रोल्पा - अघिल्लो वर्ष विपद् व्यवस्थापनलाई प्राथमिकतामा नपारेका यहाँका स्थानीय सरकारले चालू वर्षमा भने प्राथमिकताको सूचीमा राखेका छन् । पालिका मात्रै हैन, वडा तहमा समेत विपद् व्यवस्थापन कोष खडा गरेर स्थानीय सरकारहरूले यसप्रति संवेदनशील रहेको जनाउ दिएका हुन् ।
अघिल्लो आर्थिक वर्ष विपद् व्यवस्थाका लागि १५ लाख बजेट विनियोजन गरेको रोल्पा नगरपालिकाले चालू आर्थिक वर्षका लागि पनि १५ लाख बजेट विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्ष नगरपालिकाको एउटा वडाले १ लाख बजेट विनियोजन गरेकामा यस वर्ष भने ६ वटा वडाले ६ लाख विनियोजन गरेका छन् ।
यस्तै, सुनिलस्मृति गाउँपालिकाले सो शीर्षकमा अघिल्लो आर्थिक वर्षका लागि २ लाख मात्रै विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि भने उसले १५ लाख विनियोजन गरेको छ । उक्त गाउँपालिकाभित्र रहेका वडाहरूले समेत ४ लाख ७१ हजार बजेट विनियोजन गरेका छन् ।
विपद् व्यवस्थापन ऐन बनाएर अन्य स्थानीय तहभन्दा बढी संवेदनशील देखिएको गंगादेव गाउँपालिकाले उक्त ऐनअनुसार विपद् व्यवस्थापनका गतिविधि सञ्चालन गर्न जरुरी नठानेकै कारण अघिल्लो वर्ष शून्य बजेट विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा भने सो गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष विपद् व्यवस्थापनका लागि बजेट नछुट्याएका सो गाउँपालिकाका कुनै पनि वडाले यस वर्ष सो क्रमलाई निरन्तरता दिएका छन् ।
अघिल्लो वर्ष १० लाख बजेट विनियोजन गरेको सुनछहरी गाउँपालिकाले यस वर्ष ४१ लाख विनियोजन गरेको छ । विपद्को दृष्टिकोणले जिल्लाकै सबैभन्दा संवेदनशील भूगोल रहेका कारण गाउँपालिकाले बजेट विनियोजन गर्दा हरेक वर्ष विपद्लाई प्राथमिकता दिने गरेको छ । जिल्लाको सुगम मानिने रुन्टीगढी गाउँपालिकाले अघिल्लो वर्ष विपद्का लागि ३ लाख रुपैयाँ मात्रै विनियोजन गरेको थियो । कोरोना कहरका कारण चालू आर्थिक वर्षका लागि भने उसले ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यावस्थापन ऐन, विपद् व्यवस्थापन कार्यविधि, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि तर्जुमा गरेर विपद् व्यवस्थापनका सबै कानुन निर्माण गरेको थवाङगाउँपालिकाले अघिल्लो आर्थिक वर्षका लागि विपद् व्यवस्थापनमा १० लाख विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि सो बजेट बढाएर १५ लाख पुर्याएको छ ।
परिवर्तन गाउँपालिकाले अघिल्लो वर्ष यस शीर्षकमा १८ लाख विनियोजन गरेर रोल्पाका अन्य स्थानीय तहको तुलनामा विपद् व्यवस्थापनमा संवेदनशील रहेको देखिएको थियो ।
विपद् व्यवस्थापन कोषका लागि ११ लाख विनियोजन गरेको गाउँपालिकाले विपद्को राहत वितरणका लागि ७ लाख विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि सो गाउँपालिकाले २१ लाख र पालिकाभित्रका विभिन्न वडाहरूले १ लाख ५० हजार बजेट विनियोजन गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष ७ लाख विनियोजन गरेको त्रिवेणी गाउँपालिकाले यस वर्ष भने ४६ लाख विनियोजन गरेको छ । दुई वर्षअघि गाउँपालिका कार्यालय माथिबाट आएको पहिरोले कार्यालयमा क्षति पु¥याउनुका साथै २ जनाको ज्यान गएको लुंग्री गाउँपालिकाले अघिल्लो वर्ष विपद् व्यवस्थापमा नाम मात्रको बजेट विनियोजन गरेको थियो । उसले अघिल्लो वर्षका लागि ५ लाख विनियोजन गर्दा चालू आर्थिक वर्षका लागि भने १० लाख र वडा कार्यालयहरूले २ लाख ८० हजार विनियोजन गरेका छन् ।
