close

२ दिने जेएसआर सम्मेलनबाट २० बुँदे घोषणापत्र जारी

२ दिने जेएसआर सम्मेलनबाट २० बुँदे घोषणापत्र जारी

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौंमा मंगरबार र बुधबार गरी दुई दिनसम्म चलेको खानेपानी, सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा सम्मेलन २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (बास) सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसात गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।

खानेपानी मन्त्रालयको आयोजनामा मङ्गलबारदेखि सुरु सम्मेलनले जनस्वास्थ्य, वातावरणीय दिगोपना र सामाजिक विकास प्रवद्र्धनमा बासको महत्वपूर्ण योगदान रहने निष्कर्षसहित जारी २० बुँदे घोषणापत्रमा समन्वय, सहयोग र क्षेत्रगत साझेदारीलाई फराकिलो बनाउने उल्लेख गरिएको छ ।

सम्मेलनपछि बुधबार जारी घोषणापत्रमा नेपालको संविधान, राष्ट्रिय बास नीति २०२३, खानेपानी तथा सरसफाइ ऐन २०२२ लाई मध्यनजर गर्दै तेस्रो खानेपानी सरसफाइ सम्मेलन २०२३ ले सिफारिस गरेका विषयलाई देशको क्षेत्रगत विकास, योजना र अद्यावधिक योजनामा सामेल गर्न अनुरोध गर्ने उल्लेख छ ।

यस्तै राजनीतिक प्रतिबद्धतालाई उत्प्रेरित गर्दै दिगो विकास लक्ष्य पूरा गर्न विश्वव्यापी, समतामूलक, दिगो खानेपानी तथा सरसफाइका सेवा प्राप्त गर्नका लागि सरोकारवालाबीच समन्वयका संयन्त्रको विस्तार गर्ने तथा विश्वसनीय र सुधारिएको सेवा प्रदानका लागि सेवा प्रदायकलाई दक्ष बनाउन उपयुक्त अन्तरसरकारी समन्वय संयन्त्रका साथै वास प्रणाली सुदृढीकरणका लागि स्थापित संस्थागत र सुशासनलाई व्यवस्थित गर्ने घोषणापत्रमा समेटिएको छ ।

सम्मेलनले सरसफाइ सेवाका सम्बन्धमा सरसफाइ मूल्य शृङ्खलामा पानी र सरसफाइ सेवाको म्यापिङ, सहजीकरण, इजाजतपत्र, नियमन र मानकीकरणका लागि कार्यक्रम गर्ने, खानेपानी तथा सरसफाइ ऐनले सबै तहमा अनिवार्यरूपमा बास सेवाको नियमनका लागि स्थापित संस्थालाई परिचालन गर्ने र नियामक संस्थाको उपयुक्त क्षमता निर्माण पनि निष्कर्ष निकालेको छ ।

सुरक्षितरूपमा व्यवस्थित खाने पानी आपूर्ति सेवामा पहुँचको सुनिश्चिता गर्ने, खानेपानीको गुणस्तर अनुगमन र निगरानीमा स्थानीय सरकार र अन्य सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्ने, राष्ट्रिय खानेपानी गुणस्तरको मापदण्डअनुरूप सेवा सुनिश्चित गर्ने पनि घोषणापत्रमा उल्लेख छ । राष्ट्रिय सरसफाइ र स्वच्छता अभियान कार्यान्वयन गर्न नगरपालिकाव्यापी समावेशी सरसफाइ दृष्टिकोण अपनाउने र घरेलु फोहर पानीलाई जम्मा गर्ने, ढुवानी, प्रशोधन र सुरक्षितरूपमा विसर्जन गर्ने कार्यलाई तीव्रता दिने; पुनःप्रयोगको अर्थतन्त्रका सिद्धान्तलाई ध्यानमा राख्दै मल, मूत्र र ठोस फोहरलाई सुरक्षितरूपमा व्यवस्थापन गर्न पहल गर्ने सम्मेलनको निष्कर्ष छ ।

साथै एकीकृत जलस्रोत व्यवस्थापनमार्फत जलस्रोतको संरक्षण, जमिनमुनिको पानीको पुनर्भरण, वासक्षेत्र र तिनका जलाधारमा पूर्व चेतावनी प्रणालीको विकास गर्ने कार्यक्रम कार्यान्वयनमा जोड दिने घोषणापत्रमा समावेश गरिएको छ ।