close

इलाका प्रशासनबाट तीन दिनमै १८२ जनाले लिए नागरिकता

इलाका प्रशासनबाट तीन दिनमै १८२ जनाले लिए नागरिकता

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय सर्केगाडमा नागरिकतालगायत सिफारिस लिने सेवाग्राहीको भीड लागेको छ ।
१९ देखि २१ भदौसम्म १८२ जनाले नागरिकता लिएको इलाका प्रशासन कार्यालय प्रमुख भीमबहादुर रोकायाले जानकारी दिए । 


१९ भदौबाट दोस्रो पटक नागरिकता वितरण सुरु गरेको इलाकाले सोमबारसम्म १६२ वटा नयाँ र २० वटा नागरिताको प्रतिलिपि वितरण गरेको रोकायाले बताए । 
जिल्लाको दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई लक्षित गरी स्थापित इलाका प्रशासनमार्फत अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड पालिकाका १८२ जना नागरिकले नागरिकता लिएका हुन् । 


उनका अनुसार तीन वटा पालिकाका नागरिकले इलाका प्रशासन सर्केगाडमा पुगेर सेवा लिए भए पनि ताँजाकोटका नागरिक अहिलेसम्म सेवा लिन आइनपुगेको रोकायाको भनाइ छ । 


यसैगरी १५ नाबालक परिचयपत्र र ५ वटा अन्य सिफारिस पनि वितरण गरिएको उनले बताए । इलाका प्रशासन सर्केगाडबाट सेवा दिन सुरु गरेपछि दक्षिणी भेगका नागरिक सदरमुकाम सीमकोट पुग्नुपर्ने बाध्यता हटेको छ । 


यसअघि दक्षिणी भेगका नागरिकले ४ दिनसम्मको पैदल हिँडेरै सीमकोट पुगेर नागरिकता लगायत अन्य प्रशासनिक सेवा लिनुपर्ने अवस्था थियो । साता दिनभन्दा बढी लाग्ने काम एक दिनमै सकिने भएपछि खुसी लागेको सर्केगाड वडा नम्बर ४ का कवीन्द्र शाहीले बताए ।


 
‘धेरै दिन लगाएर सीमकोट पुगे पनि विभिन्न झन्झटले काम नबन्ने र होटलमा बस्दा पैसासमेत धेरै खर्च हुने गथ्र्यो । तर, अब पैसा जोगिएको छ । गाउँमै सेवा लिन सहज भएको छ’, उनले भने ।