सूचीकृत हुन आग्रह गरेको छ ।


यस्तै, सवारी साधन (दुई पांग्रे, चारपांग्रे) आपूर्ति, पाटपुर्जा तथा मर्मत, सार्वजनिक निर्माण तथा मर्मत (धारा, बिजुली, शौचालय) एवं रंगरोगनसम्बन्धी कार्य,सोलार जडान तथा आपूर्ति तथा मर्मत, कृषिजन्य बोटबिरुवा, जडीबुटी, विषादी, मल र औषधीसम्बन्धी, पशुजन्य जनावर, पक्षी, औषधीसम्बन्धी, स्थानीय सञ्चार माध्यमबाट सूचना तथा सन्देश प्रवाहसम्बन्धी र इन्टरनेट सेवा, वेबसाइट तथा नेटवर्किङसम्बन्धी सेवा आपूर्तिका लागि सूचीकृत तथा अद्यावधिक गर्न भनेको छ ।


यस्तै, परार्मश तथा अन्य सेवातर्फ कम्प्युटर-सूचना प्रविधिसम्बन्धी तालिम, सफ्टवेयर निर्माण, इमेल/इन्टरनेट/एसएमएस आपूर्ति, भवन सडकलगायतको डिपिआर (गुरुयोजना) तयारसम्बन्धी, तालिम,सीप विकास तथा गोष्ठी र सेमिनार सञ्चालनसम्बन्धी र विज्ञको परामर्श सेवा (प्रोफाइल, गुरुयोजनासम्बन्धी) सेवा आपूर्तिका लागि सूचीकृत हुन पालिकाले आह्वान गरेको छ । 


पालिकाले नवीकरणसहितको संस्था वा फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०७७÷७८ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र आवश्यकताअनुसारको व्यावसायिक इजाजतपत्रसमेत संलग्न राखी निवेदन दिनुपर्ने जनाएको छ ।