close

पालिका सबै दिदीबहिनीहरूको माइती बनेर तीज मनाइयो

पालिका सबै दिदीबहिनीहरूको माइती बनेर तीज मनाइयो

Trulli
ADVERTISEMENT

काठमाडौं- आज हरितालिका तीज । आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । तीजमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।   

आज विभिन्न स्थानीय तहले पनि विभिन्न तरिकाले तीज मनाएका छन् । कतै गीत प्रतियोगिता त कतै दर खाने र रमाइलो कार्यक्रम गरी तीज मनाएका छन् । चौंरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोकले पालिकाले सबै दिदीबहिनीको माइती बनेर पालिकाभरका करिब एक हजार दिदीबहिनीलाई दर खुवाएको गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले पालिका खबरलाई बताइन् । 

गाउँपालिका अध्यक्ष चौलागाईका अनुसार गत २६ गते नै गाउँपालिकाको आयोजनामा गाउँपालिकाभरका दिदीबहिनीलाई दर खुवाइएको हो । आज भने व्यक्तिगत भेटघाटमा व्यस्त रहेको उनले सुनाइन् । 

त्यस्तै, बरहथवा नगरपालिकाले आज तीजको अवसरमा ८० वर्षमाथिका सबै आमाहरूलाई सम्मान गरेको छ । नगरपालिकाकी मेयर कल्पना कटुवालका अनुसार आमाहरूलाई दर खुवाउनुका साथै सारी दिएर सम्मान गरिएको छ । उनले आफूले पनि आज बिहानै मुक्तेश्वर महादेवको दर्शन गरी व्रत बसेको पालिका खबरलाई सुनाइन् । 

आफूले मन्दिरको पूजा गरी बिहानै मन्दिरमा सबै दिदीबहिनीसँग रमाइलो गरी व्रत सकाएको बताइन् । उनले पालिका खबरसँग भनिन्,- ‘हरेक वर्षझै महादेवको दर्शन गर्ने र व्रत बस्ने व्यक्तिगत काम सकेँ । व्रत त बस्छु तर आफ्नो स्वास्थलाई असर गर्ने गरी निराहार र निर्जला व्रत बस्दिनँ ।’

तीज विशेष गरी सत्ययुगमा हिमालय पुत्री पार्वतीले तीज अर्थात् भाद्र शुक्ल तृतीयाको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।