close

ढोरफिर्दीमा शीतभण्डार शिलान्यास

ढोरफिर्दीमा शीतभण्डार शिलान्यास

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको ढोरफिर्दीमा शीतभण्डार बन्ने भएको छ । शुक्लागण्डकी नगरपालिका र संघीय सरकारको २ करोड ३२ लाख ५० हजार रुपैयाँको लगानीमा शीतभण्डार बन्न लागेको हो ।

 

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ ढोरफिर्दी संगम टोलस्थित सार्वजनिक जग्गामा बन्ने शीतभण्डार २ सय टन क्षमताको हुनेछ । 

 

शीतभण्डारको शुक्लागण्डकीका नगरप्रमुख किसान गुरुङले शिलान्यास गरे । गुरुङले किसानको उत्पादन समयमा बजारमा पुर्‍याउन शीतभण्डार आवश्यक रहेको बताए ।

 

किसानको मागअनुसार निर्माण सुरु गरिएको उनले जानकारी दिए । ‘शीतभण्डार बनेपछि किसानले व्यावसायिक तवरले कृषि उपज उत्पादन गर्नेछन्’, उनले भने, ‘आफूलाई चाहिनेभन्दा धेरै उत्पादन गर्दै भण्डारमा राखेर राम्रो मूल्य पाउने समय बेच्न सकिनेछ ।’ 

 

शीतभण्डार निर्माणको ठेक्का जय नेपाल ईश्वर सीता बिल्डर्स जेभीले पाएको छ । गत १९ चैतमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सम्झौताअनुसार अगामी पुस मसान्तसम्म निर्माण सक्नुपर्नेछ ।

 

चालू आर्थिक वर्षमा शीतभण्डार निर्माण शीर्षकमा १ करोड ५० लाख रुपैयाँ बजेट छ । संघीय सरकारले ससर्त अनुदानमा १ करोड रुपैयाँ उपलब्ध गराएको छ भने शुक्लागण्डकी नगरपालिकाले ५० लाख छुट्याएको छ । 

 

बाँकी ८२ लाख ५० हजार रुपैयाँ आगामी वर्ष खर्च गरिनेछ । यो योजनामा संघ र प्रदेशबाट बजेट नआए नगरले नै स्रोत उपलब्ध गराउने बोर्ड बैठकले निर्णय गरेको वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । 

 

‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले ८ नम्बर वडामा आलु उत्पादनको कार्यक्रम चलाएको छ । यसलाई सघाउन संघीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु बाली विकास कार्यक्रमअन्तर्गत आलु पकेट कार्यक्रम सञ्चालन भइसकेको छ ।

 

संघीय सरकारको २४ लाख र कृषकले साढे १६ लाख बेहोर्ने गरी ४१ लाख रुपैयाँको कार्यक्रम यो वर्ष भएको हो । 

 

सरकारी अनुदानले हौसिएका वडाका कृषकले यो वर्ष १ सय ५० टन आलु उत्पादन गरेको वडाध्यक्ष रेग्मीले जानकारी दिए । २४ टन आलु यहाँका कृषकले पोखराका शीतभण्डारमा पुर्‍याएका छन् । 

 

शीतभण्डारमा आलु लैजान वडा कार्यालयले ढुवानी व्यवस्था गरिदिएको उनले बताए । ‘कोल्डस्टोरमा लैजान र ल्याउन वडाबाट १ लाख रुपैयाँ बजेट छुट्याएका छौँ’, वडाध्यक्ष रेग्मीले भने । 

 

यो क्षेत्रमा पहिल्यै शीतभण्डार बनाउन किसानले माग गर्दै आएका थिए । ढिलै भए पनि माग सम्बोधन गरेर निर्माण सुरु गरिएको हो । ‘पहिल्यैदेखि यहाँ शीतभण्डार चाहिएको थियो’, मिलन कृषक समूहका अध्यक्ष रमेश महतले भने, ‘यो वर्षदेखि निर्माण सुरु भएको छ । समयमै सम्पन्न होस् । निर्माण सम्पन्न भएपछि हामी कृषकको पसिनाले बल्ल मूल्य पाउनेछ ।’ 

 

अहिले शीतभण्डारसम्म कृषि उपज लैजान टाढा पर्ने भएकाले कृषकले लगानी नै नउठ्ने गरी उत्पादित वस्तु बिक्री गर्नुपरेको उनले सुनाए । ‘मूल्य बढेका बेला बेच्न राख्यो कुहिएर जाने डर । बेलैमा बेच्यो मूल्य नपाइने’, उनले भने ।