close

जयपृथ्वी नगरपालिकाको प्रशासनिक सेवा ठप्प

जयपृथ्वी नगरपालिकाको प्रशासनिक सेवा ठप्प

Trulli
ADVERTISEMENT

बझाङ– बझाङको जयपृथ्वी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज प्रभावित भएको छ । जयपृथ्वी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका मंगलबहादुर शाहीको उपसचिवमा बढुवासँगै सरुवा भएपछि नगरको कामकाज प्रभावित भएको हो ।


असोजपछि नगरपालिकाको आर्थिक तथा अन्य कामकाज हुनसकेको छैन । कामका लागि नगरपालिका पुग्ने सेवाग्राही रित्तो हात घर फर्किने गरेका छन् ।


जयपृथ्वी नगरपालिका वडा नम्बर ५ का झलकबहादुर सिंहले आफ्नो कामका लागि दसौँ पटक बढी नगरपालिका पुगेको तर प्रमुख प्रशासकीय अधिकृत नभएका कारण रित्तो हात फिर्ता हुनु परेको गुनासो गरे । उनले भने,‘सम्झौता भएको रकम लिनुपर्ने थियो । पटक–पटक नगरपालिका पुगेर फिर्ता हुनुपरेको छ । जति पटक नगरपालिका पुग्दा पनि हाकिम भेटिनुहुन्न । धेरैजसो सेवाग्राही मारमा परेका छन् ।’  प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको दुई महिना पुग्दासमेत अर्को प्रमुख प्रशासकीय अधिकृत नपुग्दा थुप्रै सेवाग्राही मर्कामा परेका छन् । 


नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत शाही अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन् । जयपृथ्वी नगरपालिकाको निमित्तको जिम्मा लालबहादुर खातीलाई दिइएको छ । निमित्तलाई जिम्मा दिइए पनि आर्थिक कार्यभार नपाएका कारण नगरपालिकाभित्र हुने आर्थिक तथा अन्य कामकाज प्रभावित भएको छ ।


स्थानीय केन्द्रबहादुर विष्टले भने, ‘एउटा भएको प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा अर्कोलाई तत्कालै पठाउनुपथ्र्यो । नभए सरुवा नै नगरेको भए कामकाज प्रभावित हुने थिएन । कि निमित्तलाई नै सबै जिम्मेवारी दिएको भए सेवाग्राहीलाई समस्या हुने थिएन ।’

 

प्रमुख प्रशासकीय अधिकृत नभएका कारण योजनाका कामसमेत लथालिंग भएको जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दलबहादुर विष्टले बताए । उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलब पाएका छैनन् । योजनाका काम गरेकाले भुत्तानी लिन सकेका छैनन् । नगरपालिकाका सबै कामकाज लथालिंक भए । कर्मचारी पनि कार्यालय प्रमुख नहुँदा घाम तापेर घर फर्कनुपर्ने अवस्था छ ।’ 


निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले केही काम प्रभावित बने पनि अहिले योजनाका काम सम्झौता गर्ने प्रक्रिया गरिरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत भए सबै काम सहज तरिकाले गर्न सकिने उनको भनाइ छ । 


जयपृथ्वी नगरपालिकाभरि झन्डै १२ सय बढी योजना रहेका छन् । बझाङमा रहेका २ नगरपालिका र १० गाउँपालिका गरी १२ वटा पालिका तह छन् । यीमध्ये सबै पालिका तह निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भइरहेका छन् ।