close

सार्वजनिक सेवा पाउन खोप कार्ड अनिवार्य भएपछि खोप लगाउनेको भीड 

सार्वजनिक सेवा पाउन खोप कार्ड अनिवार्य भएपछि खोप लगाउनेको भीड 

Trulli
ADVERTISEMENT

जुम्ला–सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यको नीति लिएपछि जुम्लामा कोरोनाविरुद्धको खोप लगाउन नागरिकको भीड लाग्न थालेको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखामा कोरोनाविरुद्धको खोप लगाउनेको भीड लागेको हो । 


चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार २/३ दिनदेखि शाखामा कोरोनाविरुद्धको खोप लगाउनेको भीड बढेको छ । चन्दननाथभन्दा पनि बाहिर गाउँपालिकाका धेरै नागरिक खोप लगाउन आउने गरेका छन् । उनले भने, ‘नगरपालिकाको जनसंख्या २४ हजार जति छ । तर, यो शाखाले २२ हजार बढी नागरिकलाई खोप लगाइसकेको छ ।’ 

 

आइतबार ४२४ जनालाई भेरोसिल पहिलो डोज र ६४ जनालाई दोस्रो खोप लगाइएको छ भने सोमबार ३३४ जनालाई भेरोसिल र २१ जनालाई दोस्रो डोज कोभिसिल खोप लगाइएको छ ।  अझै २/३ दिन खोप लगाउने काम जारी रहने शाखाले जनाएको छ ।  कोरोना महामारीबाट बच्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले सबै नागकिरलाई खोप लगाउन आग्रह गरेको छ । २७ पुसमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो ।

 

सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ ।  सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थिति हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न कोभिड संकट व्यवस्थापन समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसार्इंले बताइन् । 


यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ । ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

 

कोभिडविरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन आध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले बताएको छ । 

 

संक्रमणको दोस्रो लहरमा २३ जनाको मृत्यु 


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० वैशाख ०७७ देखि कोभिड परीक्षण ल्याब सञ्चालनमा आएको छ । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको छ । यसमध्ये ४ सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो । दोस्रो लहरमा जुम्लामा ०७८ वैशाखदेखि संक्रमण देखिएको हो । 

 

३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ जनामा संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएका थिए ।  १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । 


जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेका छन् ।