close

बर्दघाटमा सुर्ती-गुट्खा प्रतिबन्ध: बेच्नेलाई ५ हजार, खाए १ सय रुपैयाँ जरिमाना

बर्दघाटमा सुर्ती-गुट्खा प्रतिबन्ध: बेच्नेलाई ५ हजार, खाए १ सय रुपैयाँ जरिमाना

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगर क्षेत्रलाई पाउचमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरेको छ । नगरपालिकाको पहिलो नगरसभाले पारित गरेबमोजिम पालिकाले पाउचमा प्याकेजिङ गरिएका सुर्ती तथा सुर्तीजन्य वस्तु नबेच्न आग्रह गर्दै आएको थियो ।

 

बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले प्लास्टिक पाउचमा प्याकेजिङ गरिएका सुर्ती तथा गुट्खाका कारण नगरको सौन्दर्य बिग्रिने र दुर्व्यसनकाे सुरुवात गुट्खाबाट हुँदै आएकाले सुर्ती तथा गुट्खा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको बताए । 

 

‘प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्ती तथा गुट्खा प्रयोगले नगरको सौन्दर्य बिग्रिन्छ’, नगरप्रमुख बस्यालले भने, ‘बालबालिकाहरूले दुव्र्यसनको सुरुवात गुट्खा हुँदै सुर्तीबाट ठूलो दुर्व्यसनीमा फस्ने गरेका देखिन्छ । त्यही कारण प्रतिबन्ध लगाइएको हो ।’ 

 

नगरमा  दुर्व्यसनी न्यूनीकरण गर्न यो कदम महत्त्वपूर्ण हुने नगरप्रमुख बस्यालले बताए । सुर्ती तथा गुट्खा सेवनबाट लाग्ने प्राणघातक रोगबाट बच्न र बचाउन यसले मद्दत गर्ने नगरप्रमुख बस्यालको विश्वास छ ।

 

१ साउन २०७७ देखि नगरमा पाउचमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको र यसमा उद्योगी, व्यवसायी तथा जनप्रतिनिधि एवं सबै सरोकारवालाको साथ रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए । 

 

‘१ साउनदेखि तयारी गरेर यहाँसम्म आइपुगेका हौँ’, पाध्याले भने, ‘यसबाट नगरमा पाउचका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा निकै कमी आएको छ । अझै कमी आउँछ ।’

 

नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले निर्णय कार्यान्वयनमा व्यवसायी तथा टोल विकास संस्थाहरूको समेत प्रतिबद्धताले महत्त्वपूर्ण काम गरेको जानकारी दिए । ‘पूर्वनिर्णयलाई कार्यान्वयन गर्न हामीले सहजीकरण गर्‍यौँ’, ज्ञवालीले भने, ‘त्यसपछि सबैको सहकार्यबाट प्रतिबन्ध लगाएका हौँ ।’

 

सरकारी कार्यालयको सय मिटर आसपासमा चुरोट पनि बेच्न नदिइने उनले दाबी गरे । तर, पाउचमा प्याक गरिएकाबाहेकका खैनी तथा प्याकेट चुरोट बेच्नका लागि मदिरा जस्तै छुट्टै दर्ता एंव अनुमति लिनुपर्ने ज्ञवालीले बताए । 

 

स्टल बनाएर छुट्टै व्यवस्थापन गरेर मात्र पाउचबाहेकका सुर्ती, गुट्खा र प्याकेट चुरोट बेच्न पाइने भए पनि खुला रूपमा चुरोटका खिल्ली बेच्न नमिल्ने ज्ञवालीको भनाइ छ । त्यस्तै, नगरपालिकाले छुट्टै दर्ता नगरी अवैध रूपले चुरोट बेच्ने व्यवसायी र सार्वजनिक रूपमा सेवन गर्नेहरूलाई जरिमाना गर्ने तयारी गरेको ज्ञवालीले बताए ।

 

‘अवैधानिक तरिकाले बेचेमा व्यवसायीहरूलाई पाँच हजार रुपैयाँसम्म जरिमाना गर्ने कानुनी प्रावधान छ’, ज्ञवालीले भने, ‘सार्वजनिक स्थलमा सेवन गरेको पाइए एक पटकलाई एक सय रुपैयाँ र अटेर गरेमा पाँच हजारसम्म जरिमाना हुन्छ ।’

 

प्रतिबन्ध लगाउनूपूर्व नगरपालिकाले सुर्ती तथा गुट्खा बेच्ने वितरकहरूलाई समेत नगर क्षेत्रभित्र सप्लाई नगर्न पत्राचार गरेको थियो । यसअघि भदौ महिनामा नगरपालिकाको तर्फबाट उपप्रमुख मायादेवी पौडेलको नेतृत्वमा बजारमा अनुगमन गर्दा पाउचका सुर्ती तथा गुट्खा ठूलो मात्रामा बरामद गरिएको थियो ।  

 

अनुगमन अधिकृत पुष्कर काफ्लेले बरामद गरिएका पाउचका सुर्ती तथा गुटखा इलाका प्रहरी कार्यालय बर्दघाटलाई बुझाइएको जनाए । त्यसलाई प्रक्रिया पुर्‍याएर नष्ट गर्ने योजना रहेको उनको भनाइ छ ।