close

घोषणापत्रका ९५ प्रतिशत काम सकिए

घोषणापत्रका ९५ प्रतिशत काम सकिए

Trulli
ADVERTISEMENT

गुमानसिङ अर्याल
नगरप्रमुख, बेँसीसहर नगरपालिका, लमजुङ

 

‘चुनावमा गरेको प्रतिबद्धताअनुसार ९५ प्रतिशत काम सकिएका छन् । बितेको चार वर्षमा साना–ठूला गरी ४५ वटा सडक कालोपत्रे भएका छन् । त्यस्तै, नगरपालिकालाई हरियाली बनाउन पार्क निर्माण गरिएका छन् । कृषि क्षेत्र अनुदान कार्यक्रममा बोका, राँगा, कुखुराका चल्ला दिएर उत्पादन बढाएका छौँ ।’ नगरप्रमुख गुमानसिंह अर्यालले भने, ‘फलफूल उत्पादन बढाउन २६ हजार बिरुवा किसानलाई बाँडियो । तीन वटा पुल निर्माण भइसकेका छन् । लमजुङ दरबारमा जाने बाटोमा सिँढीको निर्माण भइसकेको छ ।’  

‘यस वर्षको बजेटमा हामीले पूर्वाधारका पुराना कामलाई निरन्तरता दिएका छौँ,’ उनले भने, ‘तीन वटा पार्क सकिने क्रममा छन् । १६ वटा सडकको डिपिआर भएको छ । यससँगै सामाजिक विकासलाई प्राथमिकतामा राखेका छौँ ।’ 


यसबाहेक खुलामञ्च, सडक छेउमा नालीलगायत काम यस वर्षको बजेटबाट सम्पन्न गर्ने योजना छ । केही काम बजेट अभाव र कोरोनाले गर्न सकिएन । संघको बजेट संघीयता अनुकूलको नभएकाले काम गर्न असहज भएको मेयर अर्यालको बुझाइ छ । ‘संघको बजेट संघीयताको अनुकूल छैन,’ उनले भने, ‘हामी सन्तुष्ट हुने अवस्था छैन । माथिबाट कर्मचारी, शिक्षकको तलब बढाएर पठाइन्छ । बजेट दिइँदैन ।’ यसरी स्थानीय सरकारलाई संघले भार मात्रै थोपर्ने काम गरेको उनको अनुभव छ । तलब भत्ता पनि अनुदानकै पैसाले खुवाउनु परिरहेको छ । कोरोना महामारी नियन्त्रणमा पनि संघको केही भूमिका देखिएन । ‘ठूला महामारी प्रकोप संघको जिम्मेवारी थियो,’ उनले भने, ‘तर संघले आफ्नो भूमिका देखाएन ।’


हामीले पहिलो लहरमा कोरोना रोकथाम गर्न १७२ बेडको क्वारेन्टाइन बनाएका थियौँ । अस्पताललाई ८ लाख रुपैयाँ सहयोग गरेर त्यहाँ आइसोलेसनको व्यवस्था मिलायौँ । बिरामीलाई ल्याउन÷लैजान नगरपालिकाको एम्बुलेन्स निःशुल्क गर्‍यौँ  । कन्ट्याक्ट ट्रेसिङ, परीक्षणलगायतका कामलाई पनि निरन्तरता दिएका छौँ । यो अहिले पनि जारी छ । 


दोस्रो लहरमा भने पहिलाको अनुभवले धेरै सहज भएको नगरप्रमुख अर्याल सुनाउँछन् । ‘हामीलाई दोस्रो लहर आउँदा धेरै सहज भयो,’ उनले भने, ‘किनकि नगरपालिकामा आइसोलेसन बेड पहिले नै तयार थिए । हामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने आइडिया भइसकेको थियो ।’ दोस्रो लहरमा कृषि, निर्माणलगायत कामलाई सुचारु राखेका छौँ । यसले गर्दा विपन्न र मजदुरलाई ठूलो समस्या नभएको देखियो । महामारी नियन्त्रणमा प्रदेश सरकारसँग  समन्वय भइरहेको छ । ‘हामीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ठूलो सहयोग गर्नुभएको हो,’ उनले भने, ‘तर, संघको सहयोग नरहे पनि प्रदेशले सहयोग र समन्वय  गर्‍यो ।’ 
बेँसीसहर नगरपालिकाले कोभिडका लागि सुरुमा बजेट छुट्याएको थिएन । पहिलो वर्षमा विभिन्न शीर्षकको बजेट रकमान्तर गरेर कोभिड व्यवस्थापनमा खर्च गर्‍यौँ   । तर, दोस्रो वर्षको बजेटमा भने कोभिडका लागि छुट्टै रकम छुट्यायौँ । संक्रमितको हेरचाहका लागि नगरमा रहेका स्वास्थ्य चौकीका कर्मचारी खटाएर काम गरियो । यसपछिका अन्य भेरियन्टका लागि पनि नगरपालिका तयारी अवस्थामा छ ।