close

सेतो मच्छिन्द्रनाथको रथ यात्रा तयारी समितिको बैठक सम्पन्न

सेतो मच्छिन्द्रनाथको रथ यात्रा तयारी समितिको बैठक सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा जनबाद्यो (सेतो मच्छिन्द्रनाथ) को रथयात्रा तयारी समितिको समन्वय बैठक सम्पन्न भएको छ । आइतबार बालाजु बाइसधारा स्थित सभा कक्षमा प्रमुख जिल्ला अधिकारी, गुठी संस्थानका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय गुठीयारसहित बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रमुख शाहले, काठमाडौँका जात्रा पर्वलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्धन गर्न सेतो मच्छिन्द्रनाथको रथ तान्नका लागि पर्यटकहरुलाई सहभागी गराउन सकिन्छ कि भन्ने विषयमा छलफल गर्न आग्रह गरे । ‘जात्रा स्थानीय र समुदायको भावनासँग जोडिएको संवेदनशील विषय भएकोले यसको प्रतिकुल नहुने गरी पर्यटक सहभागी गराउन सके प्रवर्धनमा टेवा पुग्छ ।’ प्रमुख शाहले भने, ‘जात्रा चलाउन हरेक बर्ष विजुली र टेलिफोनको तार हटाउने, खाल्टाखुल्टी सम्याउने, ढल व्यवस्थापन गर्ने जस्ता एउटै विषयमा छलफल हुने गरेको छ । यो एक पटक बैठक बसेर सधैँका लागि समाधान गर्नुपर्ने विषय हो ।’  बसन्तपुरलाई केन्द्र बनाएर जात्रा पर्व सञ्चालन हुने रुटमा सिमेन्टले जोड्नु नपर्ने मोटाइ धेरै भएका ढुङ्गा विछ्याउन लागिएको उनले बताए। यो काम गर्दा गर्दै भूमिगत बनाउन सकिने तारका सेवाप्रदायकसँग समन्वय गर्ने उनको भनाई छ । 

बैठकमा प्रदेश सभा सदस्य शैलेश बज्राचार्यले, सम्पदासँग सांस्कृतिक चालचलन चलाउने मान्छेलाई जोगाउनु पर्ने अवस्था आएको उल्लेख गरे । ‘भित्री सहरी क्षेत्रमा मानिसहरु बसाई सरेर सहरका अन्य भागमा गइरहेका छन् । परम्परा बुझेका मानिस मानिस बाहिर निस्किएपछि जात्रा पर्व कसले धान्छरु यसलाई रोक्न होम स्टेको अवधारणा बनाएर स्थानीयलाई आफ्नै ठाउँमा अड््याउन महानगरले कार्यक्रम चलाउनुपर्छ ।’ उनले भने।

‘साझेदार धेरै भएकोले बसन्तपुर क्षेत्रको सुधारका लागि एकीकृत हुन सकेको छैन । यसलाई एकीकृत बनाउन मैले साझेदारसहित अनुगमन गरेर समस्या पहिचान गरिसकेकी छु ।’ बैठकमा उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘सुरक्षामा सुधार आएको छ । यसलाई थप व्यवस्थित गर्दै पूर्वाधार निर्माण र सुविधा वितरण प्रणालीमा सुधार ल्याएर जात्रालाई व्यवस्थित बनाउन सबैले काम गर्नुपर्ने भएको छ ।’ बसन्तपुर र सम्पदा क्षेत्रमा के गर्न हुन्छरु के गर्न हुँदैनरु गर्न हुने र नहुने कामको सूची टाँस गर्ने योजना रहेको उनको भनाइ छ । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले, समन्वयकारी भूमिकामा आफू प्रतिवद्ध रहेको बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले, जात्रा सञ्चालन हुँदा सवारी आवागमनमा पर्ने समस्याका विषयमा पूर्व दिएर स्थानीय र प्रभावित सडक रुट प्रयोग गर्नेलाई बैकल्पिक व्यवस्था गर्ने अवसर दिनुपर्ने बताइन् । गुठी संस्थानका प्रशासक किरण शाक्यले, संस्थानका दायित्व पूर्व निर्धारित भएकोले नियमित काम भएको प्रतिक्रिया दिए । 
 
रथ यात्रालाई व्यवस्थित गर्न महानगरपालिका, सुरक्षा निकाय, गुठी तथा स्थानीय समुदायसहित सबैको समान भूमिका रहने सेतो मच्छिन्द्रनाथका मूल पुजारी एवं महानगरपालिकाका पूर्व वडाध्यक्ष नीलकाजी शाक्यको भनाइ छ । 

