close

४६० मध्ये ४१ गाउँपालिकाले ल्याउन सकेनन् बजेट 

४६० मध्ये ४१ गाउँपालिकाले ल्याउन सकेनन् बजेट 

Trulli
ADVERTISEMENT

काठमाडौं– देशभरका ४६० गाउँपालिकामध्ये आज अर्थात १० असारमा ४१६ वटा गाउँपालिकाले मात्र आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेका छन् । 

 

गाउँपालिका राष्ट्रिय महासंघका अनुसार ४१ वटा गाउँपालिकाले कोरोनादेखि आन्तरिक कलहसम्मका कारण बजेट ल्याउन नसकेका हुन् ।


 
महासंघका अनुसार ३ वटा गाउँपालिकासँग सम्पर्क हुन नसकेका कारण उनीहरुले बजेट ल्याए नल्याएको विवरण प्राप्त हुन सकेको छैन ।

 

बजेट नल्याउनेमा सवैभन्दा वढी प्रदेश २ का पालिकाहरु छन् । प्रदेश २ का ५९ मध्ये २१ पालिकाले बजेट ल्याएका छैनन् । 

 

प्रदेश १ का ८८ मध्ये ५ पालिका, बागमतीका ७४ मध्ये ४ पालिकाले बजेट ल्याएका छैनन्।

 

त्यसैगरी गण्डकीका ५८ मध्ये ५ वटाले बजेट ल्याएका छैनन् भने एउटा पालिकाले बजेट ल्याए नल्याएको विवरण संकलन हुन नसकेको महासंघले जनाएको छ । 


लुम्बिनीका ७३ मध्ये दुईवटा पालिका सम्पर्कमा नआएको कारण विवरण प्राप्त हुन नसकेको, कर्णालीका ५४ मध्ये ७ वटा र सुदुरपश्चिम प्रदेशका ५४ मध्ये एउटा गाउँपालिकाले बजेट ल्याएका छैनन् । 

 

प्रदेश २ का ४ वटा स्थानीय तहले भने चालु आर्थिक वर्षकै बजेट ल्याएका छैनन् । 

 

महासंघका अनुसार कतै वाढी पहिरोका कारण कार्यालय संचालन हुन नसकेर बजेट आएन भने कतै कोरोना संक्रमणका कारण बजेट ल्याउन बाधा परेको छ । 

 

केही पालिकाले भने प्रशासकीय अधिकृत नभएकै कारण बजेट ल्याउन सकेनन् भने कतिपय गाउँपालिकाले आन्तरिक विवादका कारण बजेट ल्याउन नसकेको महासंघले जनाएको छ ।