close

कास्कीका पालिकाको बजेट चिरफारः साढे ८ अर्बको बजेट आउँदा धेरैको आकार घट्यो 

कास्कीका पालिकाको बजेट चिरफारः साढे ८ अर्बको बजेट आउँदा धेरैको आकार घट्यो 

Trulli
ADVERTISEMENT

पोखरा- कास्कीका पालिकाहरुमा आगामी वर्ष २०७८/०७९ मा साढे ८ अर्बको कार्यक्रम संंचालन हुने भएका छन् । सबै स्थानीय तहले साढे ८ अर्ब भन्दा बढीको बजेट प्रस्ताव गरेका हुन् । एक महानगर र ४ गाउँपालिकाले ८ अर्ब ६३ करोड बजेट सार्वजनिक गरेका छन् । 

 

कोरोना भाइरस संक्रमण र त्यसपछिको परिस्थितिले पालिकाको बजेट अघिल्लो वर्षभन्दा बढ्न नसकेको पालिकाहरुले जनाएका छन् । संघ सरकारबाट आउने अनुदान अघिल्लो वर्षको तुलनामा केही बढ्नुपर्ने भएपनि यथावत् नै रह्यो । 

 

तीन पालिकाले सामान्य वृद्धि गरेका छन् भने २ वटाले घटाएका छन् । अघिल्लो वर्ष ६ अर्ब १९ करोडको बजेट ल्याएको पोखरोले अहिले ८ करोड बढाएको छ । अन्नपूर्णले ६६ करोडबाट ७५ करोड पुर्‍याएको छ भने रुपाले ४३ करोडबाट ४७ करोड बनाएको छ । 


मादी र माछापुच्छ्रेको बजेट चालु वर्षको भन्दा कम छ । मादीले चालु वर्षमा ६५ करोडको बजेट ल्याएकोमा आगामी वर्षका लागि  घटाएर ५६ करोडमा झारेको छ भने माछापुच्छ्रेद्ये ६२ करोडबाट ५६ करोड पुर्‍याएको छ ।  अधिकांश स्थानीय तहले चालू वर्षबाट खर्च नभएको बजेटलाई अख्तियारी सारेर आकार बढेको छ । यो वर्ष पालिकाहरुले ६० प्रतिशतभन्दा बढी खर्च गर्ने देखिँदैन ।

 

बजेट निकासा र टेण्डरमा हुने झण्झटले खर्च कम भएको कास्की जिससका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताए । ‘असोजसम्म सिस्टम अनुसार निकासा हुँदैन । ठेक्कापट्टा लम्बेतान छ,’ उनले भने, ‘जनताले मागेका भन्दा पनि माथिबाटै निर्णय भएर योजना जाँदा जनतामा चासो कम भयो । त्यस्ता योजनामा काम हुँदैन ।’  मादी गाउँपालिकाले चालु वर्षमा ५० प्रतिशत भन्दा बढी पूँजीगत खर्च गर्ने देखिँदैन । अहिलेसम्म ३५ प्रतिशत खर्च भएको छ भने केही काम सकिएर भुक्तानीको चरणमा छ । 


अन्नपूर्णले भने ८० प्रतिशत खर्च गर्ने दावी गरेको छ । पोखरा महानगरपालिकाले ६५ प्रतिशत भन्दा बढी खर्च गर्न सक्ने देखिँदैन । हालसम्म पूर्वाधार तर्फ ३५ प्रतिशत मात्रै खर्च भएको छ । समग्रमा ५३ प्रतिशत खर्च भएकोमा केही दिन भुक्तानीको समय बाँकी रहेकोले ६५ प्रतिशतसम्म पुग्न सक्ने लेखा प्रमुख जयराम पौडेलले बताए । माछापुच्छ्रेले ६० प्रतिशत भन्दा बढी खर्च गर्ने सम्भावना छैन । प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले कोरोनाका कारण सोचे जति बजेट खर्च गर्न नसकेको बताए । 

 

रुपाले ७० प्रतिशत खर्च गर्ने दावी गरेको छ । अहिले ५० प्रतिशत खर्च भएको छ । स्थानीय तहले असार १० गतेभित्र बजेट कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार कास्कीका पाँचवटै स्थानीय तहले निर्धारित समयभित्रमा बजेट कार्यक्रम प्रस्तुत गरेका थिए । यो बजेट, नीति तथा कार्यक्रम हालका जनप्रतिनिधिको अन्तिमक बजेट हो ।