बैठकमा व्यवस्थापन समितिका उपसंयोजक गणपतिलाल श्रेष्ठले रथयात्रा तयारीका विषयमा जानकारी गराएका थिए। श्रेष्ठकाअनुसार २४ वटा उपसमिति गठन गरिएका छन् । यस्तै जात्राको मौलिकता पुस्तान्तरण गर्ने उद्देश्यले पूर्ण सुरक्षाको प्रत्याभूति गरेर बालबालिकाहरुलाई जात्रामा सहभागी गराउने योजना बनाइएको छ । 

यसरि गरिन्छ सेतो मच्छिन्द्रनाथ रथ यात्रा 

यस वर्ष चैत १५ गते बुधबारदेखि रथ यात्रा सुरु हुँदैछ । हरेक बर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासले मानिसहरु जात्रामा सहभागी हुन्छन् । 

प्राचीन कालमा काठमाडाँैंको जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएको कथा यो रथयात्रासँग सम्बन्धित छ । मूर्तिलाई खेतबाट निकाली घरको भकारीमा राख्दा घरमा अन्नको कमी नभएको, सुख, शान्ति, समृद्धि प्राप्त भएको र रोग ब्याधको नाश हुन थालेको थियो । मूर्ति भगवान भएको र भगवानलाई घरमा राख्दा मान मर्यादा दिन नसकिने महसुस गरेर जमलबाट मूर्तिलाई लगेर जनबहालमा राखेको विश्वाश छ । मूर्तिको स्थापना गरिएको बर्षदेखि नै मूर्ति भेट्टाएको स्थानका रुपमा रथ यात्रा जमलबाट सुरु गर्ने गरिएको छ । 

रथ यात्राका दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बिशेष श्रृङ्गार गरेर जमलस्थित तीनधारा पाठशाला अघिल्तिर निर्माण गरिएको रथमा लगेर प्रतिस्थापन गरिन्छ । यसपछि रथ तानेर पहिलो दिन रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याईन्छ । 

दोस्रो दिन रथलाई असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याइन्छ । हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पु¥याइन्छ । 

लगनमा मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पु¥याइन्छ । 

अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ । 

हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्यअबलोकितेश्वर पनि हुन् । 

सेतो मच्छिन्द्रनाथको महास्नान

अनिष्ट टार्न तथा अकाल मृत्युबाट बच्न पुस शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन छ । महास्नानका लागि काठमाडौंको शोभा भगवती नजिकको भचाखुशी खोलाबाट ६ वटा तामाका र ३ वटा चाँदीका घटामा पानी ल्याइन्छ । यसरी ल्याइएको पानीमा ६ वटा तामाका घटामा भएको पानीमध्ये ३ पटक तातो र तीन पटक चिसो पानीले मच्छिन्द्रनाथलाई स्नान गराइन्छ ।

३ वटा चाँदीका घटामा रहेको पानी मच्छिन्द्रनाथ, करुणामय र आर्यताराको साधना गरेर मच्छिन्द्रनाथको मन्दिरभित्र राखिने परम्परा रहेको छ । महास्नान गराउँदा पैंता, नाखीलगायतका सांस्कृतिक बाजागाजा बजाइन्छ । महास्नानपछि मच्छिन्द्रनाथको मूर्तिलाई बासको कपडाले बेरेर आफ्नो आसनमा नराखी बाहिरै राख्ने राखिन्छ । सेतो मच्छिन्द्रनाथलाई स्नान गराउने चलन लामो समय अघिदेखिको भए पनि यज्ञ मल्लका पालादेखि मन्दिर स्थापना गरी स्नान गराउन थालिएको इतिहासमा उल्लेख पाइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराउँदा आयु लामो हुने, अकालमा मृत्यु नहुने जनविश्वाश छ । 

माघ शुक्ल पूर्णिमाका दिन मच्छिन्द्रनाथलाई परम्परागत बौद्ध विधिअनुसार प्राण प्रतिष्ठा गराई नारी पुरुष दुवैलाई गरिने जातकर्म, नामकर्म, चुडाकर्म आदि संस्कारगत १० कर्म गराइन्छ । त्यसपछि मात्र अफ्नो आसनमा राखिन्छ ।

जात्रा तथा पर्वले आन्तरिक सद्भाव, भाइचारा, पारिवारिक सुख, सामाजिक व्यवस्थापन, सदाचारलगायत व्यक्ति, समाज तथा राष्ट्रलाई समृद्ध बनाउने क्षमता राख्छन् । यस पक्षलाई जात्रा सञ्चालन गर्नुको अर्थसँग जोडेर हेर्न सकिन्छ ।