close

क्रसर उद्योगमा गाउँपालिकाले लगायो ताला

क्रसर उद्योगमा गाउँपालिकाले लगायो ताला

Trulli
ADVERTISEMENT

मकवानपुर । गाउँपालिकालाई राजस्व रकम नबुझाएका क्रसर उद्योगमा गाउँपालिकाले ताला लगाइदिएको छ ।

नदीजन्य पदार्थ उत्खनन् गरेर राजस्व रकम नतिरेको भन्दै क्रसर उद्योगमा मकवानपुरगढी गाउँपालिका कार्यालयले शनिबार पाँचवटा क्रसरमा ताला लगाएको हो ।

गाउँपालिकालाई साईबाबा क्रसर उद्योगले २८ लाख , आमभञ्याङ एग्रिगेटले २८ लाख, सामरी खोला बालुवा उद्योगले ४५ लाख, आधुनिक नमुना क्रसरले २३ लाख र नमुना बालुवा उद्योगले ३० लाख रुपैयाँ राजस्व बक्यौता रकम बुझाउन बाँकी छ ।

उनीहरूलाई गाउँपालिकाले पटक–पटक ताकेता गर्दा पनि बक्यौता नतिरेको गाउँपालिका अध्यक्ष मानकुमारी पाख्रिनले जानकारी दिइन् ।

क्रसरहरूले बक्यौता नर्तिदा गाउँपालिकाले आन्तरिक बजेटबाट सम्पन्न भएका योजनाको भुक्तानी दिन सकेको छैन ।

उपभोक्ता समितिहरूले गाउँपालिकाहरूलाई भुक्तानी दिन दबाब दिएपछि आन्तरिक स्रोतमा बजेट नभएको राजस्व शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । गाउँपालिकाको आन्तरिक स्रोत रित्तिँदा सम्पन्न योजनाको भुक्तानी दिन नसकेपछि गाउँपालिकाले क्रसर उद्योगहरूमा ताला लगाएको हो ।

शनिबार गाउँपालिकाकी उपाध्यक्ष पाख्रिनको संयोजकत्वमा वडा नम्बर–५ र वडा नम्बर–६ का अध्यक्ष र प्रहरीसहितको टोलीले राजस्व बक्यौता रकम नतिर्ने क्रसर उद्योगहरूमा ताला लगाइदिएको हो ।

पटक–पटक समय थप गरेर उद्योगीहरूसँग छलफल गर्दासमेत राजस्वको बक्यौता रकम नतिर्ने क्रसर उद्योगहरूमा ताला लगाइएको गाउँपालिका उपाध्यक्ष पाख्रिनले जानकारी दिइन् ।