close

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

Trulli
ADVERTISEMENT

भक्तपुर । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका छन् । 

जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नुभएको हो । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै  आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका छन्। 

विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाए। जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए । विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरे । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए ।

जात्राको हालसम्मको तथ्याङ्क तथा प्रमाणअनुसार १२ जनाले एक सय छ वर्ष जिब्रो छेडाएको इतिहास छ । विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँ श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सालसम्म हरि भासिंक श्रेष्ठले तीनपटक तथा २०२७ र २०२८ सालमा इन्द्रबाटा श्रेष्ठले दुई पटक जिब्रो छेडाउनुभएको तथ्याङ्क छ ।

त्यस्तै  २०२९ देखि २०३१ सालसम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सालसम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सालसम्म दिलकुमार खपे श्रेष्ठले सात, २०४७ सालमा मुनि घों श्रेष्ठले, २०४८ सालमा धर्मराज बलाय श्रेष्ठले तथा २०४९ देखि २०६० सालसम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको इतिहास छ ।