close

बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा

बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। बनेपा नगरमा करिब २५ सय वर्ष अघिदेखि मनाइँदै आइएको प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु भएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्राअन्तर्गत आज अपरान्ह हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारको तर्फबाट पूजागर्ने व्यक्तिको सहभागिता जनाएपछि जात्राको औपचारिक सुरुआत भएको मानिन्छ । 

विशेषगरी हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमाको दिनदेखि यो जात्रामा भक्तजनको ठूलो सहभागितामा धुमधामसँग मनाउने गरिन्छ । नगरको मुख्य बजार बनेपामा चण्डेश्वरी जात्रा आउँदो आइतबारसम्म मनाइने भएको हो । विशेष पर्वझैंँ मानिने जात्राका लागि चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिगारिएको छ । 

बनेपालीका लागि यो जात्रा महान पर्व दसैँ जस्तै लाग्ने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सवले भरिएको देखिन्छ । जात्रा व्यवस्थापन समिति र स्थानीयवासीले जात्रामा रथोरोहणका लागि ठूलाठूला काठको खट आज तयार गरिसक्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । सरकारी पूजाआजको प्रतिनिधिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकोमा गर्व गर्छन् । बुढापाकाले टोलटोलमा बसी भजन गाउँछन् । 

आजदेखि चण्डेश्वरी मन्दिर, सडक, बस्ती–गल्लीमा भीडभाड हुन्छ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । ‘शक्तिकि अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजागर्न टाढादेखि भक्तजन आउने स्थानीय बृद्ध जगतबहादुर मानन्धरले बताउँछन्। उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजन ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्ने गर्छन् । बनेपा नगरपालिका कार्यालयले बर्सेनि जात्रामा आर्थिक सहयोग गर्नेगर्दछ । चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएको छ । 

बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएका पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँ छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । जात्राअन्तर्गत पूर्णिमाको दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकालिन्छ । बनेपाको तीनधारामा आज बनाइने पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरुले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी पुर्याउँछन् । यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।

स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको बध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बली दिने परम्परा रहेको छ ।

 जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुर्याइ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याइन्छ । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्छ । 

धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ । जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोकालाई बलिदिने र ती मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलंदान’ गरिँदै आइन्छ । 

कलंदान जात्रामा मासुलाई प्रसादस्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने गरेको बताइन्छ । किंबदन्ती अनुसार २५ सय वर्ष अगाडि धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने बरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे ।

स्वर्गका राजालाईसमेत चण्डासुरले जितेपछि देवताको भागाभाग भई ज्यान जोगाउन पक्षीको रुपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । चम्कप वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा आराध्यदेवी चण्डेवरी माइ (माता) को जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।