close

सिस्नेमा देउसीदेखि जमघटसम्म प्रतिबन्ध

सिस्नेमा देउसीदेखि जमघटसम्म प्रतिबन्ध

Trulli
ADVERTISEMENT

रुकुमपूर्व-  जिल्लाको सिस्ने गाउँ कार्यपालिकाको आइतबारको बैठकले कोरोना संक्रमण दर वृद्धि भइरहेको भन्दै आउँदै गरेको दशैँ-तिहारमा सबैखाले जमघट तथा भेटघाटमाथि प्रतिबन्ध लगाएको छ ।

 

मानिसको जमघट तथा रमाइलोले कोरोना संक्रमणलाई निम्तो दिने अवस्था आँकलन गरेर चाडपर्वमा जमघट तथा भेटघाट प्रतिबन्ध लगाउने निर्णय भएको वडा- २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिए ।


‘कोरोना कहरलाई दृष्टिगत गरी यस पटकको दशैँ-तिहारमा सामूहिक पूजापाठ, नाचगान, देउसी-भैलोलगायतका जमघट हुने काम प्रतिबन्ध गरिएको हो । परिवारसँग बसेर खुसी साट्न भने पाइनेछ’, पालिका प्रवक्ता केसीले भने ।


गाउँपालिकामा शिक्षण संस्था सुचारु गर्न जनप्रतिनिधि तथा विद्यालयका प्राधानाध्यापकसँग छलफल अगाडि बढाइएको उनले बताए ।


प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सार्वजनिक पूर्वाधार मर्मतसम्भार तथा सुधारका लागि ५१ लाख ७० हजार रुपैयाँ बजेटबाट गाउँपालिकाका १००  व्यक्तिलाई अनिवार्य सय दिन काम दिने, प्रदेश सरकारबाट शव वाहनका लागि उपलब्ध १५ लाख रुपैयाँबाट शव वाहन खरिदका लागि प्रक्रिया अगाडि बढाउने र गाउँपालिकाले बनाएको गुरुयोजनाअनुसार समृद्ध सिस्ने निर्माणका लागि सूचकहरू पूरा भएका टोलका प्रत्येक वडामा एक/एक टोललाई नमुना टोलका रूपमा विकास गर्नेलगायतका निर्णय कार्यपालिका बैठकले गरेको छ ।


यस्तै, देश विदेशबाट जिल्ला तथा स्थानीय वडामा आउने व्यक्तिले वडा कार्यालयमा सम्पर्क गरी स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी होम क्वारेन्टाइनमा बस्न पाउनेछन् भने घरमा बस्न नमिल्नेहरू गाउँपालिकाको क्वारेन्टाइनमा बस्नुपर्ने प्रवक्ता केसीले बताए ।