close

नेपालकै नमुना नगर बनाउन तल्लीन छन् नगरप्रमुख भरतकुमार  

नेपालकै नमुना नगर बनाउन तल्लीन छन् नगरप्रमुख भरतकुमार  

Trulli
ADVERTISEMENT

प्रदेश २ का स्थानीय तहमा सबैभन्दा धेरै विवाद हुने गरेको सरकारी कार्यालयकै रेकर्डमा देखिन्छ । तर, यो प्रदेशमा विवाद मात्रै होइन, जनताका लागि ‘गाउँको सिंहदरबार’ सावित भएका स्थानीय तह पनि छन् । यस्तैमा जनताको मन जित्न सफल स्थानीय तहमा पर्छ, बागमती नगरपालिका ।

 

बागमती विकास र समृद्धिको नारा हैन, योजना लिएर निरन्तर अघि बढिरहेको छ । नगरको दिगो विकास र समृद्धिको महत्वपूर्ण योजना साकार पार्न नगर कार्यपालिकाका जनप्रतिनिधि अथक प्रयास गरिरहेका छन् । ठूला बजार तथा उद्योग, कलकारखाना नरहेको नगरमा जनप्रतिनिधि आएपछि गरेको विकास प्रदेशको मात्रै होइन, मुलुककै नमुना र उदाहरण बन्दै गएको छ । 

 

नगर प्रमुख भरतकुमार थापा, उप–प्रमुख लीलाकुमारी मोक्तान, सबै वडाध्यक्षलगायत जनप्रतिनिधिको जोडबलमा नगरपालिकाको स्वरूप सुन्दर, समृद्ध र व्यवस्थित छ । नगर प्रमुख थापाले निर्वाचित भएर शपथका बेला तलब भत्ता नलिने घोषणा गरेका थिए । नगर प्रमुखको हैसियतमा गाडी किन्न छुट्याइएको बजेटबाट जनताका लागि पानी ढुवानी ट्यांकर किनेर थापा चर्चामा आएका थिए । अहिले थापाको नगर विकासको योजना अन्य पालिकाका लागि उदाहरणीय बनेको छ । 

 

थापा आफू भने नगरको चौतर्फी विकास गर्न सम्भावना र चुनौती देखेको बताउँछन् । ‘नगर विकासको महत्वपूर्ण पाटो आन्तरिक आयस्रोत भए पनि हामीसँग त्यस्तो केही थिएन,’ थापा भन्छन्, ‘त्यसैले मेरो पहिलो प्राथमिकता नै नगरको दिगो विकास, सुन्दरता र आयस्रोत बढ्ने योजनामा पर्‍यो । नगरलाई प्रदेशकै सुन्दर र रमणीय पर्यटकीय स्थलमा विकास गर्ने योजना बुने । अहिले केही मात्रामा सफल हुँदै गएको छ ।’ अरू नगरपालिकाको जस्तो बेच्ने सामान वा उद्योगधन्दा आफूहरूसँग नभएकाले पवित्र बागमतीको काखमा रहेको चुरे शृंखलालाई शृंगारेर दुनियालाई पैसा लिएर देखाउने योजना बनाएको थापाले सुनाए । 

 

बागमतीले झन्डै २ सय किलोमिटर सडक कालोपत्रे गरेको छ । नगरका अधिकांश सडक  स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगरबासी धुलो र हिलोमुक्त भएका छन् । नगरपालिकाले चार वर्षमा शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा देखिने गरी काम गरेको छ । सामान्य तर नागरिकका प्रत्यक्ष जनजीविकासँग सम्बन्धित विषयलाई नगर कार्यपालिकाले प्राथमिकतामा राख्दै आएको छ । 

 

थापा विकास र समृद्धिको लागि मात्र हैन, विपद्को घडीमा समेत नागरिकलाई सँगै लिएर अगाडि बढ्छन् । विषम परिस्थितिमा नागरिकको साथ बटुल्दै समस्याको समाधान तथा राहत वितरणमा समेत माना–पाथी अभियान सञ्चालन गरेका थिए । कोभिड–१९ महामारीमा सबै पालिकामा राहतको विषय जटिल बनिरहँदा बागमतीमा हुनेले दिने र नहुनेले लिने गरेको प्रयासको मुलुकभर चर्चा र प्रशंसा भएको थियो । नगरबासीले विपद्मा लिने मात्र हैन, सक्नेले दिनसमेत पछि पर्नुहुँदैन भन्ने उदाहरण प्रमुख थापाको पहलले साकार भएको छ । 


मानव निर्मित पोखरी

 

