close

जनप्रतिनिधिज्यू, बजेटबारे खोई शाखाका कर्मचारीलाई जानकारी ?

जनप्रतिनिधिज्यू, बजेटबारे खोई शाखाका कर्मचारीलाई जानकारी ?

Trulli
ADVERTISEMENT

सिराहा - नहरा गाउँपालिकाको कर्मचारीलाई आफ्नो शाखाको योजनाबारे जानकारी नै छैन । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को लागि गत असार महिनामै बजेट पारित गरेपनि हालसम्म कर्मचारीलाई योजनाबारे जानकारी नभएको हो । 

गाउँपालिकाको कृषि क्षेत्रको योजना तथा कार्यक्रमबारे जानकारीका लागि पालिका खबरले कृषि शाखाका प्रमुख राम प्रकाश यादवसँग सम्पर्क गर्दा उनले भने, ‘हामीलाई योजना र बजेटबारे कुनै कागज वा किताब पाएका छैनौँ । कागज हातमा परेपछि मात्रै हामीले योजनाबारे थाहा हुन्छ ।’ उनले बजेटको लागि पालिकाले योजना माग गरेको र सोही अनुरुप आवश्यक बजेट तथा योजना माग गरेको उनले पालिका खबरलाई सुनाए । 

गाउँ कार्यपालिका भवन र आफ्नो शाखा करिब डेढ किलोमिटर फरक रहेकाले पनि योजनाबारे आफूलाई जानकारी नभएको उनले बताए । आफूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग योजनाबारे जानकारी माग गर्दा किताब तयार हुन बाँकी रहेको जानकारी पाएको उनले बताए ।

चालू आवकाे बजेट र याेजनालाई गाउँपालिकाकाे वेभसाइटमा राखेकाे माैखिक जानकारी पाएकाे उनले बताए । तर आफूले माेबाइलबाट हेर्दा गाउँपालिकाकाे वेभसाइटमा नभेटाएकाे उनकाे गुनासाे छ ।  उनका अनुसार गाउँपालिकाले गत आर्थिक वर्षको योजनाबारे रातो किताब प्रकासित गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले योजनाको किताब प्रकासन गर्नमा ढिलाई भएकोले शाखाका कर्मचारीलाई जानकारी नभएको स्वीकार गरे । केही दिनमै योजनाको किताब प्रकासित हुने र शाखाका कर्मचारीलाई वितरण गर्ने उनको भनाइ छ । 

वर्षा तथा खेतमा धान हुने भएकाले कृषिको कार्यक्रम दशैँपछि मात्रै सुरु हुने उनले सुनाए । ‘अहिले खेतमा धान छ । सिँचाइ वा मेसिन जडान गर्ने अवस्था छैन,’ उनले भने, ‘दशैंपछि मात्रै कार्यक्रम सुरु हुन्छ । किताब तयार हुने बित्तिकै शाखाका कर्मचारीलाई वितरण गर्ने छौँ । र, कार्यक्रम सञ्चालन हुने छ ।’

उनले गाउँपालिकाले कृषि, शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको सुनाए । कृषिको लागि सिँचाइ, वीउ वितरण तथा विषाधी वितरणको लागि नीति बनाएको उनले भनाइ छ ।