close

५ दिनका लागि सुनवल नगरपालिका बन्द

५ दिनका लागि सुनवल नगरपालिका बन्द

Trulli
ADVERTISEMENT

नवलपरासी - सुनवल नगरपालिका नगर कार्यपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा ३० असोजसम्मका लागि बन्द गरिएको छ । 

 

शुक्रबार नगरपालिकाका कर्मचारीसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले एउटा सूचना जारी गर्दै नगर कार्यपालिकालाई आइतबारदेखि पाँच दिनका लागि बन्द गर्ने जानकारी गराएको हो । 

 

सुनवल नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै समितिका संयोजक एवं नगरप्रमुख भीमबहादुर थापाले विषम परिस्थितिमा नगरवासीलाई कोभिड– १९ बाट बच्न आग्रह गरे । उनले केही समयदेखि सामाजिक दूरीसहित विद्यालय खुले पनि आगामी १ कात्तिकदेखि विद्यार्थीहरूलाई विद्यालय नबोलाउन निर्देशन दिइएको बताए ।

 

थापाले हाल वडावडामा स्थापना भएका सामुदायिक क्वारेन्टाइन हटाई सामुदायिक भवनमा व्यवस्थापन गर्ने वा नगरपालिकाको आइसोलेसनलाई मात्र प्रभावकारी बनाउने बताए । उनले भीडभाड नहुने गरी स्थानीय व्यापारीहरूलाई मात्र हप्ताको सातै दिन हाट बजार संचालन गर्ने गरी तयारी थालिएको बताए ।

 

नगरप्रमुख थापाले कोभिडको व्यवस्थापनमा नगरपालिकाले उदाहरणीय कार्य गरेको भन्दै यूएसआईडीले ‘तयार नेपाल’ नामक कार्यक्रमका लागि एक करोड रुपैयाँ बराबरको कार्यक्रम प्रदान गरेको जानकारी दिए ।

 

त्यसमा कृषि, साना व्यापारी, यातायात व्यवसायी गरी १५७ जनालाई ३२ हजार रुपैयाँका दरले राहत प्रदान गरिने उनले बताए । २०३ जनालाई २० दिनका लागि ‘क्यास फर वर्क’ भनेर काममा आधारित राहत प्रदान गरिने उनले जानकारी दिए ।  

 

सरकारले स्थानीय तहमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीसहित पाँच बेडको कोभिड हस्पिटल निर्माण गर्ने निर्देशनअनुसार आवश्यक जनशक्तिका लागि कर्मचारी माग भइसकेको र निकट भविष्यमा संचालन गर्ने तयारीमा रहेको उनले बताए ।

 

यसैगरी नगर उपप्रमुख दधिराम अर्यालले कोरोना भाइरस कोभिड– १९ का लागि सबै क्षेत्रबाट सहयोग प्राप्त भएकाले सुनवल नगरपालिका कोरोना नियन्त्रणको क्षेत्रमा सहज भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यसैगरी सहयोग जारी रहने विश्वास  व्यक्त गरे ।


थापाले नजिकिँदै गरेको दशैँ÷तिहार जस्ता चाडपर्वहरूलाई मध्यनजर गरेर बजार अनुगमनमा तीव्रता दिइनेसमेत जनाए ।