close

रुकुम पश्चिमले लगायाे मेलाजात्रामा रोक 

रुकुम पश्चिमले लगायाे मेलाजात्रामा रोक 

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - जिल्लामा यो वर्ष मेलाजात्रामा रोक लगाइएको छ । कोरोना जोखिम बढिरहेकाले नागरिक भीडभाडमा नजाउन् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले  विविध चाडपर्वमा लाग्ने मेलाजात्रामा रोक लगाएको हो । 


मेलाजात्रामा हजारौंको भीडभाड हुने हुँदा कोरोना फैलिन सक्नेतर्फ सचेत रहँदै प्रशासनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमार्फत यस्तो निर्णय गरेको हो । 


चाडपर्वमा मानिसको भीड बढी हुने हुँदा कोरोना रोकथाम तथा नियन्त्रणमा चुनौती थपिने देखिएपछि कुनै पनि मेलाजात्रामा रोक लगाउने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । 


‘मान्छेको ज्यानभन्दा ठूलो अरु केही होइन’, गैरेले भने, ‘कोरोनाले डसेपछि ज्यानै जाने सम्भावना हुने हुँदा मेलाजात्रामा सहभागी नहुन जिल्लाबासीलाई आग्रह गरेका छौं ।’ 


चाडपर्वका बेला जिल्लामा ठूलो संख्यामा सानाठूला मेलाहरू लाग्ने गर्छन् । दसैं–तिहार सकिएपछि विभिन्न धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मेला पालैपालो लाग्छन् । यीमध्ये सबैभन्दा ठूलो मेला डिग्रे साईकुमारीको हो । 


मुसीकोट नगरपालिका-५ थर्पुमा हरिवोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने यो मेला ५ दिनसम्म चल्छ । जिल्लाभित्रका मात्र नभई बाहिरबाट पनि मेला भर्न आउनेहरूको घुइँचो लाग्न गर्छ ।


प्रमुख जिल्ला अधिकारी गैरेले नियमित पूजाआजा भने सञ्चालन बताए । स्थानीय तह र स्थानीय प्रशासनको समन्वयमा भीडभाड नहुने गरी पूजाआजा सञ्चालन गर्न प्रशासनले अनुमति दिने भएको ।