close

दोगडाकेदारमा एकै पटक ११ कर्मचारी सरुवा भएपछि पालिका प्रशासन ठप्प

दोगडाकेदारमा एकै पटक ११ कर्मचारी सरुवा भएपछि पालिका प्रशासन ठप्प

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ कर्मचारीको सरुवा गरिएपछि पालिकालाई प्रशासनिक काममा अवरोध भएको छ । संघीय सरकारले हालै ल्याएको नयाँ नीतिमा स्थानीय तहका कर्मचारी सरुवा खुला गरेपछि दोगडाकेदारका ११ कर्मचारीको एकैपटक सरुवा भएको हो ।

 

पालिकामा कार्यरत १ इन्जिनियर, २ ओभरसियर तथा १ सब–ओभरसियर, ५ जना वडा सचिव, १ आइटी अफिसर र १ आन्तरिक लेखा परीक्षकको एकैपटक सरुवा भएको गाउँपालिकाले जनाएको छ ।

 

कर्मचारीको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुस्किल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । उनले भने, ‘बैतडीका पालिकामध्ये पहिलो पटक कर्मचारी भर्ना गर्ने हामी नै हौँ । हालसम्म सरुवा रोकेको हुँदा कर्मचारी अभाव थिएन । तर, अहिले संघीय सरकारले नबुझेरै ल्याएको नीतिका कारण कर्मचारीको सरुवा भयो । अहिले हामीलाई काम गर्न असहज भएको छ ।’ 

 

केही पदमा करारका कर्मचारी भर्ना गर्न सकिने भए पनि इन्जिनियर र वडा सचिव पदपूर्तिमा समस्या हुने अध्यक्ष कार्कीले बताए । नयाँ भर्ना गरेकामध्ये ३ जनाबाहेक सबै कर्मचारी सरुवा भएको उनले जानकारी दिए ।


दोगडाकेदारका ८ मध्ये वडा नम्बर १ बाहेकका सबै वडा सचिवविहीन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रवीन्द्रबहादुर धामीले बताए । कामको चाप बढेका बेला कर्मचारी सरुवा हँुदा सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ ।