close

कोरोनाका कारण २० जनप्रतिनिधिको मृत्यु (भिडियो खबर)

कोरोनाका कारण २० जनप्रतिनिधिको मृत्यु (भिडियो खबर)

ADVERTISEMENT

काठमाडौं- योद्धा हुन सजिलो छैन । कार्यक्षेत्रमा नै हो योद्धाले आफ्नो प्राण त्याग्ने । कोरोना भाइरसको यो दुर्बाेध्य परिस्थतिमा पनि आफ्नो प्राणको पर्वाह नगरी कोरोनासँग लड्दालड्दै धेरैले मृत्युवरण गरिसकेका छन् । सिंगो देश महामारीले निम्त्याएको शोकमा छ ।

 

महामारीलाई नै अंकमाल गरिरहेका स्थानीय सरकारका जनप्रतिनिधि पनि यो कोरोनाविरुद्धको युद्धमा शहीद भएका छन् । दोस्रो लहरमा मात्रै कोरोनाका कारण २० जनप्रतिनिधिको मृत्यु भइसकेको छ । मृत्यु भएपछि अहिले जनप्रतिनिधिको उपस्थितिमा हुनुपर्ने केही काम रोकिएका छन् भने कतै शोकलाई शक्तिमा बदल्दै पालिकाहरू अझ मजबुत भएर स्थानीयको सुख र दुःखको सारथि बनिरहेका छन् ।

 

अहिले पनि देशभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरा घटाउँदा संक्रमण केही घटेको छ । त्यति मात्र नभई संक्रमण एउटा निश्चित बिन्दुमा पुगेपछि घट्ने स्वाभाविक भएकाले अहिले संक्रमणको दर घटेको छ । तर, जिल्लामा अझै महामारी घटेको छैन । समुदायस्तरमा महामारी फैलिँदा पनि संक्रमणको अवस्था बुझ्न सकिएको छैन ।

 

स्थानीय परीक्षणको दायरामा आउनै चाहँदैनन् । तर, आफ्ना नागरिकलाई महामारीको चपेटामा पार्नुहुन्न भन्दै रातदिन नभनी स्थानीय सरकार गाउँगाउँ गएर परीक्षण गरिरहेका छन् । कोही त स्थानीयको स्याहारसुसारमा लागेका छन् । तर, महामारीले यस्ता थुप्रै जनप्रतिनिधिलाई हर्‍यो, जो नागरिककै स्याहार गर्दागर्दै संक्रमित हुन पुगे । र, कोरोनाको यो युद्धमा आफूलाई हार्न पुगे । 

 

गत वैशाखयता मात्र ७ सय ५३ स्थानीय तहका २० जना जनप्रतिनिधिको कोरोनाको कारण मृत्यु भएको छ । नियन्त्रण र उपचारमा खटिँदा खटिँदै संक्रमित भएर ज्यान गुमाउनेमा नगरपालिकाका जनप्रतिनिधि बढी छन् । हालसम्म नगरपालिकाका १३ जनप्रतिनिधिले ज्यान गुमाउँदा गाउँपालिकाका ७ जनाको पनि ज्यान गएको छ । गाउँपालिका महासंघ र नगरपालिका संघले उपलव्ध गराएको तथ्यांकअनुसार नगरप्रमुखदेखि वडा सदस्यको समेत मृत्यु भएको छ । 

कोरोनाका कारण मृत्यु हुने जनप्रतिनिधिहरू:

नाम   पद  स्थानीय तह
धावा वाङ्गेल लामा (प्रेम लामा) वडाध्यक्ष, वडा नं. ७ शैलुङ गाउँपालिका, दोलखा
तेजुमाया भण्डारी परियार कार्यपालिका सदस्य ताराखोला गाउँपालिका, बागलुङ
मदारुदिन जागा वडा सदस्य     जानकी गाउँपालिका, कैलाली
पुर्णबहादुर चौधरी वडा अध्यक्ष, वडा नं. ३  दंगीशरण गाउँपालिका, दाङ
इन्द्रबहादुर सुनार  कार्यपालिका सदस्य     महाबु गाउँपालिका दैलेख
जाकिर हसुने खाँ     वडा सदस्य, वडा न. ७  खजुरा गाउँपालिका, बाँके
श्रीप्रसाद शिगु     वडाध्यक्ष, वडा न. ४ हिलिहाङ गाउँपालिका, पाँचथर
इन्द्रसिंह राजबंशी वडा सदस्य, वडा नं ८ भद्रपुर नगरपालिका, झापा
चन्दन मेचे     वडाध्यक्ष, वडा नं ७ मेचीनगर नगरपालिका
महेन्द्र पण्डित वडासदस्य, वडा नं ४ माधवनारायण नगरपालिका
बिनोद कुमार मण्डल वडाअध्यक्ष, वडा नं ५ मिथिला बिहारी नगरपालिका
आशा चौधरी उपप्रमुख सप्तकोशी नगरपालिका
रामेश्वर यादव वडाध्यक्ष गरुडा नगरपालिका
वासुदेव साहनी वडाध्यक्ष गरुडा नगरपालिका
कोशिला देवी दास वडा सदस्य जनकपुरधाम उपमहानगरपालिका
बुद्धि बहादुर तामाङ वडाध्यक्ष     शंकरापुर नगरपालिका
नविन थापा     वडासदस्य     वुटवल उपमहानगरपालिका
ओम बहादुर वुढा     नगरप्रमुख त्रिपुरा सुन्दरी नगरपालिका
विनोद कुमार विक वडाध्यक्ष बढीमालिका नगरपालिका
जमनसिंह देउवा वडासदस्य     लम्किचुहा नगरपालिका

कोरोनाका कारण मृत्युवरण गरेका यी जनप्रतिनिधिको स्थान अहिले रिक्त छ । कतै नगरप्रमुखकै मृत्यु भएकाले पनि कामकाज प्रभावित भइरहेको छ । गत वर्ष पनि महामारीमा केही जनप्रतिनिधिको मृत्यु भएको थियो । यो पटक मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ ।

 

पहिलो महामारीपछि कोरोनालाई खेलाँची ठान्दा र पूर्वतयारी नगर्दा धेरै जनप्रतिनिधिको मृत्यु भयो । अझै पनि तेस्रो र चौथो लहर आउने सरकारले नै चेतावनी दिइरहँदा थप जनताका सेवक र स्थानीयको मृत्यु हुन नदिन हाल बनाइएका पूर्वाधारलाई निरन्तरता दिन आवश्यक छ ।