close

धनकुटामा मनाइयो रोपाइँ जात्रा

धनकुटामा मनाइयो रोपाइँ जात्रा

Trulli
ADVERTISEMENT

धनकुटा– गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा शुक्रबार धनकुटामा मनाइएको छ । धनकुटाको टुँडिखेलबाट सुरु भएको रोपाइँ जात्रा बजार परिक्रमा गरी बसर्पाकमा पुगेर समापन भएको छ । टुँडिखेलबाट सुरु भएको जात्रा तल्लो कोप्चे, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसेन थान, परिचय मोड, चुवाको बोट हुँदै बसपार्कमा पुगेर समापन भएको हो।

असार र साउन रोपाइँ गरेर अब त बाँचियो भनेर मनोरञ्जनका लागि कृतिम रोपाइँ मनाउने चलन रहेको नेवा दे दबु धनकुटा नगर अध्यक्ष रोशन श्रेष्ठले बताए। नेवारी समाजको कला संस्कृति जगर्ने गर्नका लागि पनि यस्ता खाले कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ। रोपाइँजात्रामा हातमा बीउ लिएका रोपार र कोदाली बोकेर लाठे रोपाइँ जात्रामा निस्केका थिए। नौमती बाजासहित झाँकी प्रस्तुत गरिएको थियो।

जात्रा कहिलेदेखि मनाउने थालियो भन्ने यकिन नभए पनि रोपाई जात्राको प्रशंग स्थानीय नेवार जातिको खेतीकर्म र पौराणिक कालको देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको बताइन्छ। खासगरी महादेव र देवाशुरबिच महासंग्राम भएको र अन्त्यमा देवाशुरले भाद्र कृष्ण द्वितीयका दिन घुँडा टेकेकाले सोही दिनलाई आधार मानी जात्रा मनाउन सुरु गरिएको भन्ने मान्यता छ। 

नेवारी समुदायले मनाउने जात्रा भएपनि धनकुटा बजार क्षेत्रमा बसोबास रहेका अधिकांश जाति जात्रामा सहभागि भएका थिए । जात्रामा पुरुषले महिलाको र महिलाले पुरुषको पोषाकमा निस्कने गर्दछन्। रोपाइँजात्राका दिन नेवार समुदायले लाखे नाच पनि देखाउने चलन रहँदै आएको छ।