अघिल्लो वर्ष १५ लाख बजेट विनियोजन गरेको माडी गाउँपालिकाले चालू आर्थिक वर्षका लागि १५ लाख बजेट प्रस्ताव गरेको छ ।
रुकुम पूर्वमा पनि विपद् व्यवस्थापन प्राथमिकतामा
रोल्पाजस्तै भौगोलिक तथा सामाजिक, आर्थिक अवस्था रहेको रुकुम पूर्वका स्थानीय सरकारहरू पनि यस वर्ष विपद्मा संवेनदनशील देखिएका छन् । रुकुम पूर्वको भूमे गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष विपद् व्यवस्थापन कोषमा १२ लाख विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि सो गाउँपालिकाले ३५ लाख विनियोजन गरेको छ ।
रुकुम पूर्वकै सिस्ने गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा विपद्मा शून्य बजेट विनियोजन गरेको थियो । विपद् व्यवस्था कोष सञ्चालन कार्यविधि तर्जुमा गरेर रुकुम पूर्वका ३ स्थानीय तहमा विपद् संवेदनशीलता देखाउन खोजेको सो गाउँपालिकाले विपद् व्यवस्थापन कोष विनियोजनमा भने चुकेको छ । चालू आर्थिक वर्षका लागि सो गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक वजेट तथा कार्यक्रम नछुट्याएका स्थानीय तहले अघिल्लो आर्थिक वर्ष अन्य शीर्षक परिवर्तन गरेर तथा आवश्यक सहयोग संकलन गरेर कोरोना कोष स्थापना गरेका थिए । विपद् व्यवस्थापन कोष स्थापना गरेका स्थानीय तहले सोही शीर्षकबाट खर्च व्यवस्थापन गरे पनि विपद्लाई प्राथमिकता नदिएका स्थानीय तहलाई भने खर्च व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।
विपद् व्यवस्थापन कोषबाटै कोरोना खर्च व्यवस्थापन गरेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले जानकारी दिए । ‘चालू आर्थिक वर्षका लागि भने ठूलै रकम विनियोजन गरेका छौं,’ केसीले भने । ‘विपद् बाजा बजाएर नआउने भएकाले यसको पूर्वतयारीको विकल्प छैन’, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डिबी घर्तीमगरले भने, ‘पूर्वतयारीका साथै विपद्को समय गरिने राहत तथा उद्धार कार्यक्रमका लागि पनि वजेट जरुरी हुन्छ ।’
अघिल्ला वर्षको तुलनामा चालू आर्थिक वर्ष विपद् व्यवस्थापनमा स्थानीय तहले देखाएको तत्परता प्रशंसनीयरहेको घर्तीको बुझाइ छ । अन्य कानुन तर्जुमा गर्दा विपद् व्यवस्थापन कानुनले कम प्राथमिकता पाएरै अहिलेसम्म अधिकांश स्थानीय तहले कानुन तर्जुमामा भने कन्ज्युस्याइँ गरेको सभापति घर्ती बताउँछन् ।
‘विपद्को उच्च जोखिममा रहेको रोल्पामा स्थानीय तहहरूले बजेट विनियोजन गरेर यसप्रति संवेदनशील देखिनु सकारात्मक पक्ष हो’, स्थानीय तीर्था शर्माले भनिन्, ‘आमागी वर्ष पनि यसलाई निरन्तरता दिनुपर्छ ।’ विपद् व्यवस्थापनका लागि वजेट छुट्याउनु सकारात्मक भए पनि खर्च कहाँ कसरी हुन्छ भन्ने पारदर्शी हुनुपर्ने उनको नागरिक समाज रोल्पाका संयोजक घनश्याम आचार्यको बुझाइ छ ।
विपद् प्रतिकार्यका लागि क्षमता विकास तालिम तथा अन्य जनशक्ति व्यवस्थापन गर्नुपर्ने रोल्पा नगरपालिका वडा– १० का वडा सदस्य शेरबहादुर थापा बताउँछन् ।