close

धुमधामसहित मनाइयो बूढी पोल्ने पर्व

धुमधामसहित मनाइयो बूढी पोल्ने पर्व

Trulli
ADVERTISEMENT

डडेलधुरा - सुदूरपश्चिममा बूढी पोल्ने अर्थात ‘बन्ढुनी पर्व धुमधामका साथ मनाइँदै छ । १ असोजका दिन राक्षस पुतनालाई भगवान्श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । भदौ संक्रान्तिमा सुरु हुने यो पर्व असोज संक्रान्तिमा सकिन्छ । भगवान् कृष्णले पुतनामाथि विजय गरेको अर्थात् आसुरी शक्तिमाथि दैवी शक्तिले विजय गरेको खुसियालीमा पर्व मनाउने गरिन्छ ।


भदौ संक्रान्तिमा गाउँका मानिस नजिकैको वनबाट विभिन्न बुट्यान (झिकणा) काटेर एक ठाउँमा थुप्रो (बन्ढुनी) पार्छन् । त्यो थुप्रोलाई असोज संक्रान्तिमा जलाइन्छ । पर्वको केन्द्रबिन्दु असोज संक्रान्तिलाई मानिन्छ ।


किंवदन्तीअनुसार कंशकी बहिनी पुतनाले कृष्ण भगवान्लाई मार्न खोज्दा आफैं जलेर मरेकी थिइन् । द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुसियालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको पण्डित रामचन्द्र भट्टले बताए ।


यस पर्वमा कुनै देवीदेवताको पूजाआजा गरिँदैन । यसलाई बालप्रधान पर्व पनि भनिन्छ । थुप्रो जलाउँदा बालबालिका ‘गाईबाच्छी पाल बूढी निकाल, थुई बूढी थुई भन्ने गर्छन् ।


किंवदन्तीअनुसार यो पर्वलाई रामायणको कथासँग पनि जोडिएको छ । रावणले सीतालाई हरण गरेर लगिरहेको कागभुषुन्डी जटायुले देखेछ । कागभुषुन्डीले सीतालाई रावणबाट बचाउन रावणलाई टोकेछ । रावणले वाण हानेर कागभुषुन्डीलाई घाइते बनाइदिए । घाइते कागभुषुन्डी बाटोको छेउमा खसेर छटपटाइरहेका बेला सीताको खोजीमा वन विचरण गरिरहेका राम र लक्ष्मणले देखेछन् । 


कागभुषुन्डीले सीता हरणको वृत्तान्त बताउँदै प्राण त्याग गरेछ । त्यसपछि भगवान् रामले कागभुषुन्डीको शरीर जलाई आत्माको चिरशान्तिको कामना गरेका थिए । सोही दिनको स्मरणमा यो पर्व मनाउन थालिएको हो ।


बन्ढुनी सुदूरपश्चिमका हरेक गाउँमा मनाइन्छ । यो सामाजिक र मौलिक पर्व पनि हो । यसमा बाबियो घाँसबाट महिलाको चुल्ठीजस्तै (लुडी) बनाइन्छ । त्यसमा सुन्दरता थप्न खसर्याका पात र चिमालीका सेता राता अनि पहेंला फूल जोडेर चित्ताकर्षक बनाइन्छ । बूढी पोल्न सल्लाको रातो काठलाई राम्रोसँग मसिनो गरेर चिरेर दियालो वा झरोको मसाल (राँका) बनाएर सजाइन्छ ।


त्यस्तै, साथमा बूढी पोल्दा पूजा गर्न भुरुली (काँगन) बाट भुटेर बनाइएको अन्न र काँक्रोको गोल टुक्राले पूजाआजा गर्ने चलन छ । अधिकांश गाउँमा पर्व मनाउने चलनमा समान छ । बालबालिकाहरू साँझको झिसमिसे अँध्यारोमा राँका बालेर एक हातले रंगीचंगी लुडी घुमाउँदै ‘गाईबाच्छी पाल, बूढी निकाल भन्दै वनतिर दौडिन्छन् ।


त्यस समय प्रत्येक गाउँ उज्यालोले झिलीमिली हुन्छन् । यस दिन सबैभन्दा पहिले पाक्ने अन्न भुरुली र काक्रोले पूजा गरिन्छ । बूढी पोलेर मीठामीठा परिकार खाने चलन छ । यो पर्व सुदूरपश्चिमको डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीलगायत पहाडी जिल्लाबाट बसाइँ सरी कैलाली–कञ्चनपुर गएका समुदायसँगै भारतको उत्तराञ्चल कुमाउ–गढवालमा समेत मनाउने चलन छ ।