close

बाह्रबिसे पहिरो अपडेट: मृतक ९ जनाको सनाखत

बाह्रबिसे पहिरो अपडेट: मृतक ९ जनाको सनाखत

Trulli
ADVERTISEMENT

बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिए ।  
उनका अनुसार पहिरामा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ छन् ।
क्षतिको विवरण संकलन भइरहेको छ । पहिरामा २२ जना अझै बेपत्ता छन् । भिरखर्क पहिरामा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । 

लिदीका पहिरो पीडितलाई सहयोग

गैरआवासीय नेपाली सघं (एनआरएनए एनसिसी) नेदरल्यान्डसले जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरा पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्यान्डसले संकलन गरी पठाएको रु दुई लाख १८ हजार ५२६ पहिरो पीडितको अस्थायी बस्ती बासखर्क पुगेर संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरे ।

उनले  वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा एनआरएनएका तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी थिए ।

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरा पीडितहरुको जीविकोपार्जनमा खर्च गरियोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताए । 

जुगलमा गत ३० साउनमा गएको पहिरोमा ३९ जना बेपत्ता भएकामा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् ।  सीता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्यान्डसबाट संकलित रकम लिदी पठाइएको हो ।

पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छ: सभामुख सापकोटा

सभामुख सापकोटाले बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने बताएका छन् । उनले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नु पर्ने÷नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था हुन्छ’, सभामुख सापकोटाले भने । 

``

गए राति गएको पहिराले ११ घर क्षति भई नौ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । तीनजना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

यसैगरी आइतबार बिहान गएको पहिराले जुगल गाउँपालिका–४ चनौटेमा तीन घर पूर्ण रुपमा क्षति भई स्थानीय विमला पौडेल घाइते भएकी छिन् । त्यस्तै वडा नं १ सेलाङको देउरालीमा पहिराले सात घरका परिवार विस्थापित भएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिए । 

३ जनाको शव भेटियो

बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका तीन जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

नागपुजेमा १५ र भीरखर्कमा नौ गरी अझै २४ जना बेपत्ता छन् । उनीहरूको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।

महिलाको शव फेला

लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । 

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

``

सिन्धुकोटका ९ घर जोखिममा
 
मेलम्ची नगरपालिका–५ सिन्धुकोट गोल्पुटोलमा गएरातिको अविरल वर्षापछि आएको पहिरोको कारण बस्ती जोखिममा परेको छ । नौ घर रहेको उक्त बस्तीमा चारैतिर पहिरो आउन थालेपछि बस्नका लागि जोखिम भएको हो ।
 
तत्काल बस्ती नसारेमा थप विपत्तिको सामना गर्नुपर्ने स्थानीय सुनिल मिजारले बताउनुभयो । त्यसैगरी सिन्धुकोटकै कमल श्रेष्ठ, चेतकुमारी राना, रामबहादुर राना, कृष्णबहादुर मिजार, डल्ली सार्की र कुमार मिजारको घर पनि जोखिममा परेको छ ।
 
यस्त, जुगल गाउँपालिकाको चनौटेमा पाँच घर पहिरोमा परेको छ । दुई घर पूर्णरूपमा पुरिएको छ भने तीन घरमा क्षति पुगेको छ । एक जना घाइते भएको गाउँपालिका उपप्रमुख सिर्जना तामाङले जानकारी दिइन् ।