close

लुम्बिनीको प्रदेशसभा भवन निर्माणमा ढिलाइ हुँदा...

लुम्बिनीको प्रदेशसभा भवन निर्माणमा ढिलाइ हुँदा...

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेशसभा भवन निर्माण कार्यमा ढिलाइ भएको छ । स्थायी राजधानी दाङ देउखुरीमा निर्माण भइरहेको भवन निर्माण कार्यले गति लिन सकेको छैन ।

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले भवन निर्माण कार्यमा ढिलाइ नगर्न पटक–पटक निर्देशन दिने गरेको भए पनि कामले मुर्त रुप भने पाउन सकेको छैन । 

भवन निर्माणमा ढिलाइ हुँदा प्रदेश राजधानी बुटवलबाट देउखुरीमा स्थान्तरण गर्न अन्योल भइरहेको छ । 

गत साउनमा केसी मुख्यमन्त्री पदमा नियुक्त भएसँगै भवन निर्माणलाई पहिलो प्राथमिकता राख्दै प्रदेश राजधानी स्थानान्तरण छिटो गर्ने गरी काम गर्न निर्देशन दिएका थिए ।

स्थायी राजधानीमा काम सुस्त हुँदा राजधानी स्थानान्तरण हुँदैन कि भन्ने दाङका स्थानीयको आशंका छ । 

२०७८ बैशाख २४ गते लुम्बिनी प्रदेशसभा भवन निर्माणको लागि पाँच करोड २१ लाख बढीमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो ।
पहिलो सम्झौता अनुसार चार महिनामा (२०७८ साउन भित्र) भवन बनिसक्नु पर्ने हो । 

तर काममा ढिलाई हुँदा प्रदेश सकारकाले निर्माण कम्पनी नै परिवर्नत गरेर भवन निर्माणलाई छिटो सक्ने गरी काम अघि बढायो । भवन निर्माण छिटो सक्ने लक्ष्यका साथ दिउँसो र रातिमा समेत काम गरिएको थियो । तर पछिल्लो समय निर्माण कार्य कछुवाको गतिमा छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी अधिकृत ई. छविराज पोखरेलले प्रदेश सभा भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको बताए । उनले भदौ १५ गतेभित्र प्रदेशसभा सचिवालयलाई भवन हस्तान्तरण गरिसक्ने दाबी गरे ।

पोखरेलले एक महिनामा भवन निर्माण सकिने दाबी गरे पनि अहिलेकै गतिमा काम हुने हो भने २–३ महिना लाग्ने निर्माण कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार निर्माण सामानको अभाव हुँदा भवन निर्माणमा ढिलाइ भएको हो । निर्माण सामाग्रीको आपूर्ति सहज भएमा एक-डेढ महिनामा निर्माण सकिने कम्पनीका प्रतिनिधि विनोद राईले बताए । रकम भुक्तानी नहुँदा सामान अभाव भएको उनले बताए ।