close

जनकपुरमा मंगलबार होली पर्व मनाउन महन्तको अपिल

जनकपुरमा मंगलबार होली पर्व मनाउन महन्तको अपिल

Trulli
ADVERTISEMENT

धनुषा- एक आपसमा भएका शत्रुता भुलेर रङ अबिर लगाएर होली पर्व मनाइन्छ । यसवर्ष पहाडमा आज (आइतवार) र तराईरमधेशमा भोली (सोमवार) मनाइँदैछ । जनकपुरधामबासी भने होली कहिले मनाउनेमा अन्यौलमा छन् ।

१५ दिने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा विधिवत सम्पन्न भएको विहानपल्ट जनकपुरधाममा होली मनाउने चलन छ । आइतबार परिक्रमा जनकपुरधाम आइपुग्छ । फागु पूर्णिमाको दिन सोमवार अन्तरगृह परिक्रमा गरिनेछ ।

परिक्रमालाई आधार मान्ने हो भने जनकपुरधामबासीले होली मंगलवार मनाउनुपर्ने हो । तर यहाँका अधिकतम व्यक्तिले होली बुधवार मनाउने बताउँछन् । मंगलवार जनकपुरधामका प्रायः व्यक्ति ‘मंगलवारी ब्रत’ बस्छन् अर्थात् माछामासु खादैनन् । त्यसैले ब्रत बस्नेहरु मंगलवार होली मनाउन चाहेका छैनन् ।

होली कहिले मनाउने विषयमा फरक फरक कुरा आएपछि जानकी मन्दिरका छोटा महन्त रामरोषण दासले भिडिओ सन्देश जारी गरेर मंगलवार नै होली मनाउन नगरबासीसँग अपिल गरेका छन् ।

‘खानपानकै लागि होली बुधवार मनाउने तर्क उपयुक्त होइन्,’ उनले भनेका छन्, ‘जनकपुरको होली परिक्रमासँग जोडिएको छ । यस अनुसार होली मंगलबार हुनेछ । होली महोत्सव सीतारामको रंग हो । त्यसैले मंगलबार नै मनाउन अपिल गर्छु ।’

यहाँ साधुसन्त र महन्तहरु मंगलवार नै होली मनाउन अपिल गरिएपनि नगरबासी मान्न तयार देखिएका छैनन् । तर ९५ प्रतिशतले होली बुधवार मनाउँने तयारीमा छन् ‌। धेरैले मंगलवार माछा, मासु र मदिरा खादैनन्, त्यसैले पर्व नै एकदिन सार्न खोजिएको छ ।