close

आधुनिकताले बिगारेको पिण्डेश्वर मन्दिर फेरि उभियो प्राचीन स्वरूपमा

आधुनिकताले बिगारेको पिण्डेश्वर मन्दिर फेरि उभियो प्राचीन स्वरूपमा

Trulli
ADVERTISEMENT

बाह्रौँ शताब्दीमा बनेको मानिने धरान स्थित पिण्डेश्वर मन्दिरको प्राचीन स्वरूपलाई पुनर्स्थापना गरिएको छ। ठुल्ठूला ढुङ्गाले बनेको मुख्य मन्दिरमा पछिल्लो कालखण्डमा सिमेन्टको प्लास्टर सहित रङ्गरोगन गरिँदै आउँदा यसको मौलिक स्वरूप छोपिएको थियो। पुरातत्त्व विभागले पहिलो पटक जीर्णोद्धारका लागि बजेट छुट्याइएको पिण्डेश्वर मन्दिरलाई मौलिक स्वरूप दिइएको हो।

मन्दिर परिसरमा संवत् १२५२ मा पहिलो पटक चढाएको घण्ट छ। घण्टमा लेखिएको अङ्क बुझिए पनि लिपि बुझिन्न। नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले विक्रम संवत् १८८४ मा चढाएको घण्ट छ। उक्त सम्वतलाई आधार मान्दा पिण्डेश्वर मन्दिरको निर्माण बराहक्षेत्र मन्दिर भन्दा अगावै भएको अनुमान इतिहासकारहरूले गरेका छन्। विक्रम संवत् १९९० सालको भुइँचालोमा भत्किए पछि १९९१ सालमा बराहक्षेत्र मन्दिरको पुनर्निर्माण प्रधानमन्त्री जुद्ध शमशेरले गराएको शिलालेख छ।

पिण्डेश्वर परिसर स्थित छुट्टै मन्दिरमा रहेको बाह्रौँ शताब्दीको अष्टभुजा भगवतीको मूर्ति (पञ्चायतकालमा चोरी भएको) सहित परिसरमा पुरातात्त्विक महत्त्वका निकै प्राचीन मूर्तिहरू छन्। मन्दिरका एक पुजारी गोकुल पोखरेलका अनुसार  नब्बे सालको भूकम्पले पनि मन्दिरको प्राचीन संरचनालाई कुनै क्षति पुर्‍याएको सुनिएको छैन। रङ्गरोगनले छोपिएको ठुला ठुला डुङ्गाबाट निर्मित पिण्डेश्वरको मुख्य मन्दिर अहिले पहिलाको जस्तै देखिने बनाइएको छ।

धरान उपमहानगरपालिका इन्जिनियर हस्त राईले पोहोर साल गरेको प्राविधिक अध्ययनमा मन्दिर ४८ इन्च मोटाइ ५२ इन्च चौडाइ व्यासमा कटिङ गरिएको सग्लो ढुङ्गाको पर्खालले बनेको पाइएको छ। मन्दिरको गुम्बज पनि ढुङ्गाले बनेको छ। रातो रङ्ग लगाइएको ढोकाको चौखट समेत ढुङ्गाले बनेको छ। मन्दिर बनेको पर्खालमा ढुङ्गा जोड्न कुनै पदार्थ प्रयोग गरिएको छैन। राईका अनुसार पछि सिमेन्टको प्लास्टर गरिएकाले झट्ट हेर्दा मुख्य मन्दिर अन्य नयाँ मन्दिरहरू जस्तै सामान्य देखिँदै आएको थियो।

जीर्णोद्धार कार्यमा खटिरहेका कामदार राजन राईका अनुसार मुख्य मन्दिरको बाहिरी भागमा लगाइएको प्लास्टर सुरक्षित ढङ्गमै सफा गर्न मात्र कुल १४ दिन लाग्यो। बाह्रौँ शताब्दीको शैलीमा बनेको गुम्बजको चौतर्फी फेदीमा १२८ वटा शिव भगवानका नन्दी लगायत भूतप्रेतका आकृतिहरू सबै रङ्गरोगनले पुरिएका थिए। ती कलात्मक ससाना मूर्तिहरूको आकृतिहरू मिहिनेतका साथ अहिले प्रस्ट देखिने बनाइएका छन्।

