close

सरुवाको मारमा परेकी एक गर्भवतीको पीडा

सरुवाको मारमा परेकी एक गर्भवतीको पीडा

Trulli
ADVERTISEMENT

कपिलवस्तु । शिवराज नगरपालिकाले चार महिने गर्भवतीलाई पालिकाको सबैभन्दा दुर्गम क्षेत्रमा सरुवा गरिदिएपछि करारमा कार्यरत अनमी सपना गिरी समस्यामा परेकी छन् । 

गत तीन वर्षदेखि पालिकामा अनमीको रुपमा कार्यरत सपना गिरीलाई गत साउन ३० गते बसेको कार्यपालिकाको निर्णय अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले सरुवा गरेका थिए । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्याल स्याङ्जाको पुतलीबजार नगरपालिकामा सरुवा भएर गइसकेका छन् । 

पालिका खबरसँग सम्पर्कमा आएकी अनमी गिरीले भनिन्, ‘म अहिले चार महिने गर्भवती छु । यसअघि पनि मेरो गर्भ खेर गएको हुँदा यसपालि खेर नजाओस् भन्ने चाहान्छु । तर मानवीय संवेदना नहेरी मेरो सरुवा गरियो ।’ उनले दु:खेसो पोखिन् । 

कर्मचारी भएकोले सरुवाको प्रक्रियालाई उनी नियमित नै मान्छन् । तर सरुवाको नाउँमा गर्भवती महिलालाई टाढा र दुर्गम क्षेत्रमा पुर्‍याउनु अन्याय भएको उनले बताइन् । उनको घर सोही नगरपालिकाको-९ धानखोलामा पर्छ । उनीसँग निजी सवारीसाधन छैन भने त्यहाँ नियमित सार्वजनिक सवारी पनि चल्दैन तर उनी दैनिक ४० किलोमिटर यात्रा गर्न बाध्य छिन् । ‘म विगत तीन वर्षदेखि नगरपालिकामा अनमीको रुपमा काम गर्दै आएकी छु । सुरुदेखि हालसम्म गाउँकै स्वास्थ्य चौकीमा काम गर्दै आएँ,’ उनले पालिका खबरसँग भनिन्, ‘तर अहिले वडा नम्बर १० को लालपुर स्वास्थ्य चौकीमा पुर्‍याइदिएका छन् ।’ 

उनका अनुसार घरदेखि कार्यालयको यात्रा गर्न दुई वटा बस र एक घण्टा पैदल हिड्नुपर्छ । ‘आउजाउका लागि मात्रै ४०० रुपैयाँ गाडी भाडा तिर्नुपर्छ ।’ उनले पालिका खबरसँग भनिन् । आफ्नो सरुवाको विषयमा लिएर पटक-पटक मेयर’साब र वडाध्यक्षलाई गुनासोसमेत गरेको बताइन् । तर उजीहरूबाट आश्वासन बाहेक अरु केही नपाएको अनमी गिरीले गुनासो गरिन् ।

‘मेयरसाबलाई भेट्नसमेत पाएकी छैन । उहाँको नजिकको मान्छेलाई भन्न लगाएकी थिए । मेयरसाब र वडाध्यक्षले दश/पन्ध्र दिन काम गर्नू, हामी मिलाउछौं, भन्नुभयो ।’ उनले भनिन् । तर सरुवा भएको २३ दिन बितिसक्दा पनि कुनै जानकारी नआएको उनले बताइन्। 

आफूलाई राजनीतिक कारणले दुर्गम क्षेत्रमा सरुवा गरिएको उनको आरोप छ । ३ वर्ष अगाडि वडा नम्बर ९ का तत्कालीन वडाध्यक्ष चुरबहादुर खड्काको सहयोगमा आफूले पालिकामा करारमा सेवा गरेको बताइन् । ‘पालिकामा अनमी कर्मचारी माग गरेको रहेछ । उहाँको पालामा नाम निकाले र घरपायक स्वास्थ्य चौकीमा जागिर सुरु गरे,’ उनले भनिन । 

पालिकाकी उपमेयर शिवकुमारी चौधरीका अनुसार कार्यपालिकामा सरुवाको बारेमा छलफल भएको थियो । तर कसलाई, कहाँ, कसरी सरुवा गर्ने भन्ने विषय प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीभित्र परेको हुँदा आफू यसबारेमा जानकार नभएको बताइन् । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले कार्यक्षमताको आधारमा अनमी गिरीलाई सरुवा गरिएको स्वीकार गरे । 'उहाँको शारीरिक अवस्थाबारे आफूलाई जानकारी नभएको र यसबारे थाहा पाएको भए नजिकको स्वास्थ्य चौकीमा सरुवा गर्न सकिन्थ्यो,' उनले पालिका खबरसँग भने । 

कर्मचारी सरुवालाई नियमित पक्रियाको रुपमा लिनुपर्ने नगरपालिका नगरप्रमुख अजय थापाले बताए । पालिका खबरसँग टेलिफोनमार्फत सम्पर्कमा नगरप्रमुख थापाले यो सामान्य प्रक्रिया रहेको बताए । ‘यो सामान्य विषय हो । यसलाई ठूलो विषय बनाउन आवश्यक छैन,’ उनले भने, ‘प्रशासकीय अधिकृतलाई पनि उहाँको गर्भवती अवस्थाबारे जानकारी नभएको हुन सक्छ । हामी चाँडै बुझेर कुरा गर्नेछौँ ।’
 
उसो त  सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ गर्भवती महिलाको स्वास्थ्य सुरक्षाको प्रावधान गरेको छ । तर राजनीतिक कारणले गर्भवती महिलालाई दुर्गम क्षेत्रमा सरुवा गर्दा मानवीय संवेदनशीलताबारे चासो नगरिँदा आफू मारमा परेको गिरीले बताइन् । 

पालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईका अनुसार नगरपालिकाको कार्यपालिका बैठकमार्फत नै सो क्षेत्रमा सरुवा गरिएको हो । अनमी गिरीको कार्यसम्पादन मूल्यांकनमा पनि समस्या हुँदै आएको उनको भनाइ छ । उनका अनुसार कसैले व्यक्तिगत रिसाइबीका कारण नभएको दाबी गरे । 

भट्टराईका अनुसार अनमी गिरी वडा नम्बर ९ को स्वास्थ्य संस्थामा कार्यरत रहँदा निःशुल्क औषधि बिक्री गर्ने, बिरामीलाई अभद्र व्यवहार गर्ने, डिपो इन्जेक्सनको समेत शुल्क लिने र स्थानीय तहको चुनावमा काम छाडेर पार्टीको प्रचारप्रसारमा लागेको उनको आरोप छ । 

सो विषयलाई लिएर वडा नम्बर ९ का स्थानीयबाट पटक-पटक गुनासोका साथै सरुवाको माग आएको थियो । कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप गरेकोले सरुवाको विकल्प नरहेको उनले बताए । ‘उहाँको मात्र सरुवा गरिएको होइन । तर उहाँलाई धेरै टाढा भएको चाहिँ सत्य हो । तर निर्णय भएको बेला म बिदामा थिएँ ।’ उनले भने ।