close

दलित समुदायको आम्दानी स्रोत बन्दै निगालो 

दलित समुदायको आम्दानी स्रोत बन्दै निगालो 

Trulli
ADVERTISEMENT

डडेलधुरा - डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा दलित समुदायले परम्परागत सीपबाट बुनेका निगालोका सामग्रीलाई आम्दानीको स्रोत बनाउँदै आएका छन् । 


कहीँकतै बाँसका बनाइने भए पनि बाँसभन्दा निगालोबाट बनेका सामग्री बढी टिकाउ हुने भएपछि विपन्न दलित समुदायका मानिसले विभिन्न गाउँठाउँ पुगेरै यस्ता सामग्री बेच्ने गरेका हुन् । 


मध्य तथा उच्च पहाडी घना जंगलमा पाइने निगालो काटेर यहाँका दलित समुदायले धान, गहुँ, कोदो भण्डारण गर्न प्रयोग गरिने भकारी डुरो वा रोन्ङो बनाउने गर्छन् ।


अमरगढी–७ पोखरा तिलाडीका पार्की कैनी समुदायका स्थानीयले अहिले निंगालोको डुरो बनाई छिमेकी डोटीसँगै तराईका कैलाली, कञ्चनपुरसम्म पुर्‍याएर बिक्री गर्दै आएका छन् । 


‘परम्परागत रुपमै निगालोका डुरोसँगै डोको, सुप्पो, छापरीलगातय विभिन्न कृषि औजार उत्पादन गरी बिक्री गर्दै आएका छौं । बर्खे अन्नबाली भित्र्याउने यो समय प्रायः धान, कोदो भण्डारणका लागि डुरो बनाई बेच्न निस्केका छौं’, स्थानीय कृष्ण कैनी भन्छन् ।


भदौ, असोजमा जंगलबाट निगालो काटेर ल्याई यस्ता सामग्री बनाउने गरेको उनी बताउँछन् । ‘प्रत्येक वर्ष यो समय डुरो बनाई बिक्रीका लागि खासगरी डडेलधुरा, डोटीका विभिन्न गाउँगाउँ चहार्ने गरेका छौं’, उनले भने । १ डुरोमा २ क्विन्टलभन्दा बढी अन्न भण्डारण गर्न सकिन्छ । ३ हजारदेखि ४ हजारसम्ममा एउटा डुरो बेच्ने गरेको उनी सुनाउँछन् । 


चाडपर्वको समय निगालोका सामग्री बेचेर घरखर्च तथा मेलापर्व मनाउने गरेको अर्का स्थानिय जोग पार्की सुनाउँछन् । ‘अब हिउँदे खेती गहुँ छर्ने समय पनि आउनै लाग्यो । खेतबारीमा गाई–गोरुको मल बोक्न डोकोे (पर्सो) चाहिन्छ । १ डोको ३ सय र घाँस काट्न प्रयोग हुने ठूलो डोकोलाई ५ सयभन्दा बढीमा बिक्री हुन्छ’, उनले भने ।


पहिले अन्नसँग साटासाट गरिने निंगालोको डुरो, डोको, सुपो, छापरी अचेल भने नगदै कारोबार हुने गरेको छ । ‘अन्न, दाल, बाख्रासँग साटासाट गर्दा बेच्न बजार खोज्नुपर्ने भएकाले आजभोलि नगदै कारोबार गर्छौं’, स्थानीय कमल कैनी भन्छन्, ‘पहिले खलो प्रथा थियो । आजकाल त्यो रहेन । त्यसबेला यस्ता सामग्रीको बजार नहुँदा पैसा पनि हुँदैनथ्यो । त्यसकारण हामीले नगद कारोबार गरिरहेका छौं ।’


निगालोका सामग्री व्यावसायिक रुपमा उत्पादन गर्न सीप विकाससँगै बजार प्रवद्र्धनका लागि विभिन्न संघसंस्थाले समय–समयमा सहयोग गरे पनि त्यो टिकाउ नभएको उनको अनुभव छ ।


लघु उद्यमीलगायतका संघसंस्थाले बाँस–निगालोका अन्य सामग्री ¥याक, फोटो फ्रेम, मूर्ति, बेन्च, टेबुल, कुर्सी बनाउन तालिम दिए पनि स्थानीयले तदारुकता नदेखाउँदा व्यावसायिक हुन नसकेको उनी ठान्छन् । 


पछिल्ला वर्षमा जंगलमा प्रशस्त निगालो  नपाइनु तथा बढ्दै गएको बजारीकरणले प्लास्टिक, जस्ता, स्टिललगायतका सामग्री प्रचलनमा आउँदा निगालोबाट बनेका घरेलु उत्पादनले बजार पाउन कठिनाइ हुन थालेको स्थानीय बताउँछन् ।