close

महानगरले संयुक्त राष्ट्रसङ्घका महासचिवको भव्य स्वागत गर्ने

महानगरले संयुक्त राष्ट्रसङ्घका महासचिवको भव्य स्वागत गर्ने

Trulli
ADVERTISEMENT

कास्की- आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्रेसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा । 

पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखरा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसजस्तो अतिविशिष्ट व्यक्तिको स्वागतको पर्खाइमा छ ।

नेपालको औपचारिक भ्रमण रहनुभएका महासचिव गुटेरेसको भ्रमण तालिकामा पोखरा पर्नुले पोखरेलीहरू गौरवान्वित बनेका छन् । महासचिव गुटेरेस दिउँसो आउनुहुने कार्यक्रम रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । 

महासचिवको भ्रमण पोखरेलीका लागि ठूलो गौरवको विषय भएको उल्लेख गर्दै महानगर प्रमुख आचार्यले आफूहरू उनको भव्य स्वागतको प्रतिक्षामा रहेको बताए । 

कार्यक्रमअनुसार महासचिव गुटेरेस नेपाली सेनाको विमानबाट पोखरा आउनेछन् । उनी सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण हुनेछ । विमानस्थलको १ नं वे मा विमान अवतरण भएसँगै उनलाई सोही स्थानमा पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्वागत गर्ने कार्यक्रम छ । 

विमानस्थल परिसरमा पोखराको संस्कृति झल्कने झाँकीसहित पोखरेलीवासीका तर्फबाट उनको भव्य स्वागत गर्ने कार्यक्रम तय भएको महानगरप्रमुख आचार्यले जानकारी गराए । 

महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । महासचिव गुटेरेस मङ्गलबार बिहान ६:३० बजे नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने बताइएको  छ । अन्नपूर्ण आधार शिविरमा छोम्रोङ पर्यटन समितिले उनको स्वागतका लागि तयारी गरेको सचिव दिलीप गुरुङले जानकारी दिए ।