close

रामग्राममा बन्दै घन्टाघर

रामग्राममा बन्दै घन्टाघर

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरको पहिचान बढाउन जिल्ला सदरमुकामस्थित परासीको महेशपुरचोकमा घन्टाघर निर्माण सुरु गरेको छ ।


नगरका ऐतिहासिक पर्यटकीय स्थल रामग्राम स्तुप, पण्डितपुरलगायतको प्रचार-प्रसारसँगै नगरको सौन्दर्यकरणका लागि घन्टाघर निर्माण थालिएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । 


बौद्धकालीन रामग्राम स्तुप र पण्डितपुरको पर्यटकीय विकाससँगै घन्टाघरले पनि नगरलाई छुट्टै पहिचान स्थापित गर्न सहयोग पुग्ने नगरप्रमुख गुप्ताको विश्वास छ । ‘यसले नगरको पहिचानलाई थप मजबुत बनाउँछ’, नगरप्रमुख गुप्ताले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्छ ।’


रामग्राम साविक नवलपरासीकै पहिलो नगरपालिका हो । नगरले परासी बजारकै केन्द्रमा घन्टाघर बनाइरहेको छ, जुन भुमहीदेखि भैरहवा जाने फराकिलो बाइपास रोडसँगै रहेको छ । ७२ लाखको लगानीमा निर्माणाधीन प्यागोडा शैलीको घन्टाघर नगरको गौरवको योजना हो ।


सबैभन्दा माथि पित्तलको गजुर र त्यसभन्दा मुनि घडी, बीचमा बुद्धको प्रार्थना चक्र र रामग्राम स्तुप राखिने घन्टाघर लुम्बिनी प्रदेशकै नमुना र देशैभरमै नौलो हुने नगरपालिको दाबी छ ।


घन्टाघर चालू आर्थिक वर्षमै सम्पन्न गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए । ‘नगरको गौरवको योजना हो’, पन्थीले भने, ‘यसै वर्ष सम्पन्न हुन्छ  ।’


योजना निर्माण जिम्मा लिएको अभियन्ता कन्स्ट्रक्सन बुटवलले ४५ प्रतिशत कार्य सकिइसकेको इन्जिनियर सतिशकुमार गुप्ताले बताए । ‘सबैभन्दा तल घन्टाघरको घेराभित्र फूलका बिरुवा रोपेर आकर्षक बनाइन्छ’, उनले भने ।