close

मुगु प्रवेशमा पिसिआर परीक्षण अनिवार्य

मुगु प्रवेशमा पिसिआर परीक्षण अनिवार्य

Trulli
ADVERTISEMENT

मुगु - हिमाली जिल्ला मुगुमा प्रवेश गर्ने व्यक्तिले अनिवार्य कोरोना जाँच अर्थात् पिसिआर परीक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न पाइने भएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्ला प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य गरेको हो । 


नेपाल सरकारले असोज २ बाट लामो दूरीका सवारी साधन तथा हवाई जहाज उडान सञ्चालन गर्ने निर्णयपछि थप संक्रमण बढ्न सक्ने सम्भावनालाई लक्षित गरेर यस्तो व्यवस्था गरिएको हो ।


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, वन तथा वातावरणमन्त्री नन्दसिहं बूढालगायतका नेताको बाक्लो उपस्थिति रहँदा जिल्लामा त्रास बढेको थियो । 


प्रदेशका मन्त्रीहरुको निर्णयमा अब जिल्लामा भित्रिने जोकसैले पनि अनिवार्य पिसिआर रिपोर्ट गरेर मात्र प्रवेश गर्ने, नगरे जिल्ला प्रवेश गर्न नदिने मन्त्रीहरुको निर्णय थियो । तर, मन्त्रीहरुले नै उक्त निर्णय उल्लंघन गरेका छन् ।


कर्णाली प्रदेशका मन्त्रीहरु जिल्लामा भित्रिँदा आफैले बनाएको निर्णय आफंैले उल्लंघन गरेका छन् । ‘मन्त्रीहरु आफै निर्णय गर्छन्, केन्द्र (सुर्खेत) बाट आउँछन् र नेता–कार्यकर्ता भेट्छन् । सभा–सम्मेलन गर्छन् । मुगु प्रवेशमा कोरोना परीक्षण अनिवार्य भनिए पनि उनीहरुले पालना गरेका छैनन् । यसले गर्दा जोखिम झनै बढ्न सक्ने देखियो’, छायानाथ रारा नगरपालिका वडा–५ का स्थानीय रामु विश्वकर्माले भने ।


कर्णाली प्रदेशका मन्त्रीहरुले असोज ३ मा सदरमुकाम गमगढी बजार र सोरु गाउँपालिका वडा–७ तारापानीका नेकपाका स्थानीय नेता/कार्यकर्तालाई जम्मा गरेर भेटेपछि आफैंले गरेको निर्णयलाई पालना नगरेको विश्वकर्माको दाबी छ ।  स्थानीय भन्छन्, ‘दुःखी, गरिबलाई बजार गए पनि दुःख दिन्छन्, आफन्तको घरमा जाँदा पनि पिसिआर छ कि छैन भनेर सोध्छन् । केन्द्र र प्रदेशका मन्त्री आउँदा न पिसिआर चाहियो, न त उनीहरुलाई कसैले रोक्न सक्छ ।’ 


पछिल्लो समय मुगुलाई कोरोनामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, घोषणाको सात दिनपछि छायानाथ रारा नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई कोरोना पोजेटिभ देखिएको हुँदा जिल्ला प्रवेशमा पिसिआर परीक्षण अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।  उनका अनुसार जिल्लाबाहिर रहेका स्थानीय तथा अन्य व्यक्ति मुगु प्रवेश गर्दा अब अनिवार्य पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ ।  


बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुले कोरोना संक्रमण फैलाउन सक्ने भन्दै बैठकले हवाई, स्थलगत र पैदलबाट मुगु प्रवेश गर्नेको ७२ घन्टाभित्रको पिसिआर नेगटिभ रिपोर्ट आएकोे पत्र हुनुपर्ने निर्णय गरेको थियो । परीक्षण रिपोर्ट नभएकालाई जिल्ला प्रवेशको नाकाबाटै फर्काइने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । 


कर्णाली प्रदेशका मन्त्रीहरु सदरमुकाम गमगढी बजार हुँदै बाम, सोरु गाउँपालिकाको तारापानी र छिमेकी हुम्लाको अदानचुली गाउँपालिका हुँदै ताजाकोट र सिमिकोटसम्म पुगेका छन् ।