close

दाङकाे तटीय क्षेत्रमा प्रभावकारी हुँदै पूर्वसूचना प्रणाली 

दाङकाे तटीय क्षेत्रमा प्रभावकारी हुँदै पूर्वसूचना प्रणाली 

Trulli
ADVERTISEMENT

दाङ - जिल्लाको बबई नदी तटीय क्षेत्रमा गत साता अविरल वर्षा भयो । १ घन्टामा ६० मिलिमिटरभन्दा बढी वर्षा भएपछि बबई तटीय क्षेत्र अनि त्यस आसपासका नागरिकलाई सचेत गराउन तथा बाढी र वर्षाको अवस्थाबारे पूर्व जानकारी दिन जल तथा मौसम विज्ञान विभागले स्थानीयलाई सचेत बनयो ।


विभागले बेलझुन्डीलगायत बबई नदी जलाधार क्षेत्रभित्रका समुदायका व्यक्ति एवं जनप्रतिनिधिहरूको मोबाइलमा एकाबिहानै एसएमएस पठाएर सूचित गर्‍यो । रातमा आएको एसएमएसले केही छिन चकित बनाए पनि यो पूर्वसूचनामूलक सन्देशले सबैलाई सचेत मात्रै होइन, पूरा गाउँ र बस्तीलाई एकसाथ ब्युँझायो ।


सबै पूर्वसूचना प्रणालीमार्फत आएको पहिलो सन्देशलाई आधार बनाएर सुरक्षित बन्न लागे । बिहानसम्मै पानीको बहाव नघटेपछि सुरक्षित स्थानको खोजी गरी सुरक्षा बन्दोबस्तीको तयारी गरियो ।
बिहान ५ बजेपछि वर्षाको मात्रा केही कमी भएसँगै सबै सुरक्षित भएको महसुस गरे ।


विसं ०७१ र ०७४ मा बबई नदीमा आएको बाढीका कारण प्रभावित नदी तटीय क्षेत्रका नागरिकलाई यस पटकको पूर्वसूचनाले सचेत बनायो । 


राती साढे ३ बजेको एसएमएसमा बबई नदी तटीय क्षेत्र र आसपासका सहायक नदी खोलामा प्रतिघन्टा ६० मिलिलिटरभन्दा बढी पानी परेपछि डुबान हुन सक्ने, पहाडी इलाकामा पहिरो जान सक्ने र खहरे खोला तटीय क्षेत्रमा कटान हुन सक्ने भन्दै सबैलाई सावधानी अपनाएर सुरक्षित हुन अनुरोध गरिएको थियो । 


तुलसीपुर– १३ बखरिया सामुदायिक विपद् व्यवस्थापन समितिअन्तर्गत पूर्वसूचना प्रणाली कार्यदलका सदस्य देवीराम कुसारीको मोबाइलमा यही  सूचना प्राप्त भयो । प्राप्त भएलगत्तै उनले समुदायका सबैको मोबाइलमा घन्टी बजाएर सुरक्षित रहन खबर गरे । उनले भने, ‘प्रायः स्थानीय सबैकहाँ खबर आयो, नपाएकाहरूलाई राती नै हामीले खबर गरेर सुरक्षित हुने वातावरण बनायौं ।


अघिल्ला वर्षभन्दा यो वर्ष बाढीको प्रकोपबाट हुन सक्ने सम्भावित क्षति कम गर्न र व्यक्तिमा उत्पन्न हुने मानसिक तनाव हटाउन प्रभावकारी हुन्छ भन्नेमा हामी ढुक्क थियौं । पूर्वसूचनाको अभ्यास यसपालि स्थानीय स्तरमा प्रभावी देखियो ।’


सँगसँगै पूर्वसूचनाले बाढी प्रभावित क्षेत्रमा सचेतना बढाउने काम गरेकामा नेपाल रेडक्रस सोसाइटीलगायत साझेदार निकाय प्राक्टिकल एक्सन नेपाललाई समेत स्थानीयले धन्यवाद दिए ।


