close

जगन्नाथ गाउँपालिका पुग्यो नागरिकता टोली 

जगन्नाथ गाउँपालिका पुग्यो नागरिकता टोली 

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको जगन्नाथ गाउँपालिकामा नेपाली नागरिकता वितरण शिविर सुरु भएको छ । जगन्नाथ पालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको सहजीकरणमा नागरिकता प्रमाणपत्र वितरण सुरु गरिएको जनगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए । नागरिकता वितरण गर्न जिल्लाबाट टोली जगन्नाथ गाउँपालिका आएको हो ।


बिहीबार सुरु भएको नागरिकता वितरणमा सेवाग्राहीको चाप हेरेर २–३ दिनसम्म समय लाग्ने जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अपरेटर नैन रावलले बताए ।  उनका अनुसार जिल्ला प्रशासन आउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका, अपांगता, अशक्तलगायतलाई नागरिकता वितरण गरिनेछ । शिविरमा नयाँ नागरिकता पनि वितरण गरिनेछ । नागरिकता वितरणसँगै मतदाता नामावली दर्ता गरिनेछ ।

 

मतदाता नामावलीमा वडा फरक परेका व्यक्तिले जिल्ला निर्वाचन कार्यालय बाजुरामै गएर सच्याउनुपर्ने जोशीले बताए । नागरिकताको प्रतिलिपि लिन भने जिल्ला प्रशासन कार्यालय बाजुरामै जानुपर्नेछ ।

 

शिविर पालिकाको कार्यालय जुड्डीमा सुरु भएको छ । गाउँपालिकामै आएर जिल्ला प्रशासन कार्यालय बाजुराको टोलीले नागरिकता वितरण सुरु गरेपछि स्थानीयलाई सहज भएको छ । पहिलो दिनमै ८५ वटा नागरिकता र ५१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।