नगरको दिगो विकास र समृद्धिको मेरुदण्ड भन्दै सुरु गरिएको गौरवको आयोजना मानव निर्मित पोखरी निमार्ण अन्तिम चरणमा पुगेको छ । पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने काम सम्पन्न गरिएको छ । अहिले फिनिसिङको काम भइरहेको नगरप्रमुख थापा सुनाउँछन् । दीर्घकालीन रूपमा नगरको आयस्रोतका लागि प्रयोग गर्न सकिने गरी पोखरीको परिकल्पना गरिएको थियोे । केही समय पहिलाबाट नवनिर्मित पोखरीमा पानी भर्ने काम भएसँगै आन्तरिक पर्यटक ओइरिन थालेका छन् । 

 

वडा नम्बर ४ स्थित बागमतीे किनारमा पोखरी निर्माण गरिएको थापाले बताए । १२१ बिघा क्षेत्रफलमा बन्ने मानव निर्मित पोखरी देशमै विशाल पोखरी हुने थापाको दाबी छ । ‘पोखरीमा माछापालनसँगै पर्यटन विकास गर्ने लक्ष्य छ । पोखरीबाट नगरलाई आम्दानी तथा नागरिकलाई रोजगारी सिर्जना हुनेछ’, थापा भन्छन् । पोखरीमा बोटिङ, स्विमिङ र दृश्यावलोकन गर्न आउनेहरूका होटल र रेस्टुराँ ठडिँदै छन् । पूर्व–पश्चिम लोकमार्गबाट ३ किलोमिटरको दूरीमा अवस्थित पोखरीलाई अन्य गन्तव्यमा हिँडेका पर्यटकका लागिसमेत विश्राम स्थलको रूपमा विकास गर्ने योजना योजना छ । पोखरी निर्माणमा नगरभित्रकै जनशक्ति परिचालन गरिएको थापाले बताए ।


 
सुविधासम्पन्न फनपार्क


नगरपालिकाले २८ करोडको लागतमा सुविधासम्पन्न फनपार्क निर्माण गरिरहेको छ । फनपार्क वडा नम्बर ११ स्थित बागमती नदी किनार, बागमती सिँचाइको ब्यारेज उत्तर हरिहर क्षेत्र नजिकै ६७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । पार्कमा सुविधासम्पन्न अतिथिगृहदेखि स्विमिङ पुल, बालबालिकाका लागि खेल्ने सामग्रीसहित चिल्ड्रेन पार्क, पिकनिक स्पट, आकर्षक झर्ना, रेस्टुराँ तथा नदी सयरको व्यवस्था गरिनेछ । 

 

पार्क निर्माणपछि नगरपालिकाको मात्र नभएर सर्लाही तथा प्रदेश २ को पर्यटकीय विकास र स्थानीयको आर्थिक उपार्जनमा सघाउने प्रमुख थापाले बताए । पार्कको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए । 

 

नगर बगैँचा


नगरपालिकाले वडा नम्बर ३, ४ र ११ मा गरेर १८० बिघा क्षेत्रफलमा फलफूलका बिरुवा रोपेर बगर बगैँचा निर्माण गरिरहेको छ । नगर बगैँचाले बेरोजगार सयौँ नागरिकलाई रोजगारी दिन सक्ने नगरपालिका कार्यालयले जनाएको छ । नगरमा फलफूल उत्पादन गरेर अन्यत्र निर्भर हुने अवस्था हटाउने र विकासलाई रोजगारमुखी बनाउन नगर बगैँचा बनाउने योजना अघि सारिएको प्रमुख थापा सुनाउँछन् । नगरले वार्षिक करोडाँैको फलफूल उत्पादन गर्ने गरी बगैँचा निर्माण गरिरहेकाले सम्पन्न भएपछि बेरोजगारले रोजगारी पाउने नगर कार्यपालिकाको योजना छ । बगैँचामा तराईमा फल्ने आँप, लिची, कटहरलगायत फलफूलका बिरुवा लगाइएको छ । बगैँचाको रेखदेख तथा गोडमेल गर्न स्थानीयलाई रोजगारी दिइएको छ । बगैँचाले नगरको पर्यावरणसमेत सन्तुलित रहने र अर्कोतर्फ आम्दानीको स्रोत बन्ने थापाको बुझाइ छ । 


कृषि, पशु, बजारलगायत व्यवस्थापनमा  ध्यान दिइरहेको उप–प्रमुख लीलाकुमारी मोक्तानले बताइन् । नगरको विकासमा नगरको पैसा नगरमै राख्न यी योजना अपरिहार्य रहेको जनप्रतिनिधि सुनाउँछन् । नगरपालिकाले योजना तयार गर्दा दीर्घकालसम्म हेर्ने गरेको नगरका योजना विभाग प्रमुख सुजन बडालले बताउँछन् ।