close

एसिड आक्रमण गरे आजन्म कैदकाे कानुन तयार

एसिड आक्रमण गरे आजन्म कैदकाे कानुन तयार

Trulli
ADVERTISEMENT

काठमाडौं - सरकारले एसिड आक्रमणको कारण मृत्यु भए दोषीलाई थप सजायसहितको नयाँ प्रावधान ल्याएको छ । सरकारले एसिड आक्रमण गर्नेहरूलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको हो ।


मन्त्रिपरिषद्को बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएपछि कानुनी रुपमा कार्यान्वयनमा आउनेछ ।


अध्यादेशले मुलुकी अपराध संहितामा  एसिडसम्बन्धी अन्य कारबाहीलाई परिमार्जन गरी दोषीलाई थप सजाय हुने व्यवस्था गरेको हो । आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन र यौनांगमा भएको क्षतिअनुसार १० देखि २० वा २० वर्षको कैद सजाय तोकिएको छ भने एसिड आक्रमण गर्दा सम्बन्धितलाई नलागे ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’ मा मुद्दा चलाइनेछ । कसुर प्रमाणित भए १० वर्षसम्म कैद सजाय हुन सक्ने संशोधित ऐनमा व्यवस्था छ ।

 

दुवै आँखा जली वा क्षति भई पूर्ण रुपमा दृष्टि नष्ट भए, दुवै कानको जाली वा क्षति भई सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भए, नाक जले वा क्षति भई काम नलाग्ने भए, अनुहार पूर्ण रुपमा जली वा क्षति भई कुरुप भए, महिला भए दुवै स्तन जली वा क्षति भई काम नलाग्ने भए वा कसैको यौनांग जली वा क्षति भई नासिए यस्तो गर्ने गराउनेलाई २० वर्ष कैद र १० लाख जरिवाना लाग्नेछ ।

 

यस्तै, एउटा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भए, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भए, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भए, दुवै हात जली काम नलाग्ने भए वा दुवै गोडा पूर्ण रुपमा जलेर काम नलाग्ने भए, टाउकोको कुनै भाग जली क्षति भए वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भए १० देखि २० वर्षसम्म कैद र ७ लाखदेखि १० लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।


यस्तै, शरीरको अन्य कुनै अंगभंग वा शारीरिक क्षति भए कसुरको प्रकृतिबमोजिम ५ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागे पनि उद्योग गरेको मानिनेछ र १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।