close

सङ्क्रान्तिमा बनेपा सांस्कृतिक महोत्सव

सङ्क्रान्तिमा बनेपा सांस्कृतिक महोत्सव

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। ‘पूर्व एक नम्बर’मा पर्ने प्राचीन सहर बनेपा (भ्वतः)को ऐतिहासिक सम्पदालाई उजागर गर्न आउँदो माघे सङ्क्रान्तिका दिन महोत्सव आयोजना गरिने भएको छ । स्थानीय युवा समूहले प्राचीन सहर बनेपालाई विश्वमा चिनाउने अभियानलाई निरन्तरता दिन उक्त दिन महोत्सव आयोजना गरेका हुन् ।

उक्त दिन स्थानीय तह, सङ्घसंस्था र उद्योगी–व्यापारीको सहयोगबाट बनेपालाई विश्वसामू प्रचार गर्न महोत्सव आयोजना गरिएको स्थानीय युवा उद्यमी मञ्चका अध्यक्ष सरोजकाजी श्रेष्ठले बताए। उनका अनुसार बनेपालाई आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गराउन यो महोत्सव आधारशिलाका रुपमा रहनेछ । 

स्थानीय दरबार, चोक, मन्दिर तथा आसपासका जङ्गलका छुटृाछुटृै महत्व भए पनि प्रचार प्रसारकको अभावले ती सम्पदा ओझेलमा परेको बताइन्छ । बनेपा सहरको पूर्वमा ‘रक्तचन्दन’ भनिने चण्डेश्वरी जङ्गल, उत्तरमा थाङगू जङ्गल र दक्षिणमा क्वःगु जङ्गलको छुटृै विशेषता रहेको छ । काठमाडौँबाट २५ किलोमिटरको दूरीमा अवस्थित ऐतिहासिक सहर बनेपा समुद्री सतहदेखि चार हजार आठ सय फिट उचाइमा रहेको सानो रमणीय उपत्यका हो । काभ्रेपलाञ्चोक मात्रै नभएर पूर्वी नेपाल आउनेजाने ढोकाका रुपमा परिचित छ बनेपा ।      

उक्त महोत्सवमार्फत संरक्षित सम्पदा क्षेत्रका रुपमा अघि बढाउन मागसमेत गरिने आयोजकको जिकिर छ । महोत्सवमा लायकू दरबारमा सांस्कृतिक बाजागाजा, लायकू डबली र चोकमा सांस्कृतिक नाचगान, पोखरी गल्ली चोकमा बनेपा चिनाउने ऐतिहासिक फोटो प्रदर्शनी गरिनेछ । 

यस्तै हरेक चोक, टोलमा नेवारी खानाको स्टलसँगै बनेपा चिनाउने पुस्तक, बहिबहमा रन्जना लिपि लेखन, बाखः न्यनेगू वा कथा सुनाउने कार्यक्रम थानपती मन्दिरमा आयोजना गरिनेछ । स्थानीय उत्पादनको प्रदर्शनीसँगै पोटे गुठीमा नेवाः सुकुल भोज आयोजना गरिने श्रेष्ठले बताए। 

स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार नेपालभाषामा ‘बने’ले व्यापार र ‘पा’ले बस्ती भन्ने बुझाउने भएकाले बनेपा व्यापारीको थलो रहेको र यसको आफ्नो सांस्कृतिक पक्षलाई पनि उजागर गर्नुपर्ने भएको छ । बनेपालाई वर्णिपुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै ‘बनेपा’ हुन आएको पनि किंवदन्तीे छ । 

शिलालेखअनुसार कलिगत वर्ष ४१९७ अर्थात् विसं ११५९ मा पूर्वमध्यकालीन राजा आनन्द देवले बनेपा वरिपरिका स–साना बस्तीलाई भोलाखाबस्तीमा मिलाई नयाँ बनेपा निर्माण गर्दा आठ दिशामा आठ गणेशलाई दिक्पालका रूपमा प्रतिस्थापन गरी प्रत्येक गणेशका मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाइएको थियो। त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशसँग सम्बन्धित एक–एक दाफा भजन हुन्छन् । 

बनेपामा घाम र हावाको सन्तुलन मिलाउन ठाउँठाउँमा (चोक), पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली निर्माण गरिएका छन् । बनेपा नौवटा ढुङ्गेधारा, नौवटा चोक, नौवटा डबली र ९९ वटा इनार भएको सहर थियो ।