अहिलेसम्म यति धेरै पानी परेको थिएन,’ उनले भने, ‘यो वर्षकै धेरै पानी परेको र तटीय क्षेत्रका नागरिक आकस्मिक बाढीको जोखिममा भएका बेलाको पूर्वसूचनाले धेरै सहज बनायो ।’ अहिलेसम्म स्थानीय सरकारले नदी तटबन्धको काम नगर्दा अहिले पनि त्रास भइरहेकोप्रति भने उनले गुनासो गरे ।


तुलसीपुर–१२ कचिलाका रामजन चौधरीलाई राती मोबाइलमा बजेको एसएमसएको घन्टीले आँखा खुलाउँदा रिस उठेको थियो । तर, उठेर मोबाइल हेर्दा पहिले उठेको रिस वर्षा र बाढीको सूचनाको एसएमएस भएकाले शान्त भयो । 


चौधरीले राती नै एसएमएस पढ्नासाथ सबै परिवारलाई बबई नदीमा बाढी आउन सक्ने खबर प्रवाहसँगै सुरक्षित हुन आग्रह गरे र आफूले प्राप्त गरेको सूचना अन्य व्यक्तिलाई समेत जानकारी गराउन आग्रह गरे । 


उनले भने, ‘यो चेतावनीका लागि मात्र हो । डराउनु पर्दैन । तर, वर्षाको मात्रा बढ्दै गए अर्को एसएमएस प्राप्त हुनासाथ अत्यावश्यक सामग्रीका साथ सुरक्षित स्थानमा सबै उपस्थित हुनु होला । हेलचेत्र्mयाइँ गर्नुभयो भने मानवीयलगायत आर्थिक क्षति हुने जानकारी गराएँ ।’


अहिले जिल्लामा बाढी पूर्वसूचना प्रणाली समुदाय स्तरमा प्रयोग हँुदै प्रभावकारी बन्न थालेको छ । ‘बाढी पूर्वसूचना प्रणाली प्रयोगमा ल्याएपछि समुदाय स्तरका नागरिकको चेतना स्तर धेरै बढेको छ,’ नेपाल रेडक्रस सोसाइटी विपद पूर्वतयारी तथा बाढी पूर्वसूचना प्रणाली सबलीकरण परियोजनाकी सामाजिक परिचालक तथा स्थानीय जानमती चौधरीले भनिन्, ‘यो अभ्यास सबैसम्म पुगेको छ ।’


उनले अवस्थाअनुसार स्थानीय स्तरमा उपलब्ध दक्ष जनशक्तिबाट आवश्यक सामग्री प्रयोग गरी उद्धार कार्यमा सघाउँदै आएकी छन् । आपतकालीन समयमा (बाढीपहिरो, महामारी) पनि नेपाल रेडक्रस सोसाइटी ले समुदाय स्तरमा प्रदान गरेको सूचना प्रणाली सामग्री प्रयोग गरी समुदाय स्तरमा सूचना सम्प्रेषण कार्य गर्दै आएको छ । 


रेडक्रस दाङले विपद् पूर्वतयारी तथा बाढी पूर्वसूचना प्रणाली सबलीकरण परियोजना सञ्चालन गरेर २ वर्षदेखि जिल्लाका ८  पालिकाका बाढीबाट बढी प्रभावित ३४ वडाका ९८ वटा नदी तटीय समुदायका बासिन्दामा पूर्वसूचना प्रणालीको अभ्यास गराउँदै आएको परियोजना संयोजक सन्तोष ढकालले बताए । 


बबई नदी तटीय क्षेत्रमा मात्र हैन, राप्ती नदीलगायत तटीय क्षेत्रमा पनि यसको उपयोग भएको उनको भनाइ छ ।


२४ घन्टाभित्र १ सय ४० मिलिमिटरभन्दा बढी पानी परे त्यसलाई चेतावनीको स्तर मानिन्छ भने जल तथा मौसम विज्ञान विभागले १ घन्टामा ६० मिलिमिटरभन्दा बढी पानी परेपछि समुदाय स्तरमा (मोबाइलमा एसएमएस) पूर्वसूचना पठाउने गर्छ ।


सोही एसएमएसका आधारमा समुदायका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिन्छ भने वर्षा र बाढीका कारण हुने क्षति कम गर्न सकिन्छ ।