close

भैरवी गाउँपालिकाको समृद्धि यात्रा

शिक्षा, स्वास्थ्य र विद्युतमा उल्लेख्य काम

भैरवी गाउँपालिकाको समृद्धि यात्रा

शिक्षा, स्वास्थ्य र विद्युतमा उल्लेख्य काम

Trulli
ADVERTISEMENT

दैलेख - दैलेखको भैरवी गाउँपालिकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणलाई प्राथमिकता दिने भएको छ ।


 भैरवीका ७ वटै वडाले जनतालाई सहज रुपमा एकीकृत सेवा दिने उद्देश्यले वडा कार्यालय भवन निर्माण गर्नुका साथै पुराना कार्यालयलाई पुनर्निर्माण गर्ने भएको छ । पालिकाले ६ वडाहरुमा वडा कार्यालय निर्माणका लागि काम भइरहेको र बाँकी १ वडाको भवन निर्माणको तयारी पनि सुरु भएको जनाएको छ । 

 

किसानलाई कृषि पेसामा प्रोत्साहन दिन गाउँपालिकाको वडा– ७  का २ स्थानमा डेरी सञ्चालन सुरु गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए । ‘स्थानीय सरकारको कामको मूल्यांकन र समीक्षा गर्ने समय भयो । त्यसैले गाउँपालिकाले विगतमा सुरु गरेका र पूरा हुन नसकेका योजनालाई यो वर्ष पूर्ण कार्यान्वयन गर्ने तयारी थालेको छ’, उनले भने ।

 

विकासको आधार सडक भएकाले वडा–३ को सहिदगेटदेखि डाँडीमाडी, गौनी, बहाचौवर, कुर्माकोट, कुटी सडक, कुसापानी, गैरासरु, कडेनी, माथिल्लो डुंगेश्वर, मालिका दुल्लु–डाँडीमाडी, कुसापानी, कालिकोट, जुम्ला,  मुगु तिब्बतको नाप्चेनागल जोड्ने योजनाका साथ सडक निर्माणको भइरहेको छ । आउँदो मंसिरभित्रमै दैलेखको ब्याउली लेकबाट कालीकोट सडक पुग्ने बुढाले बताए ।

 

भैरवी गाउँपालिकाको ७ वटै वडामा सडक विस्तार भइसकेको छ भने गाउँपालिकाको आफ्नै लगानीमा कालेगौडामा १ सय २५ मिटर कालोपत्रे भएको र भीरखेतदेखि चगत्राबजारसम्म १० किमि मध्यपहाडी राजमार्गमा कालोपत्र गर्ने काम भइरहेको अध्यक्ष बुढाले जानकारी दिए । 

 

‘जनप्रतिनिधिको पहिलो दायित्व जनताको काम गर्नु हो ।  स्थानीय स्तरमा केही गर्ने इच्छा, जाँगर भएका र कृषि पशुपालन व्यवसाय सञ्चालन गर्ने कृषकलाई अनुदान दिएर विदेशिने युवालाई गाउँमै स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं’, गाउँपालिका उपाध्यक्ष पदमकुमारी विष्टले भनिन् ।

 

भैरवीले अगाडि सारेको सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रम विद्युत् प्राधिकरणले स्वीकृत गरेको छ । योसँगै जिल्लामा पहिलो पटक १० करोडको ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रम सञ्चालनमा आएको छ ।

 

प्रत्येक वडाहरुमा विद्युत् पुर्‍याउने उद्देश्यले अहिले विद्युतीकरण चलिरहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । ग्रामीण विद्युतीकरण साझेदारी गर्ने भैरवी गाउँपालिका नेपालको पहिलो स्थानीय तह भएको उनको दाबी छ ।  दैलेख उज्यालो बनाउने अभियानको काम पहिलो पटक भैरवीबाट सुरु गरिएको उनको भनाइ छ ।

 

भैरवीले विनियोजित गरेको १ करोड ३ लाख १४ हजार ७ सय ९३ रुपैयाँ र सरकारले उपलब्ध गराएको १० करोड ३१ लाख ४७ हजार ९ सय ३१ रुपैयाँको लगानीमा गाउँपालिकामा विद्युतीकरणको काम अगाडि बढिरहेको अध्यक्ष बुढा बताउँछन् । 

 

‘अहिले पालिकाका विभिन्न वडाहरुमा विद्युतीकरणमध्ये मुख्य लाइनसँगै सहायक लाइन तान्ने काम भइरहेकोे छ । बीचमा बर्खाका कारण केही ढिलो भए पनि करिब ८० प्रतिशत विद्युतीकरणको काम सकिइसकेको छ’, उनले भने ।

 

यो बजेट अपुग भएकाले यो वर्ष भैरवीले सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमका लागि ६३ लाख रकम छुट्याइएको उनले जानकारी दिए । सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम साझेदारीमा ९० प्रतिशत अनुदान दिए ५ करोड बराबरको रकम पुग्नेछ । विद्युत् विस्तार हुन सके भैरवी गाउँपालिकाको ९८ प्रतिशत घरधुरीमा बिजुली बत्तीको पहुँच पुग्ने दाबी अध्यक्ष बुढाले गरे ।

 

दुर्गम बस्तीमा मोटर

 

विकासबाट पछाडि परेका जिल्लाका दुर्गम बस्तीमा घर अगाडिबाटै गाडी गुड्न थालेपछि स्थानीय खुसी छन् । गाउँमै सडक पुगेपछि धेरै सहज भएको उनीहरु बताउँछन् । 

 

‘पहिले भैरवीबाट दैलेख सदरमुकाम जान  पैदलै यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले घरआँगनमै सडक आएसँगै गाडी चल्न थाले’, वडा– ७ का स्थानीय तुलाराम अधिकारी खुसी सुनिन्छिन् ।

 

गाउँपालिकाले ७ वटै वडामा सडक पुर्‍याएको छ भने पहिले निर्माण गरिएका सडकलाई स्तरोन्नति गर्ने काम धमाधम अगाडि बढाइएको गाउँपालिकाका इन्जिनियर हीरासिंह थापाले बताए ।

 

‘पालिकाहरुमा खनिएका सडकको लागत, स्थानीयले पाएको लाभ, पालिकाभित्र ५  लाखभन्दा माथिको बजेटमा निर्माण भएका जुनसुकै योजनाको पनि सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ हुँदै आएको छ’, उनले भने । 

 

जनताका लागि गरिने विकास निर्माणमा आएको बजेटलाई पारदर्शी बनाइएको गाउँपालिकाकी उपाध्यक्ष विष्ट बताउँछिन् । गाउँपालिकाले दुर्गमका स्थानीयलाई लक्षित गरी पालिकाकै लगानीमा एम्बुलेन्स सेवा सञ्चालन गरेको उनको भनाइ छ ।

 

गाउँपालिकाका गरिब, असहाय नागरिकलाई न्यून शुल्कमा उपचार सेवा दिन थालिएको वडा–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहीले बताए । पालिकाले स्थानीय स्तरमै प्राविधिक शिक्षा सञ्चालन गरेपछि प्राविधिक शिक्षा पढ्न सदरमुकाम वा बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटेको उनको दाबी छ । ‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अहिले स्थानीय स्तरमै प्राविधिक शिक्षा सञ्चालन भएपछि सहज भएको छ’, शाही सुनाउँछन् । 

 

७ वडा रहेको गाउँपालिकाका ६  वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिसकिएको छ । स्वास्थ्य शाखा प्रमुख धु्रवकुमार आचार्यका यी वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रबाट अनमीमार्फत सेवा दिइँदै आएको छ । 

 

‘वडा स्तरमा रहेका स्वास्थ्य इकाइबाट प्राथमिक उपचार बर्थिङ सेन्टर सञ्चालन, परिवार नियोजन सेवा, मातृशिशु सेवा दिन थालिएको छ भने पालिकामै १५ शैयाको अस्पताल निर्माणका लागि बजेट विनियोजन भएको छ’, आचार्यले भने ।