close

बसबरिया पालिकाको सेवा ६ दिनपछि सुचारु

बसबरिया पालिकाको सेवा ६ दिनपछि सुचारु

Trulli
ADVERTISEMENT

सर्लाही– पालिका कर्मचारीमाथि दुव्र्यवहार भएपछि बन्द रहेको सर्लाहीको बसबरिया गाउँपालिकाको सेवा ६ दिनपछि सुचारु भएको छ । पालिकामा कार्यरत कर्मचारीले आफूहरूमाथि हातपात भएको भन्दै काम रोकेर आन्लोनमा उत्रिएपछि सेवा प्रवाह ठप्प थियो ।


पालिकाका कर्मचारीले गत १ भदौमा माओवादी केन्द्रबाट गाउँपालिका प्रमुख प्रत्यासी बनेका रामविश्वास रायलगायतको समूहले दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।
 

पालिकाका कर्मचारी आन्दोलित भएपछि सेवाग्राही मारमा परेका थिए । सोही विषयमा सोमबार इलाका प्रहरी कार्यालय बरहथवामा दुवै पक्षबीच छलफलपछि मंगलबारबाट पालिकाको सेवा सुचारु भएको हो ।

 

आन्दोलित पालिकाका कर्मचारीले गत २ भदौमा पालिका कार्यालयमा पत्रकार सम्मेलन गरेर गाउँपालिकाको वडा नम्बर १ का रामविश्वास राय, वडा नम्बर ३ का चनु राय, उदय रायसहितको समूहले कार्यालयमा पसेर आफूहरूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।


कार्यालयमा कर्मचारीको सुरक्षा ग्यारेन्टी नभएको तथा काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले पालिकाको सबै सेवा ठप्प पारेका थिए । 

छलफलमा दुव्र्यवहार गर्ने पक्ष र गाउँपालिकाबीच सहमती भएकाले सेवा सञ्चालनमा ल्याईएकोे गाउँपालिका प्रमुख रामअयोधी यादवले जानकारी दिए । ‘पीडित पक्षसँग प्रहरी कार्यलयमा बसेर छलफल गर्‍यौँ , गाउँपालिका प्रमुख यादवले भने, उनीहरूले आइन्दा यस्तो हुलहुज्जत नगर्ने प्रतिबद्धता जनाएका छन् । हामीले पनि गाउँपालिकासँग सम्बन्धित कागजात चित्त नबुझेको विषय कार्यालयमा आए सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ ।’ 

 

हुलहुज्जतमा संलग्न भनिएका माओवादी केन्द्रका रायले आफूहरूले कर्मचारीमाथि कुनै दुव्र्यवहार नगरेको दाबी गरेका छन् । गाउँपालिकाले गरेका विकास निर्माणका गतिविधिमा आफूहरूले राखेको प्रश्न तथा माग गरेको विवरण पालिकाले नदिएपछि कर्मचारीलाई भेला पारेर कुरा राख्न मात्र खोजिएको रायले दाबी

गरे ।
 

‘गाउँपालिकाले विकासको नाममा व्यापक अनियमितता गरेको र पटक–पटक लिखित तथा मौखिक सूचना माग्दासमेत नदिएपछि यो घटना भएको हो’, रायले

भने ।