पुजारी पोखरेलका अनुसार उक्त जीर्णोद्धार कार्यका लागि पुरातत्त्व विभागले १० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ। विभागबाटै टेन्डर आव्हान गरी ठेकेदार मार्फत काम गराइएको बताउँदै उनले भने, ‘पहिलेदेखि जीर्णोद्धारका लागि आग्रह गर्दै आएको काम भने भएन।’

मुख्य मन्दिर ढुङ्गाको बलियो भएपनि पछिबाट इट्टा, सुर्कीचुनाले बनेको अनुमान गरिएको ७ वटा देवालय कोठाहरू सहितको परिक्रमास्थल पटक पटकको भूकम्पले जीर्ण बनिसकेको छ।

उनका अनुसार परिक्रमास्थलमा ५० जना मानिस पनि अट्दैनन्। परिक्रमास्थल जीर्णोद्धार गरी फराकिलो बनाइदिन पुरातत्त्व विभागलाई पटक पटक आग्रह गर्दै आएको पोखरेलको भनाइ छ। नन्दी मुख्य मन्दिरको द्वार अघि हुनुपर्नेमा बाहिर पुगेको छ। भौतिक संरचना जथाभावी बनाउँदा ढोका बाहिर परिएको छ।

उनी भन्छन्, ‘नन्दीलाई मुख्य मन्दिर अघि पर्नेगरी परिक्रमास्थल भित्र पर्ने गरी जीर्णोद्धार हुनुपर्दछ।’ तर, विभागको स्वीकृति बिना परिक्रमास्थल क्षेत्रमा मर्मतको काम गर्न पाइन्न।

तीन दशक यता पिण्डेश्वर मन्दिर बाबाधामको रूपमा प्रसिद्ध भई बर्सेनि साउनको प्रत्येक सोमवार एकै दिन दशौँ हजार श्रद्धालुहरू सप्तकोसीको जल लिएर अभिषेकका लागि आउने गर्दछन्। मुख्य मन्दिरसँगै जोडेर विभिन्न संरचना बनेकाले दर्शनार्थीलाई परिसरमा व्यवस्थित गर्न कठिन हुँदै गएको छ। यसरी आउने तीर्थालुहरूको संख्या कोरोना काल अघि बर्सेनि ५ लाखको हाराहारीमा पुग्ने गरेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ। कोरोना महामारी पछि यसपालि बोलबम मेलाका लागि पिण्डेश्वरमा तयारीका साथै बाहिरी जिल्लाहरूमा प्रचारका कार्य थालिएको छ।

‍नेपालको पर्यटनको मुख्य आधार हिमाल पछि धार्मिकस्थल, ऐतिहासिक, पुरातात्त्विक स्थलहरू नै देखिएका छन्। तर काठमाडौँ बाहिरको महत्त्वपूर्ण तीर्थस्थलहरूको पूर्वाधारको विकास, सम्भार र जीर्णोद्धार भने उपेक्षित छन्। नेपालमा धार्मिक पर्यटनको नयाँ लहर सुरुआत गरेको पिण्डेश्वर बाबाधामले पूर्वमा पर्यटनको उद्धार त गरे, जीर्णोद्धार नहुँदा उसैको भने उद्धार हुनसकेको छैन।

पूर्वीय धर्मशास्त्रहरूमा महादेव शिवलाई अलौकिक शक्तिशालीका रुपमा वर्णन गरिएको छ। शिवले देवदानव युद्धमा  पराजित भएपछि पृथ्वी मथेर अमृत निकाल्दा बनेको कालकुट विष पिए। मानव उद्धारका लागि उनले निलकण्ठ अवतार लिएको वर्णन गरिन्छ। त्यही अमृतपिण्ड बाट शिवले आफै स्थापना गरेको आस्थाका कारण साउन महिनामा यो ठाउँ हेर्न आउनेहरू एक किलोमिटर लामो लाइनमा उभिएका देखिन्छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार